२०७६ भदौ ३० गते

एण्टोका अध्यक्ष विसी बने नेकपाको चितवन जिल्ला इन्चार्ज


काठमाडौं । अखिल नेपाल शिक्षक संगठन(एण्टो)का अध्यक्ष लालबहादुर विसी नेपाल कम्युनिष्ट पार्टी(विप्लव)  चितवन जिल्लाको पार्टी इन्चार्ज बनेका छन् ।


स्थानीय निर्वाचनको मुखमा पार्टीले उनलाई जिल्ला पार्टी इन्चार्जमा नियुक्त गरेको हो ।  यसअघि सो भुमिकमा शंकर अधिकारी रहेका थिए ।


२०६३ देखि उक्त संगठनको नेतृत्वतहमा काम गर्दै आएका विसी संगठनको कोषाध्यक्ष, महासचिव, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै २०७० असार देखि संगठनको अध्यक्षको भुमिकामा छन् ।


स्थायी घर दैलेख भएका विसीलाई पार्टीको घोषित नीति अनुसार जिल्लाको स्थानीय तहको निर्वाचन अवरोध गर्ने जिम्मेवारीका साथ नियुक्त गरिएको जनाइएको छ । पार्टीको जिम्मेवारी इमान्दारीताका साथ पुरा गर्ने विसीले बताए ।


पार्टीले जिल्ला भूगोलमा जिम्मेवारी दिएपनि तत्काल संगठनको नेतृत्वबाट राजीनामा नदिने विसीले बताए । ४/५ महिना मैले नै संगठनको नेतृत्व गर्छु पछि संगठनको राष्ट्रिय भेला गरेर नेतृत्व हस्तान्तरण गर्नेछु । विसीले भने ।


विसीले अस्थायी शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन हुनेगरी तत्काल शिक्षा नियमावली जारी गर्न समेत सरकारसँग माग गरे ।

Comments: