• हिमपात पछिको हावा हुरीबाट भौतिक क्षति बढ्दै
    (राजन रावत/हुम्ला)

  • रलिङ माविको हावाहुरीले छाना उडाएको भवन


    चार दिन लगातार हिमपात पछि आएको हावाहुरीले शिक्षाका भौतिक संरचानामा क्षति पुर्याउने क्रम दिन दिनै बढी रहेको छ । हावाहुरीबाट पछिल्लो क्षति सिमकोट गाउँपालिकाको वडा नम्बर २ को रलिङ माविको विद्यालय भवनको छाना उडाएर क्षति पुगेको हो ।

    एक्कासी लागेको हावाहुरीले विद्यालयको दुई कोठे दुई भवनको छाना उडाएर जमिनमा फालेको विद्यालयका शिक्षक छिमी लामाले बताए ।

    धन्न हिउँदे बिदाको समय भएको कारण मानवीय क्षति नभएको तर विद्यालयलाई भौतिक क्षति भने भएको उनले जानकारी दिए ।

     जस्तापाताका छमनम उडाए पछि बिद्यालय भवन खुल्ला आकाश देखिने भएको उनले बताए ।  छाना उडे पछि खसेका ढुंगाले कक्षा कोठामा रहेका डेस्क र बेञ्चहरु भाँचिएकोले अब फागुन १ गतेबाट विद्यालय सञ्चालन आएपछि पठन–पाठनमा बाधा पुग्ने उनले जानकारी दिए ।

     हिउँ बढी भएको कारण जिल्लामा पनि खबर गर्न नसकिएको विद्यालयले जनाएको छ । सबै भत्केका संरचना हेर्दा करिब आठ देखि दश लाखको क्षति पुगेको र अब चाँडै प्रहरीलाई बोलाएर मुचुल्का तयार गर्न लगाईने शिक्षक लामाले बताए ।

     यो हिमपात पछि यस अघि सिमकोटमा बौद्धिक अपांगता बिद्यालयको होस्टेल, मानसरोबर माविको भवन, खार्पुनाथ गाउँपालिका वडा नम्बर पाँचमा एक जना व्यक्तिको घर भत्कि सकेको छ । गाउँ तिरबाट क्षतिका खबर  आउने क्रम जारी रहेको छ ।