२०७६ माघ ९ गते

बीचमै स्थगित भयो अस्थायी शिक्षकको अनसन


काठमाडौं । शिक्षक सेवा आयोगले भाद्र १० गतेको परीक्षा अनिश्चितकालका लागि स्थगित नगरेसम्म जारी रहने भनिएको अस्थायी शिक्षकहरुको अमरण अनसन बीचमै स्थगित भएको छ ।


शिक्षा मन्त्रालय अस्थायी शिक्षकका मागमा सकारात्मक रहेको, ऐन संशोधन विधेयक संसदमा दर्ता भएको साथै, सञ्चारमाध्यममा समेत अनसनबारे अनेकखाले टिकाटिप्पणी हुन थालेपछि अस्थायी शिक्षकहरुले बीचमै अनसन टुंग्याएका हुन् ।


अनसनकारीको स्वास्थ्य अवस्था कमजोर भएकोले उनीहरुलाई हस्पिटलमा भर्ना गरिएपछि अनसनस्थल नै खाली हुने अवस्था आएको थियो । शिक्षा मन्त्रालयले समेत अनसन तोड्न निरन्तर दबाब दिँदै आएको थियो । शिक्षक महासंघले त हस्पिटलमा भर्ना भएर अनसन नहुने भन्दै अनसन उहिल्यै टुंगिएको धारणा सार्वजनिक गरेको थियो ।


उता, २०६७ सालसम्म नियुक्त भएका अस्थायी शिक्षकहरुलाई आन्तरिक र २०६७ देखि २०७३ सालसम्मको नियुक्तिभएका अस्थायी शिक्षकहरुलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला दरवन्दीमा परीक्षा गर्नेगरी मन्त्रालयसँग सहमति गरेको र सोही अनुसार ऐन संशोधनको प्रस्तव अगाडी बढाएको भन्दै ०६७ पछिका अस्थायी शिक्षकहरु नेतृत्वप्रति आन्दोलित भएका थिए ।


तर, संयुक्त अस्थायी शिक्षक आन्दोलन समितिका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले सभामुखले संसदमा छिट्टै संशोधन प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाएका र अनसनरत अस्थायी शिक्षकहरुको स्वास्थ्य अवस्थापनि नाजुक बन्दैजान थालेपछि आमरण अनसन आइबार देखि नै स्थगित गरिएको जानकारी दिए । अन्य आन्दोलन भने जारी रहने उनले स्पष्ट पारेका छन् ।


गत साउन १८ गतेदेखि परीक्षा सार्न भन्दै दुईजना अस्थायी शिक्षकहरु आमरण अनसन बस्दैआएका थिए ।

यो पनि पढ्नुहोस्

सुविधा रोजेका शिक्षक नै परीक्षा सार्न आमरण अनसनमा !

Comments: