२०७६ कार्त्तिक २९ गते

आमरण अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भिर बन्दै

प्रभा रावत/सुर्खेत




आमरण अनसन बसेका मध्यपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ संकायका विद्यार्थी रोशन बस्नेतको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ ।


तीन दिनदेखि आमरण अनसन बसेका विद्यार्थी बस्नेतको स्वास्थ्य नाजुक बनेपछि शुक्रबार विहान अस्पताल भर्ना गरिएको हो ।


विद्यार्थीहरुले इञ्जिनियरिङ संकायलाई स्वायत्त, विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने, पूर्ण छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने भन्दै तीन दिन देखि रोशन बस्नेत सहित मिलन वि.सी. र रतन शर्मा आमरण अनसन बस्दै आएका हुन् ।


विद्यार्थीले राखेको माग सम्बोधन गर्न विश्वविद्यालयका उपकुलपति सहितको टोलीसँग वार्ता गर्नु पर्ने माग राखेपनि हालसम्म वार्ता र सम्वाद हुन नसकेको र अनसनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्था कमजोर भएको विद्यार्थी न्यूटन वलीले बताए । उनले उपकुलपति र रजिष्ट्रार विद्यार्थीको माग प्रति गम्भिर नभएको आरोप लगाए ।


यसैबीच अनसनरत विद्यार्थीको अवस्था बारे अनुगमन गर्न पुगेको मानव अधिकार संगठन सुर्खेतको टोलीले विद्यार्थीको जीवनरक्षाका लागि सरोकार वाला निकाय गम्भिर हुनु पर्ने जनाएको छ । संगठनका अध्यक्ष ध्रुवकुमार श्रेष्ठको नेतृत्वमा आमरण अनसन स्थल पुगी वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न समेत आग्रह गरेको छ ।

Comments: