२०७६ भदौ ३० गते

अस्थायी शिक्षकका लागि तत्काल आयोग नखुल्ने


काठमाडौं । अस्थायी शिक्षकहरुका लागि तत्काल आन्तरिक विज्ञापन नहुने भएको छ । शिक्षा मन्त्रालयले तत्काल अस्थायी शिक्षकहरुको विज्ञापन नहुने संकेत गरेको हो ।

परीक्षा हुन ८ दिन बाँकी रहँदा स्थगित भएको अस्थायी शिक्षकहरुको विज्ञापन अन्योलमा परेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आगामी असार यता शिक्षक सेवा आयोगको विज्ञापन नखोल्ने संकेत गरेका छन् । नेतृत्व सम्हालेको एक महिना पूरा भएको अवसरमा आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले सार्वजनिक गरेको कार्यक्रम र कार्यान्वयन योजनामा आयोग खोल्ने विषय समेटिएको छैन ।

यसअघि पोखरेलका विश्वासपात्र समेत रहेका पूर्व शिक्षामन्त्री डिआर पौडेलले पनि चैत २३ को परीक्षा स्थगित भए अस्थायी शिक्षकहरुका लागि पुनः विज्ञापन गर्ने सम्भावना नरहेको बताएका थिए । नभन्दै शिक्षामन्त्री पोखरेलले पनि आफ्नो कार्यक्रम र कार्यान्वयन योजनामा सोकुरा नसमेटेर त्यसको संकेत गरेका छन् ।

पत्रकारहरुले अस्थायी शिक्षकको विज्ञापनका सम्बन्धमा राखेको जिज्ञासामा मन्त्री पोखरेलले गुणात्मक शिक्षाका लागि शिक्षक महत्वपूर्ण पक्ष भएकोले शिक्षकको नियुक्तिका बारेमा छलफल जारी रहेको भनेर घुमाउरो जवाफ दिएका छन् ।

आन्तरिक प्रतियोगितालाई अघि बढाईरहँदा गुणात्मक शिक्षक छनौटको आधारमा शिक्षक परीक्षाका बारेमा छलफल गर्न बाँकी छ भन्दै शिक्षा मन्त्री पोखरेलले शिक्षक छनौट भनेको नियुक्ति पत्र प्रदान गर्नु मात्रै नभएको बताए ।

आन्तरिक विज्ञापन भनेको हातमा स्थायीको नियुक्ति पत्र दिने नभएको भन्दै उनले यदि त्यस्तो हुन्थ्यो भने भईरहेका शिक्षकलाई नियुक्ति पत्र दिदाँ भैहाल्थ्यो नि भनेर जवाफ टोरका थिए ।

नियुक्ति पत्र बाड्ने भए परीक्षा लिनु जरुरी नै थिएन अबको विज्ञापन अस्थायीलाई स्थायी बनाउनका लागि मात्रै होइन गुणात्मक शिक्षाको विकासका लागि हो । त्यही विधि र प्रकृया अनुसार शिक्षक छनौट हुन्छ । पोखरेलले भने । उनले आयोग कहिले खुल्ने भन्ने बारेमो प्रष्ट जवाफ दिएनन् ।

Comments: