२०७६ कार्त्तिक २९ गते

महिलाले हाँकेका अब्बल स्कुल

काठमाडौं । पुरुषभन्दा महिला के कम ? महिला सशक्तीकरण क्षेत्रमा चल्तीको यो प्रश्नले समाजमा महिला र पुरुषले हरेक क्षेत्रमा बराबरी योगदान दिन सक्छन् भन्ने सन्देश दिन्छ। तर, यसलाई चरितार्थ गर्न कम्मर कस्ने र सफलताका सिँढी चढ्ने महिलाका कथा भने सबै क्षेत्रमा पाइँदैनन्।

राजधानीको सार्वजनिक विद्यालय एउटा यस्तो क्षेत्र हो जहाँ महिलाले नेतृत्व लिएपछि काँचुली फेरेका विद्यालय छन्, व्यवस्थापन र गुणस्तरमै उल्लेखनीय सुधारसहित।

महिलाले सफलतापूर्वक हाँकेका विद्यालयमध्ये एक हो– मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय।

एक दशकअघिसम्म यो स्कुलमा न उचित कक्षा कोठा थिए न भवन। खाजापछि पानी पिउन स्कुलबाहिर पाँच मिनेट हिँडेर ढुंगेधारा पुग्नुपर्थ्यो। छात्राका लागि उचित चर्पी थिएन।

विद्यालयको नेतृत्व जब महिलाको हातमा आयो, स्कुलले काँचुली मात्र फेरेन, अब्बल बन्न पुग्यो। चारवटा नयाँ भवन, खेल मैदान, इसिए हल, छुट्टाछुट्टै पाँच–पाँचवटा सुविधायुक्त शौचालय। २ हजारभन्दा बढी विद्यार्थी अहिले खुसीसाथ अध्ययनरत छन्।

प्रधानाध्यापक गीता खरेल (सिवाकोटी)। पुरुष हेडसरभन्दा म के कम भन्ने आत्मविश्वासले उनलाई निरन्तर सफलता दिलायो। 'अन्य सरकारी विद्यालयमा विद्यार्थी नभएर समस्या छ, हाम्रो धेरै भएर कहाँ राखेर पढाउने भन्ने समस्या आउन थालेको छ', सिवाकोटीले खुसी साटिन्, 'प्रधानाध्यापकले जागिरे मानसिकता त्यागेर घरपरिवारझैं जिम्मेवार भए स्कुल राम्रो बन्दोरहेछ।'

उपत्यकाका करिब डेढ दर्जन सरकारी स्कुलमा अहिले प्रधानाध्यापकको जिम्मेवारीमा महिला नै छन्। कालिमाटीस्थिा नीलबाराही मावि, डिल्लीबजारस्थित पद्मकन्या मावि, रानीवनस्थित बालविकास मावि, बागबजारस्थित सहिद शुक्रराज मावि, नक्सालस्थित नन्दी मावि,  प्रदर्शनीमार्गस्थित पद्मोदय माविलगायत स्कुल महिलाले सफलतापूर्वक हाँकिरहेका छन्।

आफू प्रअ भएपछि पहिलो काम नै प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको गीताले सुनाइन्। यसले विद्यार्थी आकर्षण ह्वात्तै बढायो। यो स्कुलमा कक्षा १० सम्ममै अंग्रेजी माध्यमबाटै हुन्छ।

अभिभावकको मागअनुसार कम्प्युटर शिक्षा थपियो। उनले मागेरै ५० वटा कम्प्युटर जुटाइन्। २०७२ सालमा भूकम्पले पूर्ण क्षति भएको भवनका लागि मागेरै एक करोड संकलन गरिन् उनले। २०३८ सालमा प्रावि शिक्षकका रूपमा रत्नराज्य प्रवेश गर्दा नै उनले सरकारी स्कुललाई निजीसरह बनाउने कल्पना गरेको सुनाइन्।

पढ्दै, पढाउँदै र तीन बच्चा हुर्काउँदै विद्यावारिधिसमेत गरेकी ५७ वर्षीया गीता स्कुलमा विद्यार्थीलाई नियमित बनाउन आफैं बिहान ६ बजे स्कुल पुग्छिन्।

कालीमाटीस्थित नीलवाराही स्कुल छाप्रोमा सञ्चालित थियो। कक्षा १–८ सम्म १ सय ३० विद्यार्थी थिए। पानी, चर्पी र भौतिक पूर्वाधार थिएन। शौच गर्न नजिकैको टंकेश्वरस्थित सार्वजनिक शौचालय पुग्नुपर्ने बाध्यता थियो।

जब स्कुलको प्रधानाध्यापक भएर जानुका नेपालले नेतृत्व सम्हालिन्, यो स्कुलको पनि मुहार फेरियो। २०६२ सालमा प्रअ भएलगत्तै उनले स्कुल सञ्चालनमा आमूल परिवर्तन ल्याउन सुरु गरिन्।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्मको मिहिनेतले एक दशकमा स्कुलले नयाँ रुप पाएको छ। स्कुलसँग अहिले तीनवटा सुविधासम्पन्न चारतले भवन छन्। प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म ९ सय १५ विद्यार्थी अध्ययनरत छन्।

०६३ सालमा पहिलो ब्याचले एसएलसीमा शतप्रतिशत नतिजा दियो। 'यो परिणामले मलाई हौसला मिल्यो र मैले सबै शिक्षक र समुदायको सहयोगमा ०६८ सालमै कक्षा ११ र १२ सुरु गरे', उनले भनिन्, 'हाम्रो स्कुलमा कक्षा ७ सम्म अंग्रेजी माध्यमबाटै पढाइन्छ,  शिक्षक पनि ग्रेड टिचिङमै हुनुहुन्छ।'

स्कुलभित्रै खानेपानी, छात्रा र छात्रको छुट्टाछुट्टै शौचालय, पुस्तकालय, व्यवस्थित विज्ञान ल्याब, कम्प्युटर ल्याब  र अतिरिक्त क्रियाकलापले विद्यार्थी र अभिभावकको चाहना नै नीलबाराही मावि बनेकोमा उनी गर्व गर्छिन्।

'महिला प्रअले नानीहरूलाई आफ्ना छोराछोरीसरह गरी समय दिन्छन्, संवेदनशील भएर सबै पक्षको ख्याल राख्छन्', उनले अनुभव सुनाइन्, 'त्यही भएर उपत्यकाका महिलाले सम्हालेका स्कुल निकै राम्ररी चलिरहेका छन्।'

इमानदार हेडसर भए जुनसुकै स्कुल राम्रो हुन सक्ने उदाहरण रानीवनस्थित  बालविकास माध्यमिक विद्यालय पनि हो। प्रधानअध्यापक मैयाँ मल्ललाई यस स्कुलको सर्वांगीण विकासको श्रेय जान्छ।

२३ वर्षअघि छाप्रोमा कक्षा ३ सम्म कुल २५ विद्यार्थी  मात्र पढ्ने यो स्कुलमा हाल कक्षा १० सम्म पठनपाठन हुनुमा प्रधानाध्यापक मल्लको मुख्य योगदान रहेको अभिभावक बताउँछन्।

'स्कुलको प्रगतिले रानीबारीकै साख बढेको छ', ४० वर्षअघि त्यही स्कुलमा कक्षा ३ सम्म पढेका रानीबारी खत्रीटोलका नवीन लामा भन्छन्, पुरुष हेडसर थिए, घरबाटै चकटी लगेर ओछ्याउँथ्यौं।' मैयाँ मल्लले सम्हालेपछि निकै सुधार भएको उनले सुनाए।

'२३ वर्षअघि मैयाँ मिसले स्कुलको नेतृत्व लिएपछि हाम्रो स्कुल गर्व गर्नलायक बन्यो', उनले भने।

हाल यो स्कुलमा कक्षा १० सम्म साढे ४ सय विद्यार्थी अध्ययनरत छन्। डेढ रोपनी स्कुलको आफ्नै जग्गामा दुई सुविधासम्पन्न भवन छन्।

समुदायको विश्वास जित्न सफल भएको यो स्कुलमा  स्थानीय समुदायकै नानीहरू अध्ययन गर्छन्। मासिक रुपमा अभिभावक र शिक्षकबीच नानीहरूका बानी, क्रियाकलाप  र अध्ययनकै विष्गायमा छलफल हुन्छ।

डिल्लीबजारस्थित महिला मात्र पढ्ने पद्मकन्या माध्यमिक विद्यालय पुग्दा कक्षा २ की छात्रा आफूलाई अभिभावकले गाली गरेको गुनासो प्रधानाध्यापक रीता तिवारीसँग गरिरहेकी थिइन्। प्रअ तिवारीले पनि अभिभावकसँग उनका बारे कुरा गर्ने प्रतिबद्धता गरेपछि उनी कक्षामा फर्किन्। नानीहरू महिला प्रधानाध्यापक वा महिला शिक्षकसँग खुलेर समस्या राख्न सक्छन् भन्ने यो एक उदाहरण थियो।

रीता प्रअ हुनुअघि यो विद्यालयमा विद्यार्थीको आकर्षण खासै थिएन। तीन वर्षयता उनले प्रअको जिम्मेवारी सम्हालेपछि स्कुलमा सबै रमाउन थाले। छोरीहरू प्रायः स्कुल भोकै आउने थाहा पाएपछि उनले एक गैरसरकारी संस्थासँग सहयोग मागेरै स्कुलमा खाजाको व्यवस्था गरिन्। ४२ वर्षीय प्रअ तिवारीको मुख्य लक्ष्य नै स्कुलमा भर्ना भएका छोरीहरूलाई निरन्तर टिकाइराख्नु थियो । जसका लागि उनी स्कुलमै खाजाको व्यवस्था गरेको बताइन्। कक्षा १२ सम्म कुल ९ सय छोरीहरू अध्ययन गर्ने यो स्कुलमा प्रअ  तिवारीले प्राविधिक धारको शिक्षा लागू गरेपछि माल्थिलो कक्षामा विद्यार्थी आकर्षित भएको अनुभव साटिन्।

स्कुललाई नमुना विद्यालयकै रूपमा स्थापित गर्न एक सय छोरी अट्ने छात्रावास निर्माण गराइरहेकी छुु, तिवारीले योजना सुनाइन्, 'आगामी शैक्षिक सत्रमा देशभरिका सरकारी विद्यालयमा अध्ययन गर्ने छोरीहरूबीच प्रतिस्पर्धा गराई बूढानीलकण्ठ स्कुलजस्तै कक्षा ४ देखि १२ सम्म निःशुल्क पढाउने योजना छ।'नागरिक दैनिकमा रुवी रौनियरले खबर लेखेकी छन् ।

Comments: