२०७६ भदौ ६ गते

आफैं प्याड बनाएर प्रयोग गर्द किशोरी

अन्तैबाट

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ की सुनिता बिष्ट महिनावारी भएको बेला आफैंले बनाएको सेनेटरी प्याड प्रयोग गर्छिन्। महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्छ भन्ने जनचेतना भएसँगै आफैंले बनाएर प्रयोग गर्न थालेको उनले बताइन् ।

उनले भनिन् ‘महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्छ भन्ने कुरा हामीले विभिन्न तालिमबाट सिक्यौं। हामीलाई प्याड बनाउने तालिम पनि दिइयो। यसपछि हामीले महिनावारी भएको बेला नियमित रुपमा प्याड प्रयोग गरिरहेका छौं।’

सुर्नया ४ कै राजमती भट्टले पनि महिनावारी भएको बेला आफैंले बनाएको प्याड प्रयोग गर्ने गरेकी छिन्। सुरक्षित महिनावारीको बारेमा आफूलाई ज्ञान भएपछि प्याड प्रयोग गर्न थालेको उनले बताइन्। भन्छिन्, ‘पहिला पहिला गाउँघरमा महिनावारी भएको बेला अलग बस्नुपर्ने चलन थियो। यो चलन बिस्तारै हराउँदै गएको छ। महिनावारी भएको बेला सरसफाइ गर्नुपर्ने कुरा पनि हामी सजक हुन थालेका छौं। हामीले आँफैले प्याड बनाउने सीप सिकेर आफू पनि प्रयोग गर्छौं। अरुलाई पनि सिकाउने गरेका छौं।’

किशोरीहरूलाई सुरक्षित महिनावारीको बारेमा जानकारी गराउन प्याड बनाउने तालिम दिएको सरसरफाईको क्षेत्रमा काम गरिरहेको संस्था आइडीएस नेपालका सुरेन्द्र जैरुले बताए। उनले भने ‘हामीले जिल्लाका विभिन्न ठाउँमा किशोरीहरूलाई प्याड बनाउने तालिम दिएका छौं। यसले उनीहरूलाई सुरक्षित महिनावारीको बारेमा थाहा भएको छ।’

गाउँघरमा रेडिमेड सेनेटरी प्याड नपाइने भएकाले आफूहरूले तालिमबाट प्याड बनाउन सिकेपछि सजिलो भएको सुर्नयाकी निर्मला चन्दले बताइन्। उनले भनिन् ‘हामीले महिनावारी भएको बेला प्याड प्रयोग गर्नुपर्छ भन्ने कुरा सिकेका थियौं। तर सहजै उपलब्ध थिएने। आफैंले बनाउन सिकेपछि सजिलो भएको छ।’

महिनावारी भएको बेला सेनेटरी प्याड प्रयोग गर्नुपर्ने, सरसफाइ रहनुपर्ने कुरा सिकाएपछि महिनावारीसँग सम्बन्धित भ्रमहरू समेत हट्न थालेका डिलाशैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए। उनले भने ‘हामीले पनि गाउँपालिकाभरीका किशोरीहरूका लागि प्याड बनाउने तालिम सञ्चालन गरेका थियौं। यसले किशोरीहरूलाई सजिलो भएको छ भने महिनावारीका बिषयमा भएका गलत भ्रमहरू हट्दै गएका छन्।’

महिनावारी भएको बेलामा प्याड प्रयोग गर्नथालेपछि किशोरीहरूलाई विद्यालयमा जान समेत सजिलो भएको छ। प्याडको प्रयोग गर्न नपाउँदा समस्यामा रहेका किशोरीहरू आफैं प्याड बनाएर प्रयोग गर्न थालेपछि उनीहरू नियमित विद्यालय जान पाएका स्वास्थ्य संयोजक खत्रीले बताए।

महिनावारी भएको बेला प्याडको प्रयोगले महिलाहरूलाई सरसफाइमा रहन सहज हुने स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले बताए। उनले भने ‘महिनावारी भएको बेलामा रगत बग्ने हुन्छ। त्यो बेला सरसफाइमा ध्यान दिइएन भने विभिन्न खालका संक्रमण हुने डर हुन्छ। प्याडको प्रयोगले महिलाहरूलाई सरसफाइमा रहन सहयोग पुर्‍याउँछ।’

पछिल्लो समय ग्रामीण क्षेत्रमा पनि सुरक्षित महिनावारीका विषयमा जानकारी हुन थालेको छ। यसले महिला तथा किशोरीहरूलाई सरसफाइमा रहन सहज भएको सुर्नयाकी मञ्जु भट्टले बताइन्।

भगीरथ अवस्थीले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: