२०७६ कार्त्तिक २७ गते

महिनावारीले शिक्षिका अनियमित

अछाम । मष्टामाडौं आधारभूत विद्यालय प्रभा डिक्रेनीमा ५ कक्षासम्म पढाइ हुन्छ । त्यहाँ ५० जना विद्यार्थी, २ शिक्षिका र २ शिक्षक छन् । सबै शिक्षक–शिक्षिकाको आफ्नो विषय र समय तालिका छुट्याइएको छ । तर, हरेक महिनाको ४ दिन २ जना शिक्षिका पढाउन आउँदैनन् ।

विद्यालय नजिकै मष्टो देवताको मन्दिर भएकाले देवताकै डरले महिनावारी भएका बेला उनीहरू पढाउन नआउने गरेको विद्यालयका शिक्षक झंकरबहादुर रावतले बताए ।

पुर्खौंदेखि अहिलेसम्म विद्यालय क्षेत्रभित्र कसैले पनि महिनावारी भएका बेला पाइलासमेत नटेकेकाले नआउने गरेको शिक्षिका पशुपति बुढा बताउँछिन् । ‘म महिनावारी भएका बेला स्कुलमा गएर पढाउन कुनै पनि हालतमा सक्दिनँ,’ उनले भनिन्, ‘विद्यालय आउनैपर्छ भने कुनै अर्को ठाउँमा विद्यार्थी राखेर पढाउने विकल्प खोज्नुपर्छ ।’ कुनै दिन महिनावारी स्कुलमा नै भएमा हत्तपत्त निस्किहाल्ने गरेको उनले सुनाइन् ।


‘महिनावारी भएका बेला पढाउन नजाने आफ्नो खुसी होइन, समाजका कारण र देवीदेवताका कारण जानै सकिँदैन,’ अर्की शिक्षिका ज्ञानु ठकुल्लाले भनिन्, ‘बरु अरू रोग लागे उपचार गर्न सम्भव हुन्छ, देवीदेउता लागे जीवनमा निको नहुने क्यान्सर लागेझैं हुन्छ । म जागिर छाड्न तयार छु । यो स्कुलमा आएर पढाउन सक्दिनँ ।’ आफूले कोठा भाडामा लिएर त्यहीँ डिक्रने गाउँमा बस्ने गरेको र महिनावारी हुँदा माइतीघर जानुपर्ने बाध्यता रहेको उनले बताइन् ।


‘सबैभन्दा बढी अछामको छाउपडी मान्ने ठाउँ यही होला,’ उनले डिक्रेनी गाउँलाई लक्षित गर्दै भनिन्, ‘जहिले पनि महिनावारी भएको शंका गर्छन् । बाटो हिँडे पनि गाउँका मान्छे गाली गर्छन् ।’ कि त्यो विद्यालय अन्य ठाउँमा सार्नुपर्ने कि त मन्दिर अन्य ठाउँमा सारे मात्र यहाँका शिक्षिकाले निर्धक्क भएर पढाउन पाउने उनको तर्क छ ।


विद्यालय नजिक मन्दिर भएकाले महिनावारी भएका छात्राहरू पनि एक महिनाको ७ दिनसम्म पढ्न आउँदैनन् । ‘मेडम नै महिनावारी भएका बेला पढाउन आउनु हुन्न भने हामी कसरी आउने रु डर लाग्छ,’ कक्षा ५ मा अध्ययनरत छात्रा ललिता बुढाले भनिन् ।


‘मेडमहरू जहिले पनि महिनावारी सँगै–सँगै हुन्छन् । त्यो बेला २ जना सरहरूले बाल विकासदेखि ५ कक्षासम्म पढाउनलाई समय व्यवस्थापन गर्न सकिँदैन,’ शिक्षक नृप ठकुल्लाले भने, ‘हामीले मेडमहरूलाई एक पटक महिनावारी भएका बेला पढाउन आउनुस् केही भइहालेमा अरू विकल्प खोजौंला भनेका छौं तर उहाँहरू आउन मान्नु हुन्न ।’ देवी–देवताको नाममा विद्यालयको नाम राखेको र धेरैजसो विद्यालय नजिक मन्दिर भएका कारण अछामका धेरै विद्यालयमा महिनावारी हुँदा शिक्षिका र छात्रा विद्यालय नआउने समस्या रहेको शिक्षक ठकुल्ला बताउँछन् ।


अछामका अरू गाउँमा छाउपडी कुप्रथा हटाउने विभिन्न अभियान सुरु हुन थाले पनि डिक्रेनी गाउँमा अहिले पनि छाउपडी गोठ पुरानै संरचनामा बन्न थालेका छन् । ‘अछामको सबैभन्दा ठूलो देवता मष्टो यही गाउँमा छ । छाउपडी घरनजिकै बस, स्कुलमा पढाउन जाऊ भन्न सकिँदैन,’ स्थानीय पूर्णबहादुर भुलले भने ।


एक दशकमा अछाममा छाउगोठमा १२ जना महिलाले ज्यान गुमाउँदा पनि शिक्षिका नै सचेत हुन नसकेको विषयमा बहस हुन थालेको छ भने अर्कोतर्फ विद्यालयमा एक महिनामा २ शिक्षिका पढाउन नजाँदा पढाइ नै नहुने गरेको र यसको विकल्प खोज्नुपर्ने बहस अछाममा हुन थालेको छ । शिक्षिका मात्र होइन, सिद्धेश्वर गाउँका जान्ने बुझ्ने अगुवा महिलासमेत छाउ भएको बेला घर नजिकै बस्न चाहँदैनन् ।


कान्तिपुरमा मेनुका ढुंगानाले लेखेको खबर

Comments: