• शिक्षक आयोगले दोस्रो पटक सुधार्यो विज्ञापन, योग्यता र पदसंख्यामा थपघट
    ()


  • भक्तपुर । शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह द्वितीय श्रेणीमा कार्यरत अस्थायी शिक्षकहरुले माध्यमिक तह तृतीय श्रेणीमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्दै आन्तरिक विज्ञापनको पदसंख्यामा दोस्रो पटक थपघट गरेको छ ।


    आयोगले शिक्षा विभागबाट नयाँ तथ्यांक आएकाले विज्ञापनको पूर्व निर्धारित पदसंख्यामा फेरबदल गरिएको जनाएको छ ।  आयोगले गत चैत्र १८ गते परीक्षा मिति पछि तोक्नेगरी प्रावि, निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि विज्ञापन गरेको थियो ।  पछि चैत्र ३० गते पहिलोपटक सुचना प्रकाशित गरेर परीक्षा  मिति तोक्ने र पदसंख्यामा  केहि थपघट गरेको थियो ।


    यसपटक आयोगले प्राथमिक तहमा धनकुटा, उदयपुर, भक्तपुर, मकवानपुर, मुगु, बाँके र कैलाली गरी सात जिल्लामा जिल्लागत र निम्न माध्यमिक तह र माध्यमिक तहमा पाँचै विकास क्षेत्रमा विषयगत पदसंख्यामा थपघट गरेको हो ।  


    शिक्षा ऐन, २०२८(आठौं संशोधन)को दफा ११ च. (१) को खण्ड ख को प्रतिस्पर्धात्मक वाक्यांशको उपखण्ड (१),(२) र (३) मा भएको व्यवस्था अनुसार सामुदायिक विद्यालयहरुमा रिक्त शिक्षक पद स्थायी रुपले पदपूर्ति गर्नुपर्ने भएकाले विज्ञापन  खोलिएको आयोगले जनाएको छ ।