२०७६ फागुन १० गते

अभिभावकको अगुवाईमा विद्यालयमा अक्षयकोष

महेश न्यौपाने/रोल्पा

 रोल्पाको एक दुर्गम विद्यालका अभिभावकले ५१ लाख बढीको अक्षय कोष स्थापना गरेका छन । जिल्लाको सुनछहरी गाउँपालिका १ सेरममा रहेको सरस्वती आधारभूत विद्यालय घुसवाङले अभिभावककै अगुवाईमा सो अक्षय कोष स्थापना गरेको हो ।


विद्यालय परिवार, अभिभावक र समाजसेवीको अगुवाईमा उक्त अक्षयकोष संकलन गरेको बताइएको छ ।  न्यूनतम १० रुपैयाँ देखि अधिकतम ५ लाख ९९ हजार ९९९ रासी सम्म सहयोग भएको विद्यालयले जनाएको छ । यसरी संकलित रकम ५१ लाख ७६ हजार १५२ को अक्षयकोष स्थापना गरि विद्यालय सञ्चालन गर्ने निर्णय भएको जनाइएको छ ।


 २०१७ सालमा स्थापना भएको सो विद्यालयले २०३२ सालमा प्राथमिक तहको स्वीकृत पाएको थियो । हाल कक्षा ८ सम्म अध्यापन हुँदै आएको उक्त विद्यालय जिल्लाकै पुरानो विद्यालय मानिन्छ । राजनीतिक पहुँच नहुँदा जिल्लाकै पुरानो विद्यालय हुँदा पनि सरकारी स्वीकृती प्राप्त गर्न झण्डै १५ वर्ष पर्खनु परेको थियो । खोलाको किनारामा छाप्रो वनाएर पढाइ सञ्चालन गरेको विद्यालयको अहिले भने आवश्यक भौतिक पूर्वाधार रहेको जनाएको छ ।


स्थापनाको लामो सयमसम्म विद्यालयको स्तर वृद्धी हुन सकेको थिएन । 'प्राथमिक तहको पठन–पाठन सञ्चालन गरेको पचासौं वर्ष पुगे पनि कक्षा थपका लागि कतैबाट सहयोग नभएपछि अभिभावक आफै जागरुक भएर शैक्षिक सुधारको प्रयासमा लाग्यौं'– स्थानीय समाजसेवी पुस्तमन घर्तीमगरले भने, 'विद्यालयको शैक्षिक अवस्था सुधारका लागि स्थानीय वीच भएको अन्तरकृया पछि सहयोग संकलन गरि अक्षयकोष स्थापना गर्ने निर्णय गर्यौं ।'


देश विदेशमा रहेका पूर्व विद्यार्थी र समाजसेवीले मन फुकाएर सहयोग गरेका कारण यति ठूलो रकम संकलन गर्न सफल भएको घर्तीले बताए ।

'राजनीतिक पहुँच पुगेका सुगम ठाउँका विद्यालयमा मात्रै राज्यको दृष्टि पुगेको देखियो, दुर्गम ठाउँमा कसैको नजर नपुगे पछि अभिभावक स्वतःस्फूर्त कस्सिएर लागेका हौ'– घर्तीले भने । सामुदायिक विद्यालयमा राज्यको असमान व्यवहार हुँदा दुर्गमका विद्यालय मारमा परेको अभिभावकहरुले गुनासो गरेका छन् ।


विद्यालय अक्षयकोषका लागि ३ जनाले ५ लाख भन्दा वढी रकम सहयोग गरेका छन् । यसैगरि १ लाख वढी सहयोग गर्नेको संख्या ४ जना रहेका छन् । विद्यालयलाई ७१४ जनाले सहयोग गरेको विद्यालयले जनाएको छ । सहयोगीहरुको नाम नामेसी कुदेर विद्यालयमा टाँस गरेको बताइएको छ । अक्षयकोषवाट प्राप्त व्याजले विद्यालय सुधारको काम गर्ने योजना रहेको विद्यालयले जानकारी दिएको छ ।

Comments: