२०७६ कार्त्तिक ५ गते

गरिब बालबालिका पढ्ने विद्यालय नै 'गरिब'

प्रभा रावत/सुर्खेत



सुर्खेत । दुर्गमका विद्यालयहरु आवश्यक पूर्वाधारलगायतको कमीका कारण गरिब हुनुपर्ने हो, तर यहाँ त प्रदेश राजधानीकै एक विद्यालयको अवस्था कुनै दुर्गमको विद्यालयभन्दा कम्तीको गरिब छैन ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरभित्रकै नेपाल बालमन्दिर प्राथमिक विद्यालयको अवस्था कुनै दुर्गमको विद्यालय भन्दा फरक छैन । वीरेन्द्रनगर नगरपालिका र जिल्ला समन्वय समितिको केही मिटर अगाडि रहेको सो विद्यालयको अवस्था दयनीय छ । विशेषगरी गरिब, निम्न वर्गका नागरिक, मजदुर तथा भूमिहीनका सन्तानहरु पढ्ने सामुदायिक विद्यालय भएका कारण त्यस विद्यालय सवैको उपेक्षाको शिकार बनेको छ । विद्यालयको भौतिक अवस्था सुधारका लागि विद्यालय प्रशासनले सवैसंग हारगुहार गरेको पनि छ, उपलव्धि भने हासिल हुन सकेको छैन ।

भर्ना हुँदा कूल ११० विद्यार्थी थिए तर पढ्दापढ्दै करिव ३० जना विद्यार्थी वीचमै हराउँछन् । अहिले बढीमा ७० देखि ८० जना विद्यार्थीहरु पढ्ने गरेका विद्यालयका प्रधानाध्यापक महेन्द्रविक्रम विसी बताउँछन् ।



विद्यालयमा शुद्ध पिउने पानी समेत छैन, शौचालयको  राम्रो व्यबस्था छैन्, कक्षा चारमा अध्ययनरत छात्रा पायल विटालुले भनिन्, फोहोर फाल्ने ठाउँपनि छैन्, हामीलाई पढ्दा शैक्षिक सामग्री समेत पर्याप्त मात्रामा छैन् ।

विद्यालयको पर्खाल भत्किदा सुरक्षामा चुनौती पनि उत्तिकै छ । बाहिरबाट गाईवस्तु विद्यालयभित्र पस्ने गर्दछन्, विद्यालयका प्रअ विसी बताउँछन् । विद्यालय बन्द भएको बेला जो कोही सहजैरुपमा विद्यालय पस्न सक्छन् । शुद्ध पिउने पानी पर्याप्त मात्रामा छैन, हप्तामा एक पटक धारामा पानी आउँछ त्यसले नै जेनतेन गुजारा चलाएका छौँ, उनले भने ।

विद्यालयमा शैक्षिक सामग्रीका लागि स्थानीय स्तरमा बनाइएका र केही विद्यालयले नै बनाएर काम चलाउन बाध्य भएको उनको भनाइ छ । विभिन्न समुदायका वालवालिका विद्यालय पुग्ने गर्दछन् । सबैको सिक्न सक्ने क्षमता एउटै हुँदैन । सबैलाई एउटै कक्षामा राखेर अध्ययपन गराउँदा समस्या खडा हुन्छ । कसैले अधिकांश वालबालिका विपन्न, मजदुर, दलित समुदायका र अस्थायीरुपमा बसोबास गर्दै आएका समुदायका बालबालिका विद्यालयमा पढ्ने गरेको प्रअ विसी ले बताए ।



आर्थिक समस्याकै कारणले नियमित ७५ देखि ८० जना विद्यार्थी मात्र विद्यालय आउने गरेको प्रधानाध्यापक वीसीले बताए ।

अस्थायीरुपमा वसोबास गर्ने कामको सिलसिलामा राजधानी भित्र बसोबास गर्ने र काम नपाएपछि अर्को ठाउँमा सर्ने भएकाले पनि अधिकाश वालवालिका विद्यालयमा अनियमित हुने गरेको विद्यालयले जनाएको छ । कतिपय अभिभावकले दिनभर मजदुर गर्ने वालवालिका भने घर कुरेर बस्नुपर्ने बाध्यता भएका कारणले पनि विद्यार्थीहरु विद्यालयमा उनुपस्थित हुने गरेका छन् । ९५ प्रतिशत वालवालिका सुकुम्बासी वस्तीबाट विद्यालय जाने विसीले जनाए ।

विद्यार्थीको अनुपस्थिति घट्नुमा अभिभावकले पनि चासो नदिने गरेको उनको गुनासो छ । अभिभावकले पनि यस तर्फ ध्यान दिन सकेको खण्डमा विद्यार्थिलाई विद्यालयमा नियमित बनाउन सकिने उनले बताए ।



२०४१ सालमा स्थापना भएको उक्त विद्यालय अहिले जीर्ण अवस्थामा छ । कक्षामा सबै विद्यार्थी उपस्थित भएपछि कक्षाकोठाको समेत समस्या हुने गर्दछ । पहिलाको तुलनामा पछिल्लो समय विद्यालयमा विद्यार्थीको चाप धेरै नै घटेको छ । अहिले विद्यालयले विद्यार्थीलाई विद्यालयमा तान्नका लागि नै दिवा खाजाको लागि नगरपालिकासँग माग गरेको छ ।

Comments: