२०७६ मंसिर २९ गते

एमयुका विद्यार्थी आन्दोलित : सडकमै पठनपाठन

प्रभा रावत/सुर्खेत





इन्जिनियरिङ्ग संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ्गका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले विरोध स्वरुप सडकमै पठनपाठन गरेका हुन् ।


विद्यार्थीहरुका ७ बुदे मागसहितको ज्ञापनपत्रप्रति विश्वविद्यालयले सुनुवाई नगरेपछि  इन्जिनियरिङ्ग संघर्ष समिति चरणबद्धरुपमा आन्दोलनमा उत्रेका हुन् ।


हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरु पूर्णरुपमा सञ्चालन गरिनुपर्ने र दश प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइनुपर्ने जस्ता मागहरु समितिका छन् ।


त्यस्तै, लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै, इन्जिनियरिङ्ग संकायको छुट्टै लाइब्रेरीको व्यवस्था गराइनुपर्ने, सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्थापन गरिनुपर्ने माग राख्दै आइतबार विश्वविद्यालयको गेट अगाडि सांकेतिक पढाइ गरेको मध्यपश्मिाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संघर्ष समितिका सदस्य निकुञ्ज पाण्डेले जानकारी दिए । उनले शान्तिपूर्ण ढंगबाट मागहरु प्रस्तुत गर्दा प्रशासन मौन देखिएपछि पठनपाठन नै बन्द गरेर आन्दोलन गर्न बाध्य भएको बताए ।


विद्यार्थीको शान्तिपूर्ण र मर्यादित ढंगबाट राखिएको मागहरुको तत्काल सम्बोधन नगरिए कडा भन्दा कडा रुपमा संघर्ष गर्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी पाण्डेको छ । अन्दोलन अन्तर्गत सोमबार विहान १० बजे विश्वविद्यालयको केन्द्रीय प्रशासन अगाडि धर्ना कार्यक्रमको घोषणा गरिएको समेत उनले बताए ।

Comments: