२०७६ कार्त्तिक ५ गते

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?

ईपाटी संवाददाता


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले खराब नतिजा ल्याउने र आश्चार्यजनक सफलता हासिल गर्ने विद्यालयका शिक्षकहरु एकै ठाउँ जम्मा भएको मौकामा उनीहरुलाई सार्वजनिक शिक्षा सुधार्नका निम्ति समीक्षा गर्न सुझाब दिएका छन् ।  


यही ४–५ असोजमा चल्नेगरी आज ललितपुरमा आयोजित नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सार्वजनिक विद्यालय नसुधारिनुको कारणबारे शिक्षकहरुप्रति नै गुनासो गरे ।


 ‘सार्वजनिक शिक्षामा राज्यको लगानी बढेकै छ तर प्रतिफल निजीको तुलनामा निकै कमजोर हुनुमा यसको जिम्मेवार राजनीतिक नेतृत्व मात्र हुन सक्दैन,’ उपराष्ट्रपति पुनले शिक्षकहरुलाई कडा भाषामा औंल्याए, ‘यसमा पक्कै पनि शिक्षकको भूमिकाको कुरा हुन्छ । पछिल्लो समयमा आश्चार्यजनक सफलता हासिल गर्ने सामुदायिक विद्यालयहरु पनि छन् । खराब नतिजा ल्याउने विद्यालय त छँदैछन् । सफलता हासिल गर्ने, खराब नतिजा ल्याउने सामुदायिक र निजी विद्यालयका शिक्षकहरु यहाँ हुनुहुन्छ होला, किन यस्तो भयो होला ? पक्कै पनि एक अर्कामा समीक्षा गर्नुहुनेछ ।’


उपराष्ट्रपति पुन पनि राजनीति शुरु गर्नुअघि शिक्षक नै थिए । उनले के, किन र कसरी जस्ता जिज्ञासा मेट्ने नागरिक तयार पार्ने काम शिक्षकको हो तर ‘समाजको यथास्थितिवादको प्रतिनिधिपात्र’ भएर सिकाउने प्रवृत्तिका कारण प्रगति हुन नसकेको बताए ।  कुनै पनि विषयमा प्रश्न र समाधान हुने भन्दै उपराष्ट्रपति पुनले सिकाउने शिक्षक परम्परागत हुनाले सिकाइ प्रभावकारी हुन नसकेको औंल्याए ।  ‘बच्चा जन्मे÷हुर्केको समय एउटा छ, शिक्षकले घोकेको ज्ञान दिएर हुँदैन । यो अहिलेको चुनौती हो,’ उनले भने ।


शिक्षकहरु केवल बालबालिकालाई औपचारिक ज्ञान दिने गुरु मात्रै नभएर समाज सुधारक र परिवर्तनका संवाहक पनि रहेका उनले औँल्याए । आज नेपाली जनताले राजनीतिक रुपमा जे उपलब्धि हासिल गरेका छन् त्यसमा शिक्षकहरुको देन अग्रणी रहेको उपराष्ट्रपति पुनको भनाइ छ । ‘शिक्षा पेशा हेर्दा सरल र सहज देखिए पनि यो निकै महत्वपूर्ण जिम्मेवारी रहेको छ’, उनले भने, ‘शिक्षक पेशा जति संवेदनशील छ, यसमा सन्तुष्टि र गौरव पनि त्यति नै छ ।’



उपराष्ट्रपति पुनले भोलिको देश तथा समाज कस्तो बनाउने भन्ने कुरामा शिक्षकहरुको निकै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आजको परिस्थिति तथा संसारलाई बुझेर त्यही अनुकूलको शिक्षण विधि अपनाएर आफ्ना विद्यार्थी तथा विद्यालयलाई उत्कृष्ट नतिजा ल्याउन निरन्तर क्रियाशील रहनु शिक्षकहरुको दायित्व रहेको धारणा राखे ।

“शिक्षा वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवम् जनमुखी बनाउँदै सक्षम, प्रतिस्पर्धी एवम् राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार पार्नेतर्फ केन्द्रित हुनुपर्दछ’, उनले भने, ‘उच्च शिक्षालाई सहज गुणस्तरीय र प्रत्येक नागरिकको पहुँच योग्य बनाई निःशुल्क बनाउनुपर्ने र निजी शिक्षालाई समयक्रमअनुसार नियमन गर्दै लैजानुपर्दछ ।’



उनले संविधानमा समाजवादको संकल्प गरेअनुसारको समान शिक्षा प्रणाली हुनुपर्ने उल्लेख गरे । शिक्षा र स्वास्थ्यमा राज्यले सापेक्षित लगानी गरे पनि अपेक्षित सुधार आउन नसकेको उनले बताए । उपराष्ट्रपति पुनले समाजवादी व्यवस्था, आम नेपालीमा समानताका लागि शिक्षामा समानता हुनका लागि सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारको विकल्प नरहेको उल्लेख गरे ।  

Comments: