२०७६ कार्त्तिक ५ गते

भागबन्डा नमिल्दा विश्वविद्यालयको नियुक्तिमा ढिलाइ

इपाटी संवाददाता

काठमाडौँ । सत्तारूढ नेकपाभित्र भागबन्डा नमिल्दा विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिमा ढिलाइ भइरहेको छ । उपकुलपति चयनका निम्ति शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा ७ विश्वविद्यालयका लागि अलग–अलग पदाधिकारी छनोट कार्यदल (सर्च कमिटी) गठन भएको छ । त्रिविसहित केही विश्वविद्यालयका निम्ति कमिटीले नामसमेत सिफारिस गरिसकेको छ ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्राध्यापकले आफूअनुकूल व्यक्तिलाई मात्र सिफारिस गरेर नियुक्तिको अडान लिएपछि प्रक्रिया अघि बढ्न नसकेको जानकारी स्रोतले दिएको छ ।

‘हामीले त्रिविलगायत केही विश्वविद्यालयका निम्ति उपयुक्त नाम प्रधानमन्त्रीज्यूलाई सिफारिस गरिसकेका छौं,’ प्रधानमन्त्रीनिकट एक प्राध्यापकले भने, ‘तिनैमध्येबाट नियुक्ति हुनेमा ढुक्क छौं तर गुटबन्दीका कारण ढिलाइ भएको बुझेका छौं ।’

सिफारिस गरिएकामध्ये ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालनिकटलाई मात्रै प्राथमिकता दिइएको स्रोतले उल्लेख गरेको छ । उपकुलपतिका लागि अघि सारिएका नाममा माधवकुमार नेपाल र झलनाथ खनालले असन्तुष्टि जनाएको स्रोतको दाबी छ ।

त्रिवि र संस्कृत विश्वविद्यालयको सर्च कमिटीको म्याद भदौ २० गते सकिइसके पनि पदाधिकारी नियुक्ति हुन सकेको छैन । अधिकांशको चासो त्रिविमा रहेको र त्यहाँ प्रधानमन्त्रीनिकट प्राध्यापक नियुक्त हुनुपर्ने अडान ओलीनिकट प्राध्यापकको छ ।

सर्च कमिटीका संयोजक शिक्षामन्त्री पोखरेल यस विषयमा बोल्न चाहेका छैनन् । मन्त्रालयका सचिव महेशप्रसाद दाहालले सर्च कमिटीको बैठक बस्न नसकेको बताए । ‘उपकुलपति नियुक्तिका निम्ति गठित सर्च कमिटीको एक–दुइटाबाहेक बैठक बस्न सकेको छैन,’ सर्च कमिटीका सदस्यसचिवसमेत रहेका दाहालले भने, ‘चाँडै बस्ला तर यकिन भन्न सक्ने स्थिति छैन ।’

भदौ ५ बाट पाँचवटा र असोज ६ बाट थप दुई विश्वविद्यालयका उपकुलपतिको पदावधि सकिएको छ । त्रिविमा रेक्टर सुधा त्रिपाठीलाई बढीमा तीन महिनाका निम्ति उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनले रेक्टरको जिम्मेवारी मानविकी संकायका डिन शिवलाल भुसाललाई दिएकी छन् ।

नेपाल संस्कृत, कृषि तथा वन विज्ञान, सुदूरपश्चिम, पूर्वाञ्चल विश्वविद्यालयमा कामु उपकुलपतिको जिम्मेवारी दिइएको छ । पोखरा विश्वविद्यालयमा भदौ मसान्तसम्म बुद्धिराज जोशीलाई कामु दिइएको थियो, अहिले रिक्त छ । मध्यपश्चिम विश्वविद्यालयमा मस्तबहादुर गरन्जालाई यही असोज ७ गतेबाट कामु जिम्मेवारी दिइएको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी कृषि तथा वन विश्वविद्यालय सर्च कमिटीका सदस्य छन् । ‘सर्च कमिटीको बैठक एकपटक मात्र बस्यो,’ अन्य विश्वविद्यालयबारे आफूलाई जानकारी नरहेको उल्लेख गर्दै उनले भने, ‘त्यसपछि बैठक बोलाइएको छैन । प्रक्रिया अघि बढ्न सकेको छैन ।’

प्रधानमन्त्री ओलीनिकट अर्का प्राध्यापकले केही समय कामुकै भरमा विश्वविद्यालय चल्ने बताए । ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणअघि विश्वविद्यालयमा पदाधिकारी नियुक्त होलान् जस्तो छैन,’ उनले भने, ‘प्रधानमन्त्रीको कार्यव्यस्तताले मंसिर, पुसतिर मात्रै नियुक्ति हुने सम्भावना देखिन्छ ।’

कान्तिपुरमा खबर छ ।

Comments: