२०७६ कार्त्तिक २९ गते

विज्ञापन खारेजीको माग गर्दै आयोगको गेटमै विद्यार्थीहरुको अनसन शुरु


भक्तपुर । विज्ञापन खारेज गर्न माग गर्दै विद्यार्थीहरुले शिक्षक सेवा आयोगमा अनिश्चितकालीन रिले अनसन शुरु गरेका छन् । चिसो रातमा खुला आकाश मुनी २० जना विद्यार्थीहरुले अनसन शुरु गरेका हुन् ।


शिक्षक लाइसेन्स लिएर बसेका सात लाख विद्यार्थी र विद्यालय जाने लाखौं विद्यार्थीको पक्षमा आफुहरु अनसन शुरुगरेको विद्यार्थी संघर्ष समितिका कोषाध्यक्ष सुजन काफ्लेले बताए ।

अस्थायी शिक्षकहरुका लागि भएको विज्ञापन खारेज गर्न दिएको २४ घण्टे अल्टिमेटम भित्र विज्ञापन खारेज नभएपछि विद्यार्थीहरुले आइतबार बिहानै आयोगमा तालावन्दी गरेका थिए । शिक्षक सेवा आयोगले केही घण्टामैे प्रहरी प्रशासनको सहयोगमा ताला फोडे पछि विद्यार्थीहरु आयोग घेराउ गर्न पुगेका थिए । आयोग परिसरमा व्यापक प्रहर िपरिचालन भएपछि केहीबेर विद्यार्थी र प्रहरी बीच धक्कामुक्की समेत भएको थियो ।


विद्यार्थीहरुले पुन ताला लगाउने कोसिस प्रहरीले असफल पारेपछि उनीहरु आयोग गेटमै रिले अनशनमा बसेका हुन् । तीनजना अस्थायी शिक्षकहरु अनशन बस्दा ऐन संशोधन गरेको सरकारलाई २० जना विद्यार्थी अनसन बसेर ऐनको नवों संशोधन फिर्ता गराउन लगाउने उनीहरुले बताएका छन् ।


विद्यार्थी संघर्ष समितिका संयोजक पुष्कर शर्मा, वरिष्ठ सहसंयोजक नारायण गिरी, सचिव निराजन श्रेष्ठ, प्रेस संयोजक विराज धौराली, कोषाध्यक्ष सुजन काफ्ले, महेन्द्र रत्न क्याम्पस ताहाचल संयोजक दीपेन्द्र शाही लगायत २० जना अनसन बसेका हुन् ।

Comments: