२०७६ मंसिर ६ गते

‘प्रहरी दमनले अस्थायी करार शिक्षक आन्दोलन थप सशक्त बन्दै गएको छ’

अनिता थापा

२०७४ पौष देखि छुट, अस्थायी करार शिक्षकहरु संघर्ष समिति बनाएर निरन्तर आन्दोलनमा रहेका छन् । उनीहरुले विभिन्न चरणका आन्दोलन सकेर हाल रिले अनशन बस्ने तयारी गरिरहेका छन् । माइतीघरमा रिलेअनशनको तयारीमा रहेकाबेला प्रहरीले केही शिक्षकहरुलाई दिनभर हिरासतमा राखी साँझ छाडेपनि पुनः शान्तिबाटिकामा अनशन बस्न खोज्दै संघर्ष समितिका अध्यक्ष सहित दर्जनौं शिक्षकहरु प्रक्राउ परेका छन् । यसैसन्दर्भमा छुट, करार अस्थायी शिक्षकहरुको अबको आन्दोलन, मागका बारेमा संघर्ष समितिका केन्द्रिय कोषाध्यक्ष अनिता थापासँग एजुकेशनपाटीले गरेको कुराकानीको सारसंक्षेप ।


छुट, अस्थायी करार भनेका कस्ता शिक्षक हुन् ?
२०७२ असोज २ पछि नियुक्ति पाएका अस्थायी प्रकृतिका शिक्षकहरु जो आन्तरिक विज्ञापनमा सहभागी हुनै पाएनन् । असोज १ गते नियुक्ति भएकाले परीक्षामा सहभागी भएर स्थायी हुने अवसर पाएपनि १ दिनले हामीलाई बञ्चित गरियो । र, अहिले सरकारले परीक्षाको मौका नदिई खाली हात बिदा गर्ने तयारी गरिरहेको छ । छुट करार हरुपनि परीक्षा दिएर प्रतिस्पर्धा गरेर नियुक्ति भएका हुन नि । दलको टिका लगाएर नियुक्ति पाएका होइनन् । हामीहरुलाई परीक्षाको मौका दिनु पर्दैन ? छुट, अस्थायी करार शिक्षकहरु भनेका त्यस्तै राज्यद्वारा विभेदमा पारिएका, राज्यको सौतेनी व्यवहारमा परेका उत्पीडित शिक्षकहरु हुन् ।


छुट, करार अस्थायी शिक्षकहरुको राज्यसँग खास गुनासो वा माग के हो ?
दरबन्दी नै नभएका अनुदानमा नियुक्ति भएका राहत शिक्षकहरुलाई समेत राज्यले आन्तरिक विज्ञापन गर्ने सहमति गरेको छ । तर, सँगै आफ्नै दरबन्दीमा सेवा गरिरहेका हामीहरुलाई परीक्षाको अवसर नै नदिइ विस्थापित गर्न खोजिरहेको छ । हाम्रो माग भनेको हामीलाई विस्थापित नगरी एकपटक आन्तरिक परक्षिाको मौका दिइओस् । योग्यता र क्षमता हुने हामीहरुमध्ये स्थायी हुन्छन् बाँकी सुविधा लिएर बिदा हुन्छौं । हामीले कहिल्यै स्वत्तः स्थायी मागेका छैनौं । हाम्रै क्षमता र योग्यताले स्थायी हुन चाहन्छौं । त्यसैले एकपटक छुट र करार शिक्षकहरुलाई पनि आन्तरिक विज्ञापन होस् भन्ने नै हाम्रो माग हो ।


छुट, करार अस्थायी शिक्षकहरु निरन्तर आन्दोलनमा भएपनि राज्यले कुनै ध्यान दिएको देखिँदैन किन होला ?
पहिले छुट अस्थायी करार भनेका कस्ता शिक्षक हुन भन्ने नै कसैलाई थाहा थिएन । शिक्षक महासंघले समेत चिनेको थिएन । तर, अहिले महासंघले हाम्रो मुद्दा बोकेर हिडेको छ । एकपटक सहमति नभएपनि महासंघकै पहलमा शिक्षा मन्त्रालयमा वार्ता भइसकेको छ । हाम्रा मागमा तमाम् शिक्षक वर्ग र जनसमुदायको सहानुभुति देखिएको छ । छुट करारलाई साच्चै अन्याय परेको अनुभुति सबै वर्गलाई भएको छ । अब छिट्टै राज्यलाई पनि हुनेछ । बनाइ छाड्ने छौं । विस्थापित गर्न नहुने, उमेरको हदबन्दी नलगाइ एकपटक आन्तरिक विज्ञापनमा सहभागि गराउनुपर्ने, संघीय शिक्षा ऐन जारी गर्नुपर्ने र त्यसमा संघीय ऐन जारी हुनु एकदिन अगाडि नियुक्ति भएका अस्थायी करार शिक्षकहरुलाई आन्तरिक विज्ञापनमा सहभागी गराउने व्यवस्था गर्नुपर्ने नै हाम्रा मागहरु हुन् । हामी स्वत्त स्थायी भन्दापनि पहिले अस्थायी शिक्षकहरुलाई गरेकै व्यवस्थाको माग गरेका हौं ।


आन्तरिक विज्ञापनमा सहभागी नगराइएपनि खुला विज्ञापनमा त सहभागी हुन रोकिएको छैन नि ?
हो, खुला विज्ञापनमा रोकिएको छैन । साथै, हाम्रो केही साथीहरुले खुला विज्ञापनमा सहभागी पनि भएका छन् । कुरा विभेदको हो । एउटाले पाउने तर, समान प्रकृतिको अर्कोले किन नपाउने भन्ने प्रश्न हो । फेरी, मेरै कुरा गर्दा मैले उमेरहदका कारण खुलामा प्रतिस्पर्धा गर्न पाउदिन । म १३ वर्षसम्म इसिडि सहजकर्ताको रुपमा सेवा गरेर ४ वर्ष अघि मात्रै अस्थायी दरबन्दीमा नियुक्ति पाएकी हुँ । मैले मावितह सम्मलाई पढाउँदै आएकी छु । यस अघि हामी अस्थायी शिक्षकहरुको आन्दोलनमा पनि सहभागी भयौं । तर, हामीलाई बदनियतपूर्व छुटाउने काम भयो । तरकारले त्यतिबेलै समयका आधारमा वर्गिकरण नगरी परीक्षा लिएको भने यो समस्या आउने नै थिएन । यो समस्या सरकारकै विभेदपूर्ण नीतिका कारण उत्पन्न भएको हो । हामी अन्तिम सास रहेसम्म आन्दोलन गछौं । आमरण अनशन बसेर आत्मदाह नै गछौं तर, बीचमा आन्दोलन छाड्दैनौं  । आन्तरिक विज्ञापन नभएसम्म आन्दोलन जारी नै रहन्छ ।


आन्तरिकबाट पुरानै शिक्षकहरुलाई स्थायी गर्दै जाँदा खुलातर्फ शिक्षक लाइसेन्स लिएर बसेका लाखौं विद्यार्थीहरुलाई अन्याय हुँदैन ?
यो समस्या हामीले सिर्जना गरेका होइनौं । सरकार आफैले सिर्जना गरेको हो । ६–६ महिनामा विज्ञापन खुलाइदिएको भए यो समस्या नै आउदैनथ्यो । राज्यले करारमा शिक्षक नियुक्ति गर्नैहुदैनथ्यो । अझ गर्ने कुरा गरिरहेको छ । यसले यो समस्यालाई अन्त्यहीन दिशामा लग्नेछ । पहिले आवश्यक परेका बेला नियुक्ति गर्ने अहिले आवश्यक छैन भनेर लखेट्न पाइन्छ ? हाम्रो योगदान र सेवाको मूल्यांकन हुनुपर्दैन ? हिजोसम्म पनि करारमा नियुक्ति भइरहेको अवस्था छ । कि नियुक्ति नै दिनुहुन्थेन दिए पछि व्यवस्थापन त गर्नुपर्यो नि ।


छुट करार अस्थायी शिक्षकहरुको संख्या कति छ ?
सरकारले १३ हजार भनेपनि हाम्रा सम्पर्कमा आएका शिक्षकहरुको संख्या हेर्दा २० हजार बढी छ । साथै, राहत, इसिडि गरेर १ लाख बढी हुन्छ । यि सबैलाई एकपटकका लागि आन्तरिक विज्ञापन गर्नुपर्छ । अनिमात्रै समस्या समाधान हुन्छ ।


१ लाखको लागि कुन दरबन्दीमा आन्तरिक विज्ञापन गर्ने त ? कि बाँकी ८ हजार दरबन्दीमा १ लाखलाई भिडाउने हो ?
त्यो राज्यले सोच्ने कुरा हो । तर ७५ प्रतिशत आन्तरिक दरबन्दीमा विज्ञापन हुनुपर्छ । हामी करार शिक्षकको त आफ्नै दरबन्दी खाली छँदैछ नि । त्यसैमा विज्ञापन गराउनु पर्छ ।


२० हजार करार शिक्षक छन् भन्नुहुन्छ तर, आयोगले ८ हजार मात्रै दरबन्दी बाँकी छ भन्छ नि ?
आयोगले ढाँटेको हो । अझै मुलुकमा २० हजार बढी अस्थायी दरबन्दी रहेका छन् । राज्यले छलकपट गर्नुहुँदैन ।


राज्यले तत्काल विस्थापित नगरेमा आन्तरिक विज्ञापन नगरेपनि हुन्छ ?
हुँदैन । पहिलो माग विस्थापित नगर्नु हो । त्यसपछि उमेरहद नलगाइ आन्तरिक विज्ञापन गर्नैपर्छ । हामी हाम्रै दरबन्दीमा आन्तरिक विज्ञापनको माग गरेका छौं । अहिले देशभरीबाट ५/६ सय करार शिक्षक जम्मा भएर आन्दोलन गरिरहेका छौं । शिक्षकहरु आउने क्रम जारी नै छ ।


हरेक शिक्षक आन्दोलनमा आर्थिक अनियमितताको कुरा उठ्ने गर्छ । तपाईंहरुले एकजना शिक्षकबाट कति रकम उठाउनुहुन्छ र त्यसको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
हामीले एउटा जिल्लाबाट ५ हजार उठाएका छौं । र आन्दोलनमा आउने शिक्षकहरुले आफुखुसी सहयोग पनि गर्नुहुन्छ । सोही रकमले आन्दोलनको व्यवस्थापन हुँदै आएको छ । हालसम्म एकडेढ लाख उठेको छ । लविङ गर्दा, प्लेकार्ड बनाउँदा, आन्दोलनमा पानी खुवाउन त्यो रकम खर्च गर्ने गरेका छौं । पहिले के भयो मलाइ थाहा छैन तर, म केन्द्रिय कोषाध्यक्ष बनेपछि उठेको रमक खाने होइन उल्टै मेरो गोजीबाट खर्च भइराखेको छ । म झापाबाट आफ्नै खर्चमा प्लेनबाट आउनेजाने गर्छु । मेरो दुईवर्ष देखिको तलब आन्दोलनमै खर्च भएको छ । म मात्रै होइन अध्यक्ष हरिवंश पराजुली, महासचिव विश्वास अधिकारी, बहादुर सर, राम सर लगायतले सकभर आफ्नै खर्च गरिरहनुभएको छ । सबैको डेढवर्षदेखिको तलब आन्दोलनमै खर्च भइराखेको छ ।


कक्षाकोठामा पढाउनुपर्ने शिक्षकहरु सडकमा आएका छन् यस्ता जिम्मेवारी पुरा नगर्ने शिक्षकलाई कसरी स्थायी गर्ने ?
हामी सडकमा आएपनि हाम्रो कक्षाकोठाको पढाइलाई प्रभावित गरेका छैनौं । कर्तव्य पुरा गरेरै सडकमा आएका छौं । अन्तिम परीक्षा सकाएर १८ गतेसम्ममा परिक्षण सकेर मात्रै २० गतेदेखिको आन्दोलनमा सहभागी भएका छौं । म झापाको सरस्वती माविमा कार्यरत छु । मैले परीक्षाको सबै काम सकेर आन्दोलनमा आएकी छु ।


मन्त्रालय, शिक्षकमहासंघले संघीय शिक्षा ऐनले शिक्षकका सबै समस्या समाधान गर्छ भनिरहँदा तपाईंहरु किन बैमौसमी आन्दोलनमा लागिरहनुभएको ?
संघीय शिक्षा ऐन तत्काल आवस् भन्ने नै हाम्रो माग हो । ऐन आउन भएको ढिलाइ र कहीँकतै नआउने भन्ने कुरा सुनेकाले नै हामी आन्दोलित भएका हौं । हामी चैत्र मसान्तपछि विस्थापित हुँदैछौं । तर ऐन भने असारमा आउने कुरा छ । हामी विस्थापित भएर आएको ऐनले हामीलाई केही गर्दैन । चैत्र मसान्त भित्रै ऐन जारी हुनुपर्छ । संसदबाट सम्भव नभए अध्यादेशबाट भएपनि । हाम्रा मागहरु संघीय शिक्षा ऐनले मात्रै पुरा गर्ने भएकाले हामी त तत्काल ऐन जारी हुनुपर्छ भनिरहेका छौं ।
 

Comments: