२०७६ मंसिर ४ गते

एसईईमा चिट चोरे ठाउँको ठाउँ कारवाही हुने

अन्तैबाट

गुलरिया । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चिट चोर्ने र चोराउनेलाई ठाउँको ठाउँ कारवाही हुने भएको छ। चैत्र १० गते देखि सुरु हुने एसईई परीक्षालाई मर्यादित, गुणस्तरिय बनाउन बर्दियामा चिट चोर्नेलगायत यसमा सहयोग गर्नेलाई कारवाही गरिने भएको हो ।

परीक्षामा चिट चोर्ने परिक्षार्थी र परीक्षा हलहरुमा सहयोगीको भूमिका निर्वाह शिक्षकलगायत अभिभावकलाई रंगेहात फेला पारेमा ठाउँका ठाउँ कारवाही गर्ने रणनीति बनाइएको एसईई परीक्षा समन्वय समिति बर्दियाका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताए। उनले भने,' परीक्षालाई शान्तिपूर्वक र मर्यादित तरिकाले सम्पन्न गर्न लागिपरेका छौं।चिट चोरेको पाइएमा कडा कारवाही हुनेछ।'

बर्दियामा एसईई परीक्षाका केन्द्राध्यक्षलाई लक्षित गर्दै उनले थपे, 'गृरुवर्गहरु पनि सजग र सम्वेदनसिल बन्दै परीक्षालाई मर्यादित बनाउन आग्रह गर्छु‍।अनुगमनका क्रममा परीक्षा हलमा चिटिङ्ग, होहल्लालगायतका अमर्यादित गतिविधि भेटिए कारवाही गर्न बाध्य हुन्छौं।'

बर्दियामा ३२ वटा केन्द्रबाट ७ हजार ७ सय ८९ जना परीक्षार्थी परीक्षामा सहभागी हुने जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख डण्डपाणी शर्माले जानकारी दिए। उनले परीक्षालाई मर्यादित र शान्तिपूर्वक सम्पन्न गराउन जिल्लामा ६ सय १२ जना कर्मचारी खटिएका छन्। जसअनुसार ३२ केन्दाध्यक्ष, ३७ सहायक केन्दाध्यक्ष, ३ सय २७ निरीक्षक, ७० कर्मचारी र १ सय ४६ जना कार्यालय सहयोगी खटिएका हुन्।

उनका अनुसार साधारण र प्राविधिक गरी १ सय १० बटा विद्यालयका छात्र-छात्रा परीक्षामा सहभागी हुनेछन्। साधारण धारतर्फका विद्यालयबाट ७ हजार ३ सय ५, प्राविधिक धारतर्फ २ सय १३ तथा ग्रेडवृद्धितर्फ २ सय ७१ जना विद्यार्थी परीक्षामा सम्मिलित हुनेछन्। यस वर्षको परीक्षा आवेदनमा ३१ छात्रा र ३५ छात्र गरी ६६ जना परीक्षार्थी अयोग्य ठहरिएको उनले बताए।

एसईई परीक्षामा प्रहरीले समेत चिटिङ्गका लागि सहयोग गरेको थाहा पाइए त्यस्ता प्रहरीलाई पनि कारवाही हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्दप्रसाद मैनालीले बताए। 'प्रहरीको काम शान्ति सुरक्षा कायम गराउने हो, चिट चोर्न मद्दत गर्ने होइन्, उनले थपे, 'परीक्षालाई अमर्यादित बनाउन परीक्षामा खटिने गुरुहरुलगायत अभिभावकलाई पनि हामी छोड्दैनौं।'


यादव आचार्यले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: