२०७६ असोज ३ गते

सहमति कार्यान्वयनका लागि भन्दै विभागद्वारा पुनः शिक्षक विवरण संकलन गर्न शुरु


काठमाडौं ।  शिक्षा विभागले अस्थायी शिक्षक व्यवस्थापनका लागि भन्दै जिल्ला शिक्षा कार्यालयहरुलाई  पुनः शिक्षक विवरण पठाउनका निर्देशन दिएको छ । विभागले देशका ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिँदै ७ दिनभित्र सो शिक्षक विवरण पठाउन भनेको छ ।


शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनरत अस्थायी शिक्षकका प्रतिनीधिहरुबीच गत असार ९ गते भएको सहमति कार्यान्वयनका लागि पुनः शिक्षक विवरण आवश्यक भएको भन्दै विभागले  जिल्ला शिक्षा कार्यालयहरुलाई लिखित रुपमा सो विवरण पठाउन पत्र पठाएको हो ।


विभागले जिशिकाहरुलाई पठाएको पत्रमा ‘शिक्षक विवरण आवश्यक भएकोले आ–आफ्नो जिल्लाको अस्थायी शिक्षकहरुको विवरण ७ दिनभित्र विभागको शिक्षक व्यवस्थापन शाखामा पठाउन भनेको छ । विभागले २०६१ साल साउन २२ देखि २०६३ बैशाख ११, २०६३ बैशाख १२ देखि २०७२ असोज २ गते र २०७२ असोज ३ गतेदेखि २०७४ जेठ ३१ गतेसम्ममा प्राथमिक तृतीय, निम्न माध्यमिक तृतीय र माध्यमिक तृतीय तहमा रहेका अस्थायी शिक्षकको विवरण पठाउन निर्देशन दिएको छ ।


विभागले यस अघिपनि अस्थायी शिक्षकहरुको रिक्त दरवन्दीको विवरण संकलन गरेको थियो । सोही आधारमा शिक्षक सेवा आयोगले विज्ञापन समेत गरेको थियो । परीक्षा र सुविधाका लागि छुट्टा–छुट्टै फारम भरएर असार २४ गतेलाई परीक्षा निर्धारण गरिएको भएपनि फेरी भाद्र ३ का लागि परीक्षा सारिएको छ ।

Comments: