२०७६ मंसिर ४ गते

अनसनरत विद्यार्थी आईसीयूमा, प्रशासनले उल्टै बर्सायो विद्यार्थी माथि प्रहरीको लाठी

प्रभा रावत/सुर्खेत




विभिन्न शैक्षिक माग राख्दै आमरण अनसन बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको माग पुरा गर्न विश्वविद्यालय प्रशासन गम्भीर नदेखिएपछि विद्यार्थीहरु आक्रोशित भएका छन् ।


गत बुधबारदेखि अनसनरत् इञ्जिनियरिङ संकायका विद्यार्थीहरुको स्वास्थ्य अवस्था गम्भीर हुँदा पनि विश्वविद्यालय प्रशासनले माग पुरा गर्ने छाँटकाँट देखाएको छैन ।


विद्यार्थीहरुले तल्लो तहका कर्मचारीसँग नभई पदाधिकारीसँग नै वार्ता गर्न खोजिरहेका छन् । इञ्जिनियरिङ संकायका विद्यार्थी निकुञ्ज पाण्डेले आफूहरु पटक–पटक वार्ताका लागि विश्वविद्यालय प्रशासनसमक्ष पुग्दा पनि वास्ता नगरिएको गुनासो गरे ।  


आन्दोलनमा उत्रिएको यति लामो समयसम्म पनि विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले वार्ता गर्न नचाहेको उनले आरोप लगाए ।  विश्वविद्यालय प्रशासनले आज विद्यार्थीलाई प्रतिवद्धतासहितको पत्र भने पठाएको छ तर उक्त पत्रमा लेखिएबमोजिम आफूहरुको माग पुरा नहुने विद्यार्थी निकुञ्जको भनाई छ ।

विश्वविद्यालयमा राजनीतिक भागवण्डाका कारण नयाँ शिक्षक नियुक्तिमा पनि ढिलाई हुने गरेको उनले बताए । आफ्नो संकायलाई व्यवस्थित बनाउन भन्दै फरक–फरक प्रकृतिका आन्दोलनमा उत्रिएका विद्यार्थीहरु अहिले आमरण अनसन बसेका छन् । विश्वविद्यालय परिसरमा अनसनरत मिलन बिसी अनसन बसेका तीन जना विद्यार्थीमध्ये दुई जनाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आईसीयुमा भर्ना गरिएको छ भने एक जना विश्वविद्यालय परिसरमै अनसनरत छन् ।


विद्यार्थीहरु रत्नकुमार शर्मा, मिलन बिसी र रोशन बस्नेत आमरण अनशनमा छन् । रत्नकुमारलाई क्षेत्रीय हस्पिटल सुर्खेत र रोशनलाई देउती अस्पतालको आईसीयुमा राखेर उपचार भईरहेको छ ।


इञ्जिनियरिङ संकायलाई स्वायत्त बनाउनुपर्ने, हाइड्रोपावर इञ्जिनियरिङको पूर्ण सेलेबस उपलब्ध गराउनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गराउनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षाहरु पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने, दश प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृति उपलब्ध गराउनुपर्ने, लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइबेरीको व्यवस्था गराउनुपर्ने र सम्पूर्ण विषयको विषयगत शिक्षकको उचित व्यवस्था गर्नुपर्ने मागहरु राखेर विद्यार्थीहरु आन्दोलन गरिरहेका छन् ।


यसैबीच, आन्दोलनरत विद्यार्थीहरुलाई वार्ताका लागि बोलाएपनि पदाधिकारी नआएपछि आक्रोसित बनेका विद्यार्थीहरुले विश्वविद्यालय परिसरमा आज नाराजुलुस गरेका छन् । नाराजुलुसमा प्रहरीले लाठी चार्ज गर्दा एक दर्जन बढि विद्यार्थीहरु घाइते भएका छन् । विश्व विद्यालय परिसरमा हतियार सहित पगेका प्रहरीले विद्यार्थी माथि लाठि प्रहार गरेका छन् । विश्वविद्यालय परिसरमा छिरेका प्रहरी र विद्यार्थीवीच झडप भएको छ ।

 

अनसन बसेका विद्यार्थीद्वारा सवारीसाधन बन्द

विद्यार्थीले शुरु गरे आमरण अनसन

इञ्जिनियरिङ संकायका विद्यार्थी आमरण अनसन बस्दै

तोडफोडमा उत्रिए इञ्जिनियरिङ्गका विद्यार्थी

एमयुका विद्यार्थी निरन्तर आन्दोलनमा, प्रशासन बेखवर

एमयुका विद्यार्थी आन्दोलित : सडकमै पठनपाठन

Comments: