२०७६ भदौ ६ गते

आंगिकभन्दा १४ गुणा बढी निजी र सामुदायिक क्याम्पस

अन्तैबाट

काठमाडौँ । विश्वविद्यालयहरूका आंगिक क्याम्पसको तुलनामा निजी र सामुदायिक कलेजको संख्या १४ गुणाले बढी देखिएको छ । मुलुकका ११ विश्वविद्यालयमा सबभन्दा धेरै सम्बन्धन पाएर खुलेका निजी क्याम्पस छन् । त्यसपछि सामुदायिक क्याम्पसको संख्या उच्च पाइएको हो ।


१ हजार ४ सय ३ मध्ये ७ सय ७७ वटा उच्च शिक्षा प्रदान गर्ने निजी शिक्षण संस्था सञ्चालित छन् । आंगिक र सामुदायिक क्याम्पसको तुलनामा निजी कलेज दोब्बरभन्दा बढी छन् । विश्वविद्यालय अनुदान आयोगका अनुसार ५ सय ३२ सामुदायिक र ९४ वटा मात्र आंगिक क्याम्पस सञ्चालनमा छन् ।

सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालयले नै सबैभन्दा बढी निजी सम्बन्धन बाँडेको छ । त्रिविअन्तर्गत ५ सय ७७ निजी क्याम्पस सञ्चालित छन् । ५ सय २४ सामुदायिक र ६० आंगिक क्याम्पस रहेको त्रिविले जनाएको छ । २०५१ मा स्थापित पूर्वाञ्चल विश्वविद्यालयले एक सय ३० निजी कलेजलाई सम्बन्धन दिइसकेको छ । यसअन्तर्गत पाँच आंगिक र ६ सामुदायिक कलेज मात्र सञ्चालनमा छन् ।

विश्वविद्यालयहरू शैक्षिक गुणस्तर सुधार गर्नुभन्दा सम्बन्धन वितरण गर्न आकर्षित हुने गरेको तथ्यांकले पुष्टि गर्छ । शिक्षाविद् विद्यानाथ कोइरालाले विश्वविद्यालयहरू सम्बन्धन बाँडेर पैसा कमाउने धन्दामा लागेको बताए । विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस र विद्यार्थीबाट वार्षिक शुल्क लिन्छन् ।

पोखरा विश्वविद्यालयले ५८ वटा निजी कलेजलाई सम्बन्धन दिएको छ । उसका ४ आंगिक क्याम्पस छन् भने सामुदायिकको संख्या शून्य छ । काठमाडौं विश्वविद्यालयका सञ्चालित २१ क्याम्पसमध्ये १५ वटा निजी सम्बन्धन पाएका कलेज छन् । सामुदायिक क्याम्पस नचलाएको काठमाडौं विश्वविद्यालयमातहत ६ वटा आंगिक क्याम्पस छन् ।

नेपाल संस्कृत विश्वविद्यालयका १८ क्याम्पसमध्ये १४ आंगिक, दुई/दुईवटा निजी र सामुदायिक कलेज छन् । २०६१ मा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत ६ क्याम्पस खुलेका छन् । तीमध्ये ५ वटा निजी हुन् ।

विश्वविद्यालय सम्बन्धन प्रक्रियामा पटकपटक विवादित हुँदै आएका छन् । कृषि तथा पशु विज्ञान विश्वविद्यालयले ८ निजी कलेजलाई यस वर्ष सम्बन्धन दिन खोजेको थियो । विद्यार्थी, प्राध्यापकको विरोधपछि उक्त प्रयास सफल हुन सकेको छैन । उसका दुई आंगिक क्याम्पस मात्र सञ्चालित छन् । २०६७ मा खुलेका मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयले अहिलेसम्म निजी सम्बन्धन बाँडेका छैनन् ।

सम्बन्धनका नाममा शैक्षिक संस्थामा विकृति मौलाएको शिक्षाविदको भनाइ छ । ‘विषय, कार्यक्रम र संकाय नभएकाले पनि सम्बन्धन बाँड्ने गरेका छन्,’ कोइरालाले भने, ‘कलेज र विश्वविद्यालयलाई सम्बन्धन विद्यार्थीसित पैसा उठाएर लिने धन्दा भएको छ ।’

तथ्यांकअनुसार आंगिक क्याम्पस ७ प्रतिशत मात्रै छन् । सबभन्दा बढी ५५ प्रतिशत निजी र ३७ प्रतिशत सामुदायिक उच्च शिक्षा दिने शिक्षण संस्था छन् । निजी शिक्षण संस्थाको संख्या दोब्बर भए पनि विद्यार्थीको आकर्षण भने आंगिक र सामुदायिक क्याम्पसमा घटेको छैन । ३५ प्रतिशत विद्यार्थी मात्र निजी कलेजमा पढ्ने गरेका छन् । ३३ प्रतिशत विद्यार्थी आंगिक र ३० प्रतिशत सामुदायिक शिक्षण संस्थामै अध्ययन गर्छन् । ११ वटा विश्वविद्यालयमा ३ लाख ५९ हजार ८ सय विद्यार्थी अध्ययनरत छन्, जसमा ५२ प्रतिशत छात्रा छन् ।

सरकारले विश्वविद्यालयलाई सम्बन्धन स्थगित गर्न यसअघि नै ताकेता गरिसकेको छ । शिक्षा मन्त्रालयले गठन गरेको विश्वविद्यालयहरूको सम्बन्धन सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्गनिर्देशन कार्यदलले पनि सम्बन्धन स्थगित गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै मन्त्रिपरिषद्ले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगले सम्बन्धन दिने प्रक्रिया स्थगित गर्न सिफारिस गरेको छ ।


सम्बन्धन प्राप्त निजी कलेजलाई सेवामूलक बनाउनुपर्ने र सम्बन्धन दिने पद्धति स्थगन गर्नुपर्ने आयोगको सुझाव छ । ‘सम्बन्धन दिनुको अर्थ अनुगमन र गुणस्तर निर्धारण गर्नु हो,’ आयोगका सदस्यसमेत रहेका शिक्षाविद् कोइरालाले थपे, ‘विश्वविद्यालयहरूले यी दुवै काम गर्न सकेका छैनन् ।’

आयोगले संघीय, प्रादेशिक र विषयगत विश्वविद्यालयमा वर्गीकरण गर्न पनि सुझाव दिएको छ । विश्वविद्यालय अनुदान आयोगलाई उच्च शिक्षा आयोगमा रूपान्तरण गरी उच्च शिक्षा प्रदायक संस्थाको नियमनकारी निकाय बनाउन आयोगले सुझाएको छ ।

हाल सम्बन्धन प्राप्त गरी सञ्चालित क्याम्पसको मूल्यांकन/नक्सांकन गरी गाभ्ने तथा छुट्टै संस्थाका रूपमा सञ्चालन गर्ने नीति लिन सरकारलाई सुझाएको हो । मूल्यांकन क्रममा मापदण्ड पुगेका शैक्षिक संस्थालाई स्वायत्तता दिन भनिएको छ ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

Comments: