२०७६ असोज ३० गते

प्राविधिक धारको कक्षा ठप्प

अन्तैबाट

सल्यान । दार्मा गाउँपालिकास्थित जनज्योति मावि फारुलाले दुई वर्षअघि पशु विज्ञानतर्फ प्राविधिक शिक्षा सञ्चालन गर्न अनुमति लियो  । तर विद्यार्थी भर्ना नहुँदा १८ महिने पशु विज्ञान प्राविधिक कक्षा अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन  ।

विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) बाट अनुमति लिएको २ वर्षसम्म पनि कक्षा सञ्चालन गर्न सकेको छैन । गाउँपालिकाभित्रका विद्यार्थीको सुविधाका लागि प्राविधिक धारको कक्षा सञ्चालन गर्न खोजिए पनि विद्यार्थी नहुँदा समस्या भइरहेको विद्यालयले जनाएको छ ।

एसईई उत्तीर्ण हुनबित्तिकै बाहिर पढ्न जाने क्रम बढेकाले विद्यार्थीको अभाव भएको प्रधानाध्यापक टेकबहादुर चन्दले बताए । उनका अनुसार विद्यार्थीलाई भर्ना हुन समय–समयमा सल्लाह दिने गरिए पनि सफल हुन सकिएको छैन । विद्यार्थी नहुँदा सिटीइभिटीबाट सम्बन्धन प्राप्त गर्न दार्मा गाउँपालिकाले विनियोजन गरेको १० लाखमध्ये ५ लाख रुपैयाँ खेर गएको छ ।

पशु विज्ञान कक्षा सञ्चालनका लागि ४ लाख ५० हजार रुपैयाँ खर्चिएर सामग्री खरिद गरिएको थियो । विद्यार्थी नहुँदा अध्ययन सामग्री अलपत्र परेको चन्दको गुनासो छ । उनका अनुसार विद्यालयमा सिटीइभिटीले ३८ विद्यार्थीको कोटा छुट्याएको थियो । ‘पहिलो वर्षमा ३/४ जना मात्र सम्पर्कमा आए, तर भर्ना भएनन्,’ उनले भने, ‘त्यसपछि कोही विद्यार्थी पनि सम्पर्कमा आएका छैनन् ।’ विद्यार्थी भर्ना नभएकै कारण शिक्षक भर्ना नगरिएको विद्यालयले जनाएको छ ।

‘शिक्षक भर्नाका मुख्य स्रोत नै विद्यार्थी हुन्,’ प्रधानाध्यापक चन्दले भने, ‘विद्यार्थी नै नभएपछि शिक्षक पनि भर्ना नगरेका हौं ।’ उनका अनुसार विद्यार्थी शुल्कबाटै शिक्षक भर्ना गर्ने विद्यालयको तयारी थियो । विद्यार्थी नभएकै कारण पशु विज्ञानको सम्बन्धन खारेज हुने जोखिम रहेको उनको भनाइ छ । सरकारले अधिकांश प्राविधिक शिक्षालाई तीन वर्षे बनाएकाले १८ महिनेमा विद्यार्थीको आकर्षण कम रहेको उनी बताउँछन् ।

गाउँपालिकाले पशु विज्ञान कक्षा सञ्चालन गर्न विद्यालयलाई व्यवस्थापनका लागि १० लाख रुपैयाँ अनुदान दिएको थियो । त्यसमध्ये ५ लाख रुपैयाँ खर्च भइसकेको छ । विद्यालय व्यवस्थापन समिति तथा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले विद्यार्थी भर्नाका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको जानकारी दिए । ‘दुई वर्षसम्म विद्यार्थी भर्ना नहुँदा सम्बन्धन खारेजी हुने होकी भन्ने जोखिम छ,’ उनले भने, ‘कक्षा सञ्चालनका लागि खरिद गरिएका सामान स्टोरमा थन्किएका छन् ।’

कान्तिपुरमा खबर छ ।

Comments: