२०७६ कार्त्तिक ५ गते

नेपाल भाषा स्कुललाई पूर्वविद्यार्थीको भर

अन्तैबाट

काठमाडौँ ।  दोलखाका सबिन मगरले नेपालभाषा (नेवारी) बोल्न र लेख्न जानेकैले काठमाडौं मनपा–१५ लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथी माविका विद्यार्थीलाई पढाउने अवसर पाएका छन् ।


माध्यम भाषाका रूपमा नेवारी पढाइने मुलुककै यो एक मात्र विद्यालय हो। सबिन कम्प्युटर विषय पढाउँछन्। उनी उक्त विद्यालयका पूर्वविद्यार्थी हुन्। त्यसैले नर्सरीदेखि कक्षा १० सम्म उनले यहीं पढेका हुन्।

‘बिहान कलेज पढ्न जान्छु, दिउँसो खाली समय स्कुलमा पढाउँछु,’ ब्याचलर्स इन कम्प्युटर एप्लिकेसन (बीसीए) सातौं सेमेस्टरमा आफैं पनि अध्ययनरत उनले भने, ‘कम्प्युटर नै पढेकाले यही विषय पढाउन सजिलो छ।’ एउटा विषय पढाउने भएकाले उनले अरू शिक्षक जसरी विद्यालयमा लामो समय बस्नु पर्दैन। ‘नेवारी बोल्न, लेख्न, पढ्न जानेकाले मैले यो अवसर पाएँ,’ उनले भने, ‘खाली समय सदुपयोग र पकेट मनी पनि हुने भएकाले दोहोरो फाइदा भएको छ।’

पूर्वविद्यार्थीहरू मनीष भनिने मनिराज मानन्धर, आशिष मानन्धर र बबिता मानन्धरलगायतले यही विद्यालयमा पढाउँदै आएका छन्। पूर्वविद्यार्थीले एल्मुनाई ‘न्हू पलाः’ (नयाँ पाइला) संस्था गठन गरेका छन्।

‘हामीले हरेक महिनाको कार्यक्रम तालिकासहित विद्यालयका भाइबहिनीहरूमाझ सिर्जनशील काम गर्दै आएका छौं,’ भाषा र लिपि पढाउँदै आएका मनीष भन्छन्, ‘भाषा, लिपि, संस्कृतिबारे अभ्यस्त पार्ने, खेलकुद, नाच, ह्यान्डिक्राफ्ट, स्विमिङ, हाइकिङ लैजाने गराएका छौं।’

विद्यालयमा विद्यार्थी विभिन्न जातजातिका छन्। नर्सरीदेखि कक्षा ८ सम्म सबैले एक विषय नेपाल भाषा पढ्नैपर्ने नियम छ। विद्यालय परिसर, कक्षाकोठामा प्रत्येक शिक्षक र विद्यार्थीबीच नेवारीमै कुराकानी हुन्छ।

‘मलाई नेपालभाषा बोल्न आउँछ, लेख्न पनि सिक्दैछु,’ कक्षा ७ का प्रिन्स लामा भन्छन्, ‘आफ्नो तामाङ भाषा पनि बोल्छु। विषयअनुसार गणित, विज्ञान, नेपाली र अंग्रेजी पनि पढ्न, लेख्न र बोल्न पर्छ।’ उनका साथी समिक मगर र कक्षा ५ का विवेश लामाले पनि उसैगरी नेपाल भाषा बोल्न र लेख्न सिकेको बताए।

प्रधानाध्यापक सुनिता मानन्धरका अनुसार विद्यालयमा अहिले दुई सयजना विद्यार्थी छन्। ‘नर्सरीदेखि कक्षा ८ सम्म सबै विद्यार्थीका लागि एक विषय नेपालभाषा पढ्न अनिवार्य छ,’ उनले भनिन्, ‘पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० मा चाहिँ गणित वा नेपालभाषा भनेर एकै समूहमा राखेपछि अनिवार्य विषय बनाउन सकेनौं।’

केन्द्रले कक्षा १ देखि ५ सम्म नेपालभाषाका ‘लुँ हिती’ (सुनधारा) पाठ्यपुस्तक प्रकाशन गर्दैआएको छ। विद्यालय आफैंले ‘पलेस्वाँ’ (कमल फूल) पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरेको छ। नेवारी र नेपाली भाषाबाहेक सबै पाठ्यपुस्तक बोर्डिङ स्कुलका छन्। एसएलसीमा राम्रो नतिजा ल्याउने विद्यालय हाल एसईईको नतिजामा पनि अब्बल रहँदै आएको छ।

प्रअ मानन्धरका अनुसार विद्यार्थीसँग मासिक शुल्क न्यूनतम १३ सयदेखि १७ सय रुपैयाँसम्म लिने गरिएको छ। पढाउनका निम्ति आंशिकसहित २२ जना शिक्षक र ३ कर्मचारी छन्।

‘समाजका दानीहरूले अभिभावकत्व ग्रहण गरिदिएकाले आधा जति विद्यार्थीले छात्रवृत्तिमा पढ्ने मौका पाएका छन्,’ उनी भन्छिन्, ‘स्रोतको कमी छ। त्यसैले विद्यालय व्यवस्थापन समितिले न्यूनतम ४ हजारदेखि अधिकतम १३ हजार रुपैयाँसम्म शिक्षकको तलब तोकेको छ। यो विद्यालयको साख बचाउन पूर्वविद्यार्थीको महत्त्वपूर्ण भूमिका छ।’

यहाँका शिक्षकको तलब सरकारी विद्यालयसरह नरहेको उनले बताइन्। ‘सुरुदेखि अहिलेसम्म सरकारको कुनै निकायबाट आर्थिक सहयोग लिएका छैनौं,’ उनले भनिन्, ‘अब संविधानअनुसार प्रदेश र स्थानीय सरकारले नयाँ नीति जारी गर्न लागेको बुझिएको छ। सरकारले हाम्रोजस्तो मातृभाषाका माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई प्राथमिकतामा राख्ला भन्ने लागेको छ।’

विद्यालयका संस्थापक संयोजक अनाररत्न वज्राचार्यले स्थापना कालमै संस्थापक सदस्य तथा दाताहरूबाट संकलित रकमबाट सहुलियत मूल्यमा जग्गासमेत करिब डेढ रोपनी जग्गा खरिद गरेको बताए। निजी गुठीअन्तर्गत सञ्चालित विद्यालयको दुईवटा तीनतले भवन छन्। भवनमा १४ कक्षा कोठा, कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय र नेवारी संग्रहालय र सभाहल छन्।

विद्यार्थीलाई नेपालभाषा पढाइसँगै नेवार संस्कृति, १२ महिनाभित्र मनाइने चाड र पर्वहरू, इन्द्रजात्रालगायत जात्राहरू, बजाइने बाजा र नाचिने नाचहरूको प्रत्यक्ष अवलोकन गराउने गरिएको छ। सानो कक्षादेखि नेपालभाषा बोलचाल तथा शब्दलाई देवनागरी लिपिमा लेख्न सिकाइन्छ। कक्षा ४ देखि प्रचलित लिपि र कक्षा ७ देखि रञ्जना लिपिसमेत सिकाइन्छ। कक्षा ९ र १० का विद्यार्थीले एसईईपछि दुईहप्ते रञ्जना लिपि प्रशिक्षण दिने र प्रतिस्पर्धा गराउने गरिएको छ।

नेपाल मण्डल (काठमाडौं उपत्यकालगायत क्षेत्र) का रैथाने बासिन्दा नेवार जातिले बोल्ने भाषालाई नेपालभाषा भनिन्छ। २०४७ को संविधानले मौलिक हकअन्तर्गत आफ्नो भाषा, लिपि र संस्कृतिको संरक्षण गर्ने तथा प्राथमिक तहसम्म मातृभाषामा शिक्षा दिने विद्यालय खोल्न पाउने अधिकार सुनिश्चित गरेको थियो। उक्त धारा–१८ संस्कृति तथा शिक्षासम्बन्धी हक उल्लेख छ। उपधारा (१) मा भएको व्यवस्था देशका सबै समुदायले आफ्नो भाषा, लिपि र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने अधिकार छ।’

उपधारा (२) ले प्रत्येक समुदायले बालबालिकालाई प्राथमिक तहसम्म आफ्नो मातृभाषामा शिक्षा दिने गरी विद्यालय सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार जगतसुन्दर ब्वनेकुथी (विद्यालय) निजी गुठीबाट सञ्चालन हुने गरी २०४७ फागुनमा स्थापना गरिएको हो। २०७२ को संविधानले पनि उक्त अधिकारलाई यथावत् राखेको छ।

‘संवैधानिक व्यवस्थालगत्तै शिक्षाको माध्यमबाट मातृभाषा र संस्कृति संरक्षण गर्ने भयौं,’ संयोजक अनाररत्न वज्राचार्य भन्छन्, ‘हामी आफूले आपसमा सहयोग उठायौं र तत्कालै मातृभाषा शिक्षा अभियन्ता मास्टर जगतसुन्दर मल्लको नाममा स्कुल खोलेका हौं।’

१४ जना विद्यार्थी लिएर पठनपाठन सुरु गरिएको थियो। सञ्चालनको तीन दशक पुगेको विद्यालयको सुरुवातका केही वर्ष संस्थापक सदस्य तथा कवि राजभाइ जकमिःको घरमा पठनपाठन भएका थिए।

गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: