२०७७ जेष्ठ २५ गते

हेडमास्टर र व्यवस्थापन समिति सदस्यसहित ६ जना घुस लिँदै गर्दा अख्तियारको फन्दामा

अन्तैबाट

वीरगन्ज । शिक्षक परीक्षामा पास गराइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा वीरगन्जको एक चिया पसलबाट प्रधानाध्यापक सहित ६ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा प्रधानाध्यापक, सह प्रधानाध्यापक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु छन् । अख्तियारको हेटौँडास्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका ३१ बेल्वाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक सचिन्द्र कुमार कापर सहित ६ जनालाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

वीरगन्ज ८ स्थित शीवा हस्पिटल गल्लीमा रहेको चिया पसलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा प्रधानाध्यापक कापरसँगै सहायक प्रधानाध्यापक मनिर मियाँ, शिक्षक सुरेश महतो, व्यवस्थापन समितिका सदस्यहरु जमिल मिया, इजलाश मिया र व्यवस्थापन समितिकी सदस्य सबिना खातुनका श्रीमान् नजमुदिन देवान छन् ।

गणित विषयको शिक्षक, नियुक्तिका लागि विद्यालय प्रशासनले विज्ञापन निकालेको थियो । त्यसका लागि शनिबार परीक्षा तोकिएको थियो । उक्त परिक्षामा पास गराइदिने भन्दै एकजना उम्मेदवारसँग चिया पसलमा शुक्रबार साँझ एक लाख रुपैयाँ लिँदै गरेको अवस्थामा अख्तियारले उनिहरुलाइ घुस रकम सहित पक्रेको हो ।

घुस रकम सहित पक्राउ परेकाहरुलाई अनुसन्धान र कारवाहीका लागि शुक्रबार साँझ नै हेटौँडा लिएर गएको अख्तियारको हेटौँडा स्थित कार्यालयका अधिकृत नरबहादुर चन्दले जानकारी दिए ।

क्रान्ति शाहले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: