२०७६ कार्त्तिक ६ गते

विद्यार्थी भर्ना रोकेर मेडिकल कलेज संचालकहरुले बुझाए प्रधानमन्त्रीलाई साँचो

अन्तैबाट

काठमाडौँ । निजी मेडिकल कलेज संचालकहरुले सुरु हुन लागेको शैक्षिक सत्रमा विद्यार्थी भर्ना नलिने चेतावनी दिएका छन् । प्रवेश परीक्षा सकिएर विद्यार्थी भर्ना हुने चरणमा रहेका बेला कलेज संचालकहरुले एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने अडान लिएका हुन् ।

यथास्थितिमा शैक्षिक सत्र २०७६/०७७ का लागि विद्यार्थी भर्ना नलिने निजी कलेजहरुको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालको भनाई छ। सरकारले एकपक्षिय ढंगले मेडिकल कजेलहरुलाई पेल्न थालेकाले बन्द गराउने निर्णयमा पुगेको एसोसिएसनका अध्यक्ष बिसरुद्दीन अन्सारीले जनाए।

‘सरकार सरोकारवालाहरुसँग छलफल नगरी अघि बढ्न थाल्यो, शुल्क र सिट संख्या पनि घटाउँदै जान थालियो, अब कलेज चलाउन सक्दैनौं,’ उनले भने।

प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीलाई कलेजहरुको साँचो बुझाएको अन्सारीले जनाए। उनले भने, ‘सरकार आफैंले कलेजहरु चलाओस्, नेपाली विद्यार्थीलाई निःशुल्क पढाओस्, बिरामीको उपचार पनि निःशुल्क गरोस्, हामी यस्तो गर्न सक्दैनौं।’ शिक्षा र गृहमन्त्रालयले कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा चलाउने निर्णय गरे लगत्तै संचालकहरुले विद्यार्थी भर्ना नलिने जनाएका हुन्।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार चिकित्सा शिक्षा आयोगले गठन भइसक्दा पनि शुल्क, सिट निर्धारण, साझा प्रवेश परीक्षा, विदेशी भर्नाका सम्बधमा ठोस निर्णय हुन सकेकोमा एसोसिएसनको असन्तुष्टि छ।

ज्ञापनपत्रसहित प्रमलाई भेटेर उनीहरुले असन्तुष्ट राखेका हुन्। यथास्थितिमा विद्यार्थी भर्ना गर्न असमर्थ रहेको ज्ञापनपत्रमा उल्लेख छ। सरकार मेडिकल कलेजहरुलाई धरासायी बनाउन लागि परेको एसोसिएसनको आरोप छ। विद्यार्थीका भर्नाका लागि त्रिभुवन र काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षा संचालन गरेर नतिजा सार्वजनिक गरिसकेको छन्।

बढी शुल्कका विषयमा आन्दोलित चिकित्सा शिक्षाका विद्यार्थीले पनि पुरानो शुल्क फिर्ता र नयाँ शुल्क निर्धारण नभएसम्म भर्ना प्रक्रिया अघि नबढाउन चेतावनी दिदैं आएका छन्।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: