२०७६ कार्त्तिक ५ गते

कर्णालीमा गुणस्तरीय शिक्षाको बहस

प्रभा रावत/सुर्खेत

 

कर्णालीमा गुणस्तरीय शिक्षाको बहस सुरु भएको छ । दिगो विकास लक्ष्यमा उल्लेख गरिएको गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नको लागि सरोकारवाला निकायहरुबीच बहस गराइएको हो । कर्णाली फाउण्डेसनले युनेस्कोको आर्थिक सहयोगमा वीरेन्द्रनगरमा आयोजना गरेको दीगो विकास लक्ष्यअन्तर्गत गुणस्तरीय शिक्षासम्बन्धी दुई दिने कार्याशालामा शिक्षाको बहस गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजि विकास मन्त्री दल रावलले अहिलेको शिक्षाले बेरोजगार जनशक्ति निम्त्याएको बताएका छन् ।  रावलले गुणस्तरीय शिक्षा सिंगो नेपालकै चुनौती को विषय भएको बताए । उहाँले ग्रामीण क्षेत्रको शिक्षाले झन् बेरोजगार जनशक्ति निम्त्याएको भन्दै गुणस्तरीय शिक्षाको विकासका लागि अगाडी बढ्नुपर्ने बताए ।

उनले सामुदायिक र निजी विद्यालयले उत्पादन गरेका जनशक्ति विदेशिने गरेको बताए । ‘सामुदायिक विद्यालयले उत्पादन गरेका विद्यार्थी मलेसिया र अन्य खाडी  जान्छन्, निजी विद्यालयले उत्पादन गरेका जनशक्ति बाबुआमाको सम्पत्ति बेचेर अस्टे«ेलिया, अमेरिकातिर जाने चलन छ ।’ मन्त्री रावलले भने ।


शिक्षामा गुणस्तर मुख्य समस्या रहेको उनको भनाई छ । गुणस्तरीय शिक्षा नहुँदा अहिले पनि कतिपय प्राविधिक जनशक्ति नै बेराजगार बस्नुपरेको मन्त्री रावलले बताए । कर्णाली प्रदेश सरकारको योजना प्रदेशका सबै जिल्लामा बहुप्राविधिक विद्यालय खोल्ने रहेको उनले जानकारी दिए ।कर्णाली प्रदेशमा खोलिने प्राविधिक विश्वविद्यालयको विश्वव्यापी प्रतिस्पर्धाबाट सिईअयो नियुक्त गर्ने उनले बताए । अहिलेको जस्तो प्रधानमन्त्री कुलपति हुने, कुलपतिले नियुक्त गरेको व्यक्ति उपकुलपति हुने चलन यो विश्वविद्यालयमा नरहने उनको भनाई छ


कर्णाली प्रदेशमा शिक्षामा गुणस्तरको सुधार गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताए ।  कार्यक्रममा वरिष्ट अधिवक्ता नारायणप्रसाद घिमिरेले दिगो विकासको अवधारणा र यसको लक्ष्यहरुबीचको अन्तरसम्बन्धको विषयमा सहभागीहरुलाई जानकारी दिए । शिक्षाका लागि राष्ट्रिय अभियानका अध्यक्ष डिल्लीराम सुवेदीले विद्यालय छोड्ने दर बढी भएकाले सरोकारवालाहरु यसतर्फ ध्यान दिनुपर्ने बताए ।

Comments: