२०७६ असोज ३ गते

भुँडीफोरको संरक्षणमा जुटे विद्यार्थी

अन्तैबाट

धादिङ । विद्यालय वरपरका खेतबारीमा सधैँ जसो देखा पर्ने चराचुरुङगी तथा पन्छीलाई ढुङगा र गुलेलीले हानेर धपाउने विद्यार्थीहरु संरक्षणमा जुटेका छन्। विश्वकै दुर्लभ र लोपोन्मुख भएको थाहा पाएपछि धादिङको गजुरी गाउँपालिकास्थित किरान्चोक माध्यमिक विद्यालयका विद्यार्थीहरु धपाउने नभई संरक्षणमा जुटेका हुन्। वर्षौदेखि बेल्खुखोलालाई आफ्नो बासस्थान र चरन क्षेत्र बनाएको लोभीपापी गरुड (गाउँमा यसलाई हिलेगिद्ध र केही ठाउँमा भुँडीफोरको नामले चिनिन्छ) संरक्षणको अभावमा संकटमा परेपछि विद्यार्थीहरुले चासो देखाएका हुन् ।

सधैँ खेतका कान्लामा देख्दै आएको चरालाई आफूले भुडिफोर नामले चिन्ने किरान्चोक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी विश्व अधिकारीले बताए। ‘मार्ने नियतले भन्दा पनि धपाएर उडेको हेर्ने ईच्छाले ढुङगाले हान्ने गरेका थियौँ’, उनले भने, ‘यी त विश्वमै दुर्लभ मानिने चरा रहेछन्, आफ्नो बस्ती नजिकै फेला पर्नु गर्वको कुरो हो, यसको संरक्षणमा हामी विद्यार्थी लाग्नुपर्छ।’ विश्व जस्तै विद्यालयका ३ सय ५ जना विद्यार्थीहरुले एकै स्वरमा संरक्षण गर्ने प्रतिबद्धता गरे।

विद्यार्थीहरुसँगको सहकार्यमा स्थानीय तह पनि तातेको छ। गजुरी गाउँपालिकाले आफ्ना वडा नं ७ र ८ का धानखेतमा चर्ने यो गरुड दुर्लभ र लोपोन्मुख हो भन्न्ने थाहा पाएपछि विद्यार्थी, स्थानीय र स्थानीय तह संरक्षणमा जुटेका छन्। गजुरी गाउँपालिकाले यो गरुड संरक्षण गर्न गरुडका बासस्थान रहेका बस्तीहरुमा रंगीन होर्डिङबोर्डहरु टाँसेको छ भने किसानलाई गरुडको महत्व र संरक्षणको आवश्यकताबारे जानकारी समेत गराएको छ।

विद्यार्थी तथा किसानहरुलाई विश्वमै लोपोन्मुख र दुर्लभ लोभीपापी गरुडबारे चेतना जगाउन गाउँपालिकाले नेपाल पंछी संरक्षण संघका विज्ञहरु कृष्ण भुसाल र अध्येता प्रशान्त घिमिरेलाई आमन्त्रण गरेको थियो। गाउँपालिकाले स्थानीय दुई वटा माध्यमिक तहमा शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई संरक्षणको लागि अभिमूखिकरण समेत गराएको छ। गरुडको बासस्थान रहेको वडा नं ८ किरान्चोक माध्यमिक विद्यालय र वडा नं ७ को किरान्चोक कटुन्जे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई संरक्षणको आवश्यकता बारे प्रशिक्षण दिइएको हो।

चराहरु सबैभन्दा बढी बालबालिकाहरुबाटै असुरक्षित हुने भएकोले स्थानीय तहले संरक्षण गर्ने विद्यार्थीहरुलाई परिचालन गर्ने नीतिसमेत ल्याएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताए। ‘हामी हाम्रा वरपर भएका पन्छीहरुलाई ढुङगा हान्ने गछौँ, तर त्यो विश्वमै लोपोन्मुख रहेछ’, अध्यक्ष बस्नेतले भने, ‘संसारबाटै हराउन लागेको दुर्लभ चरा गाउँमा हुनुलाई गाउँपालिकाको गौरवको रूपमा लिएर यसको संरक्षण गर्न लगानी गर्ने र गाउँवासी, विद्यार्थीहरुलाई सचेत बनाउने अभियान चालेका छौँ।’

स्थानीय तहले आफ्नो जंगलमा रहेका विश्वमै लोपोन्मुख र दुर्लभ गरुड लगायत, सालक र अन्य वन्यजन्तु संरक्षण गर्ने नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेको अध्यक्ष बस्नेतले बताए। स्थानीय किसानहरुले यो गरुड दुई वर्ष सम्म १५/१६ वटा देखा पर्ने गरेकोमा हाल ३/४ जोडी मात्रै खेतबारीमा देखिने बताए । भूकम्पपछि आवास निर्माण गर्न आएका चेपाङ समुदायका मजदुरहरुले मारेर खान थालेपछि यो चराको संख्या घटेको हो। चेपाङहरुले गरुडको गुड भएको रुखमै चढेर असार महिनामा उड्ने तयारीमा रहेका बचेराहरु झिकेर लैजाने गरेका छन्।

सन् २०१५ मा नेपालका ४२ स्थानका सिमसारहरुमा मात्रै गरिएको यो गरुडको गणनामा ६८ वटा मात्रै फेला परेको नेपाल पंछी संरक्षण संघका विज्ञ कृष्ण भुसालले बताए। यो गरुडका गुडहरु नेपालको कपिलबस्तु, रुकुम, जाजरकोट, रुपन्देही, धादिङ, प्यूठान, अर्घाखाँची मनाङ, सिन्धुपाल्चोक, सल्यान, सुर्खेत, बर्दिया, चितवन, कन्चनपुर, कैलाली र नवलपरासीमा मात्रै फेला परेको उनले बताए।

नेपालमा पाइने आठ प्रजातिका गरुडमध्ये सेतो घाँटी भएको, चुच्चो रातो भएको, अलि होचो कदको चरा नै लोभीपापी गरुड हो। अहिलेसम्म धादिङको किरञ्चोकमा र कुम्पुर क्षेत्रमा यसको गुँड तथा बासस्थान फेला परेको छ। धादिङको किराञ्चोक क्षेत्रमा केही वर्षअघि धेरै संख्यामा यो चरा भेटिएको भए पनि पशुमा लगाइने डाइक्लोफेनिक नामक औषधिको प्रयोग, चोरी सिकारी, बासस्थान तथा आहाराको कमीले हालका दिनहरुमा हराउँदै गएको र विश्वमै दुर्लभ चरा भएकोले यसलाई संरक्षण गर्न सबै लाग्नुपर्ने लोभीपापी चराविज्ञ प्रशान्त घिमिरेले बताए।

लोभीपापी गरुड करम, आँप, सल्ला र सिमलको ठूलो बोटमा बासस्थान बनाएर लामो समयदेखि बसेको भए पनि संरक्षणको अभावमा हराउँदै गएको थियो । धादिङका सञ्चारकर्मीहरुले केही दिनअघि यो पंन्छी देखेपछि फोटो खिचेर चरा विज्ञलाई पठाइएका थिए। चरा विज्ञहरुको अनुसन्धानपछि यो पंक्षी संरक्षणको सूचीमा रहेको बताएपछि संरक्षणकर्मीहरु नै गाउँ पुगेका हुन्।

सरिता श्रेष्ठले नागरिकमा खबर लेखेका छन् ।

Comments: