२०७६ कार्त्तिक २७ गते

जुद्धोदय मावि ७९ वर्षमा

 


काठमाडौं । काठमाडौं ठमेल स्थित जुद्धोदय माध्यमिक विद्यालयले एक भव्य समारोहका बीच आफ्नो ७९ वार्षिकोत्सव मनाएको छ । सोमवार विद्यालय परिसरमै केक काटेर ७९ स्थापना दिवस मनाइएको हो ।


सर्वसाधारणका लागि सवैभन्दा पहिले खुलेको यस विद्यालय शैक्षिक र भौतिक पक्षमा उत्कृष्ट रहँदै आएको छ । काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले केक काटेर वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए ।


उद्घाटन समारोहमा बोल्दै जिशिअ सापकोटाले विद्यालयले आफ्नो ऐतिहासिकता र शैक्षिक गुणस्तरलाई कायम राख्दै आएकोमा खुसी लागेको बताए । सामुदायिक विद्यालयको स्तर खस्किदै गइरहेको अवस्थामा जुद्धोदय माविले भने निरन्तर सुधार गर्दै गइरहेको भन्दै उनले अब प्राविधिक शिक्षालाई जोड दिन आग्रह गरे । उनले सेवाक्षेत्रभित्रका एकजना बालबालिका पनि विद्यालय बाहिर नहुने गरी महाभर्ना अभियानमा सरिक हुन समेत विद्यालयलाई आग्रह गरे ।


सामुदायिक विद्यालयको सुधार बिना शैक्षिक रुपान्तरण सम्भव नभएको भन्दै जिशिअ सापकोटाले समृद्ध मुलुक निर्माणका लागि सामुदायिक विद्यालयहरु दक्ष जनशक्ति उत्पादनको आधारशीला बन्नुपर्नेमा जोड दिए ।


कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका शिक्षा शाखाका अधिकृत मोतिप्रसाद भट्टराईले जुद्धोदय माविले आफ्नो गर्विलो इतिहास कायम राख्दै शैक्षिक गुणस्तर सुधार गरिरहेको प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै राम्रो गर्दै जान आग्रह गरे । नेपालकै पहिलो सर्वसाधारणका लागि खुलेको यस विद्यालयले सर्वसाधरणमा शिक्षाको पहिलो बत्ती बाल्न सफल भएको थियो भन्दै भट्टराईले आगामी दिनमा पनि यसले निरन्तरता पाउने आशा व्यक्त गरे ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृतकुमार पुरीले विद्यालय शैक्षिक गुणस्तर सुधारको पक्षमा विगत देखिनै लागिरहेको भन्दै आगामी दिनमा अझै मिहिनेतका साथ अघि बढ्ने बताए । अनुसनधानमुखी, प्रविधि र सिपमूलक शिक्षा नै विद्यालयको आगामी कार्ययोजना रहेकोमा उनको जोड थियो । विगतमा आठ पल्टसम्म एसएलसी परीक्षामा बोर्डटप उत्पादन गरिसकेको यस विद्यालय आजको दिनमा पनि एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल रहँदै आएको उहाँको भनाइ थियो । 'विगतको शैक्षिक इतिहास, धरोहर र इज्जत कायम राख्न विद्यालय सफल रहेको छ । 'उनले भने ।


विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेलले १९९५ चैत्र २६ गते जुद्ध शम्शेरले सर्वसाधारणका लागि पहिलो विद्यालयका रुपमा स्थापना गरेकाले यो विद्यालय यसका आफ्ना आधारभूत र मौलिक विशेषताहरुले गर्दा अन्यभन्दा एकदमै भिन्न रहेको बताए । यो विद्यालय राणाकाल, प्रजातान्त्रिककाल, पञ्चायतकाल र अहिलेको गणतान्त्रिककाल भोग्दै निरन्तर सञ्चालन हुँदै आइरहेकाले यो तीन पुस्तामा चलेको विद्यालय भएकाले यसले नेपालको शिक्षाका हरेक उतारचढाब र परिवर्तनहरु आत्मसात गरेर अस्तित्वमा रहेको जानकारी दिए ।


विद्यालयले विगत देखि नै धेरै बुद्धिजीवि, विज्ञ, राजनीतिज्ञ, व्यापारी, जन्माएको भन्दै पौडेलले ऐतिहासिक अविच्छिन्न गौरव र निरन्तर शैक्षिक उत्कृष्टताले विद्यालयको प्रतिष्ठा उँचो बनाएको दावी गरे ।


विद्यालयका सहायक प्रधानाध्यापक प्रवीण न्यौपानेले विद्यालय शीपयुक्त शिक्षाको पक्षमा रहेकोमा जोड दिँदै आगामी दिनमा विद्यार्थीलाई शैक्षिक सँगै सीपको पनि प्रमाणपत्र दिनेगरी तयारीमा जुटेको बताए । आफुहरुको मुख्य प्रतिस्पर्धा निजी विद्यालयहरुसँग रहँदै आएको भन्दै न्यौपानेले हरेक वर्ष निजी विद्यालय छाडेर आउने विद्यार्थीहरुको संख्या बढीरहेको दावी गरे ।


कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीसँगै नियमित विद्यालय आउने, छोराछोरीको पढाइमा चासो दिने अभिभावकहरुलाई समेत सम्मान र पुरस्कृत गरिएको थियो । विद्यार्थीहरुले विभिन्न सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

 

Comments: