२०७६ माघ ११ गते

हाजिरी रजिष्टर नै गायब गरी शिक्षकको तलब झ्वाम पार्ने प्रअ बिरुद्ध मुद्दा

इपाटी संवाददाता


काठमाडौं । भ्रष्टाचारको आरोपमा बारा,  कलैया नगरपालिका ७ पन्नादेवी कन्या माविका प्रधानाध्यापक सुनरपति कुमारी यादव बिरुद्ध मुद्दा दायर गरिएको छ ।

शिक्षकको कोटाको लागि निकासा भएको रकम तथा हाजिरी रजिष्टर नै विद्यालयबाट गायब गरी रकम हिनामिना गरेकी उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


यादवले  विद्यालयको आर्थिक कारोवार गर्दा झुठ्ठा बिल भरपाई बनाउने, दोहोरो बिल भरपाई बनाउने र श्रेस्ता कागजात लगायतका बहिखाताहरुसमेत नष्ट गरी विद्यालयको बाह्र लाख छब्बीस हजार चार सय उनान्सत्तरी पैसा  हिनामिना गरेको अख्तियारको आरेप छ ।


अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हिनामिना भएको रकमसमेत निजबाट असुलउपर तथा श्रेस्ता कागजातहरु नष्ट गरेबापत ऐनको दफा १२ बमोजिमसमेत सजाय  मागदाबी सहित मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

Comments: