२०७६ कार्त्तिक ५ गते

विद्यालय पुग्नै ४ घण्टा पैदल

अन्तैबाट

जाजरकोट । दैलेखको डुंगेश्वर गाउँपालिकास्थित औलपराजुलका दृष्टिविहीन गंगबहादुर अधिकारी जाजरकोटको भेरी नगरपालिका ६, भेरेस्थित लक्ष्मी माविमा अध्ययनरत छन्  । जिल्ला छोडेर अध्ययनका लागि जाजरकोट पुगे पनि अपांगमैत्री विद्यालय, शौचालय र आवास नहुँदा उनको दैनिकी कष्टकर बनेको छ  ।

उनी मात्र होइन, विभिन्न जिल्लाबाट जाजरकोट पुग्ने दृष्टिविहीन विद्यार्थी सरकारी बेवास्ताका कारण विभिन्न सास्ती भोग्न बाध्य छन् । खलंगाबाट ४ घण्टाको पैदल यात्रापछि विद्यालयमा पुगिन्छ । सडक पुगे पनि बाढी र पहिरोको कारण गाउँको सदरमुकामसँग सम्बन्ध टुटेको छ । विद्यालयमा अध्ययनरत १५ दृष्टिविहीन विद्यार्थीले शैक्षिक सामग्री, पूर्वाधार, बसोबासलगायतमा समस्या भोग्दै आइरहेका हुन् । विद्यालयमा दैलेख, रुकुम र जाजरकोटका विद्यार्थी बढी छन् ।

सडकमा यातायातका साधन नचल्दा सहज रुपमा हिडडुल गर्नसमेत समस्या भएको अधिकारीले बताए । उनका अनुसार लामो समयदेखि शैक्षिक सामग्री अभावलगायत समस्या भोग्नुपरिरहेको छ । ‘पढ्नका लागि यति टाढा आइयो,’ उनले भने, ‘न त राम्रो शैक्षिक वातावरण छ न व्यवस्थापन नै ।’ सरकारले आफूजस्ता थुप्रै विद्यार्थीलाई गुणस्तरीय पठनपाठनबाट वञ्चित गराएको उनको आरोप छ ।

भेरेमा दृष्टिविहीन, शारीरिक र बौद्धिक अपांगता भएका विद्यार्थीलाई पठनपाठन गराइने गरिएको छ । आवासीय रुपमा १३ विद्यार्थीले पठनपाठन गरिरहेका छन् । ११ वर्षदेखि ३३ वर्षसम्मका विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयले जनाएको छ । छात्राबास नहुँदा विद्यार्थीलाई स्रोत शिक्षकका घरमा बस्नुपर्ने बाध्यता छ । विद्युत्लगायत आधारभूत सुविधा नहुँदा सास्ती भोग्नुपरेको अधिकारीले गुनासो गरे ।

शिक्षक ठगेन्द्र लोहार पनि न्यून दृष्टियुक्त शिक्षक हुन् । ‘विद्यालयमा शौचालयको ठूलो समस्या छ, खानेपानी धेरै टाढाबाट बोक्नुपर्छ,’ उनले भने, ‘स्थानीय सरकारले समेत पूर्वाधार निर्माणमा ध्यान नदिँदा शिक्षक र विद्यार्थी दुवै समस्यामा छौं ।’ कतिपय अभिभावकले चाडपर्व र लामो विदामा समेत छोराछोरी लिन नआउने गरेको उनले जानकारी दिए ।

सरकारी बेवास्ताकै कारण जाजरकोटकै भेरी नगरपालिका २, रिसाङस्थित त्रिभुवन आधारभूत विद्यालयको बहिरा स्रोत केन्द्र चार वर्षयता बन्द छ । विद्यालय बन्द भएपछि जिल्लाका बहिरा विद्यार्थीलाई जिल्लाबाहिर जानुपर्ने बाध्यता छ । साविक जिल्ला शिक्षा कार्यालयको बेवास्ताका कारण २०७२ सालमा विद्यालय बन्द भएको हो । स्थानीय सरकारले विद्यालय खोल्न कुनै पहल चालेको छैन ।

अपांग उत्थान केन्द्रका अध्यक्ष यमबहादुर बस्नेतले अपांगता भएका बालबालिकाका लागि सुविधायुक्त विद्यालय नहुँदा पठनपाठनबाट वञ्चित भएको बताए । ‘विद्यालय भए पनि आधारभूत सुविधा छैनन, अपांगता भएका विद्यार्थीलाई सुर्खेत, नेपालगन्जलगायत ठाउँमा पठाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘पहिले पनि सरकारी बेवास्तामा परेका विद्यालयमा पूर्वाधार विकासका लागि स्थानीय सरकार मौन छ ।’

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा राष्ट्रिय अपांग महासंघ, कर्णाली प्रदेशले उक्त विद्यालय खोल्नेगरी आवश्यक पहल चालिएको जनाएको छ । अपांगता भएका विद्यार्थीलाई समावेशी रुपमा शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गरिनुपर्ने अपांग महासंघ, कर्णाली प्रदेश प्रमुख निर्मला खत्रीले बताइन् । अपांगता भएका विद्यार्थीले आवसीय रुपमा पाउने ४ हजार रुपैयाँले उनीहरूको आवश्यक्ता पूरा नहुने उनको भनाइ छ । ‘सरकारले दिने अनुदानबाटै अपांग विद्यार्थीका लागि खाना, खाजा, कपडा, औषधिलगायत खर्च व्यवस्थापन गर्नुपर्छ,’ उनले भनिन्, ‘अभिभावकले समेत अपांगता भएका बालबालिकालाई ढिला उमेरमा विद्यालय पठाउने समस्या कायमै छ ।’ उनका अनुसार घरपरिवारबाट सहयोग र उत्प्रेरणा नपाउँदा अपांग बालबालिका औपचारिक शिक्षाबाट वञ्चित छन् ।

भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम बेल्बासेले स्थायी शिक्षक नहुँदा रिसाङको बहिरा स्रोत केन्द्र बन्द भएको बताए । शिक्षकको व्यवस्थापन गरी विद्यालय सुचारु गर्ने योजना बनाएको उनको दाबी छ ।

ज्योति कटुवालले कान्तिपुरमा खबर लेखेकी छैन ।

Comments: