• '६ महिनामा एकचोटि कक्षा’
    (अन्तैबाट)

  • लेखनाथ । पोखराको पुरुन्चौरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा नियमित कक्षा सञ्चालनको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले मंगलबारदेखि क्याम्पसमै रिले अनशन थालेका हुन् ।


    तेस्रो सेमेस्टरमा अध्ययनरत दीपेन्द्र चौहानले पढाउन खटिएका शिक्षक निजी कलेजमा जाने गरेको आरोप लगाए । ‘अरू क्याम्पसमा ६ महिनामा परीक्षा हुन्छ, हाम्रोमा भने ६ महिनामा एकपल्ट कक्षा चल्छ,’ उनले भने, ‘बढ्नु त कता हो कता, भएकै ज्ञान पनि घट्दै छ ।’ छैटौँ सेमेस्टरका रेशम भण्डारीले प्रयोगात्मक कक्षा नहुँदा सैद्धान्तिक ज्ञानका आधारमा मात्रै परीक्षा दिनुपरेको गुनासो गरे । ‘फिल्डमा गएर प्राविधिक कुरा कत्ति पनि सिकिएन, बन्द कोठामा स्लाइडमा हेरियो,’ उनले भने, ‘जसले घोक्यो उसैले नम्बर ल्यायो । सीपको कदर नहुने भयो ।’

    स्रोतसाधन र जनशक्तिको उचित प्रबन्ध नगरी कृषि क्याम्पस सञ्चालन गर्दा बीएस्सी एजीमा अध्ययनरत दुई सय विद्यार्थीको भविष्य अन्योलमा परेको हो । कृषि तथा वन विश्वविद्यालयको यो पहिलो आंगिक क्याम्पस स्थानीय भारतीभवन माविको ५ कोठा भाडामा लिएर चलेको छ । क्याम्पसमा जम्मा २ स्थायी कर्मचारी छन्, एक क्याम्पस प्रमुख र अर्का लेखा अधिकृत । पर्याप्त स्थायी शिक्षक छैनन् । ६ महिनाको पाठ्यक्रम २ महिनामै सकिन्छ । विद्यार्थीका अनुसार प्रयोगात्मक कक्षा लिन प्रयोगशाला छैन । लाइब्रेरीमा खोजेका पुस्तक भेटिँदैनन् । होस्टेलमा बस्नुपर्ने विद्यार्थी बाहिर कोठा भाडामा लिएर बसिरहेका छन् ।

    चौथो सेमेस्टरकी विद्यार्थी सुप्रभा पौडेलले विश्वविद्यालयले भएकैमा राम्रोसँग पूर्वार्धार नबनाई आंगिक क्याम्पस थपेको थप्यै गरेको आरोप लगाइन् । ‘न शिक्षक, न ल्याब, न प्राक्टिकल । लाइब्रेरीमा किताब छैन । न होस्टेल छ । कक्षा कहिले ६ बजे, कहिले १० बजे हुन्छ,’ आक्रोशित हुँदै उनले भनिन्, ‘केही पनि व्यवस्थित छैन । फेसबुकमा कक्षाका प्रतिनिधिको पोस्ट हेरेर क्लास आउनुपर्छ ।’ शिक्षकले जति बेला आफूलाई सुविधा हुन्छ त्यतिबेला पढाउन आउँदा विद्यार्थीको समय बर्बाद भएको उनले बताइन् ।

    विद्याथी सुनील सिग्देलले क्याम्पसमा आधुनिक कृषि प्रविधि केही पनि नभएको गुनासो गरे । ‘मेरो बुबाले पनि कोदालोले खन्ने, मैले पनि कोदालोले खन्ने हो भने मैले किन कृषि पढ्ने ?’ उनले भने, ‘सरकारले कृषिमा आधुनिकीकरण भने पनि व्यवहारमा देखिएन ।’
    अखिल (क्रान्तिकारी) का क्याम्पस अध्यक्ष शिव बस्नेत विश्वविद्यालयका पदाधिकारीले सम्बन्धनप्राप्त निजी कलेजमा लगानी गर्दा सरकारी ओझेलमा परेको दाबी गर्छन् ।

    विश्वविद्यालयले पछि खुलेका पाख्रिबास, धनकुटा, सिन्धुलीका आंगिक क्याम्पसमा पर्याप्त स्थायी शिक्षक पठाएको उनले बताए । प्रवेश परीक्षा दिएर उही प्रक्रियाबाट आएका चितवन र पोखराका विद्यार्थी बीचमै विभेद रहेको उनको भनाइ छ । ‘रामपुर क्याम्पसमा बजेट फ्रिज भएर गएको तर पोखरामा विद्यार्थीले मासिक ३ देखि ५ हजार रुपैयाँ कोठा भाडा तिरेर बस्नुपरेको छ,’ उनले भने, ‘कि हामीलाई रामपुर लगेर पढाओस् । व्यवस्थापन गर्न सक्दैन भने किन राख्ने ?’

    क्याम्पस प्रमुख चन्देश्वर श्रीवास्तवले उपकुलपति, रजिस्ट्रार, डिनलाई शिक्षक पठाउन पटकपटक आग्रह गरेको बताए । ‘विद्यार्थीको माग जायज छ तर शिक्षक नियुक्ति मेरो अधिकार क्षेत्रभित्र पर्दैन,’ उनले भने ।

    उपकुलपति ईश्वरीप्रसाद ढकाल शिक्षक पदपूर्ति गर्न विश्वविद्यालय सेवा आयोगले विज्ञापन गरेको दाबी गर्छन् । ‘सेवा आयोगबाट शिक्षक कर्मचारी आउने हुन्, विज्ञापन भएको छ,’ उनले भने, ‘आयोगको प्रक्रिया लामो भएकाले केही समय लाग्न सक्छ ।’ विद्यार्थीले भने हालसम्म सेवा आयोगले कुनै विज्ञापन नगरेको बताएका छन् ।

    २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले क्याम्पस भवन शिलान्यास र कक्षा शुभारम्भ गरेका थिए । २५ कोठे भवन बल्ल बन्न सुरु भएको छ । क्याम्पसले सुरुआतमै ३९ शिक्षक र ९१ कर्मचारी राख्न विश्वविद्यालय सेवा आयोगमा स्वीकृतिका लागि पठाए पनि हालसम्म पदपूर्ति नभएको हो । दरबन्दी स्वीकृत भइनसकेकाले चितवन, रामपुरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट सातामा २ प्राध्यापक आएर दैनिक ४ कक्षा लिने बताइएको थियो ।

    ती प्राध्यापक समयमा नआउँदा नियमित कक्षा सञ्चालन हुन सकेको छैन । बीएस्सी एजीमा ४ वर्षमा ६५ विषय पढ्नुपर्छ । सैद्धान्तिक र प्रयोगात्मक पढाइ हुन्छ । पूर्ण छात्रवृत्तिमा ४० र ४ वर्षको १ लाख ५० हजार रुपैयाँ बुझाएका १० विद्यार्थी प्रवेश परीक्षामार्फत छनोट हुन्छन् । क्याम्पस सञ्चालनका लागि स्थानीयले २०६९ मा महायज्ञ नै लगाएर ४ करोड बढी रकम र जग्गा जुटाएका थिए । कलेजका लागि स्थानीयले ५० रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

    दीपक परियारले कान्तिपुरमा खबर लेखेका छन् ।