२०७६ भदौ ५ गते

पाठ्यपुस्तकमा छैन छुट

अन्तैबाट


बुटवल । पुस्तक व्यवसायीले पाठ्यपुस्तक खरिदमा छुट नदिने निर्णय गरेका छन्।  देशभरका व्यवसायीले किताब बिक्री गर्ने सिजनमा छुट नदिने निर्णय गर्दा अभिभावकको ढाड सेकिने भएको छ।

किताब छाप्ने कागजको मूल्य वृद्धि र थोक बिक्रेताले कमिसन घटाएको भन्दै फुटकर व्यापारीले छुट नदिने निर्णय गरेका हुन्।  विद्यालय तहका किताब खरिदमा १० देखि १५ प्रतिशतसम्म छुट हुँदै आएको थियो।  यो निर्णयले निजी विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकलाई थप आर्थिक भार बढ्नेछ।

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघले नै छुट नदिने निर्णय गरेको छ।  महासंघमातहत रहने कतिपय जिल्ला शाखाले फागुनदेखि नै लागू हुने गरी छुट प्रतिशतलाई शून्यमा झार्ने निर्णय गरेका छन्।  ‘व्यवसायीलाई मर्का पर्ने भएपछि छुट नदिने निर्णय गरेका हौं, पुस्तक तथा स्टेसनरी महासंघ रुपन्देहीका अध्यक्ष त्रिलोचन ज्ञवालीले भने, ‘अब पुस्तकमा उल्लेख गरिएको मूल्यमै बिक्री हुनेछ। ’ महासंघले आफ्ना सदस्य व्यवसायीलाई निर्णय कार्यान्वयन गर्न कडा निर्देशनसमेत दिएको छ।

पुस्तक व्यवसायीले छुट हटाउने निर्णय गर्न कागजको मूल्यवृद्धि र कमिसनको प्रतिशत कमीलाई आधार बनाएका छन्।  किताब छाप्ने कागजमा ३५ प्रतिशतसम्म मूल्यवृद्धि भएको व्यवसायीको दाबी छ।  मुख्य थोक बिक्रेताबाट पाउँदै आएको करिब ५० प्रतिशत छुट ३५ मा झरेपछि तोकिएकै मूल्यमा पुस्तक बिक्री गर्ने निर्णय भएको हो।

‘थोक बिक्रेताले कमिसन प्रतिशत घटाएपछि साना व्यापारी मूल्य बढाउन बाध्य भएका छौं, रुपन्देहीका एक पुस्तक व्यवसायीले भने, ‘थोक बिक्रेताले हामीलाई दिने १५ प्रतिशत कमिसन घटाए।  अब अभिभावकलाई दिँदै आएको छुट हटाउनुको विकल्प रहेन। ’

सरकारले दुई वर्षअघि पुस्तकको मूल्य निर्धारण गरेको थियो।  मूल्य बढाउन कसरत गरेका प्रकाशकको प्रयास असफल भएपछि कमिसन घटाएको पुस्तक व्यवसायी बताउँछन्।  प्रकाशकहरूले मूल्य समायोजन नभएको र लागत बढेकाले पुस्तकको कमिसन घटाउनुपरेको दाबी गरेका छन्।

नेपाल पुस्तक तथा स्टेसनरी महासंघका पूर्वअध्यक्ष हरि अर्यालले व्यवसायीले पाउने सेवा–सुविधामा कमी आएकाले तोकिएकै मूल्यमा पुस्तक बेच्नुपरेको बताए।  ‘सरकारले मूल्य निर्धारण गरेपछि जताततै महँगी छ तर पुस्तकको मूल्य समायोजन भएन,’ उनले भने, ‘प्रकाशककै निर्णयले अभिभावकसम्मलाई प्रभाव पार्नेछ। ’

सरकारले मूल्य निर्धारण समितिमार्फत पुस्तकको मूल्य निर्धारण गरेको थियो।  रंगिन किताबको प्रतिपेज १ रुपैयाँ ४५ पैसा, दुई कलर मिसिएको १ रुपैयाँ २५ पैसा र एक कलरको १ रुपैयाँ १० पैसा मूल्य निर्धारण भएको छ।  यस वर्ष पुस्तकको मूल्य भने नबढ्ने दाबी गरिएको छ।  छुट नपाएपछि निजी विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकले १० देखि १५ प्रतिशत बढी मूल्य तिर्नु पर्नेछ।  पुस्तकमा छुट नदिने निर्णय देशभर कार्यान्वयन गरिने पूर्वअध्यक्ष अर्यालले बताए।

प्रदेश ५ को बुटवल, दाङ, नेपालगन्जका व्यवसायीले यो निर्णय गरिसकेका छन्।  अभिभावकले भने नाफा कमाउने नाममा ढाड सेक्ने निर्णय भएको भन्दै आपत्ति जनाएका छन्।  रुपन्देहीमा मात्रै करिब १५ करोडको पुस्तक कारोबार हुन्छ।

बोर्डिङलाई कमिसन नदिने

प्रकाशकहरूले पुस्तक बिकाउनकै लागि बोर्डिङलाई दिने कमिसन रोक्ने दाबी गरेका छन्।  गुणस्तरहीन पुस्तक प्रकाशन गर्ने र त्यसलाई बिकाउन कमिसन दिने गरिएको छ।  रुपन्देही प्याब्सनले नै केही वर्षअघि पुस्तक बिक्री गरिदिएबापत भवन निर्माण नै गरेको छ।

‘अब बोर्डिङ स्कुललाई दिने कमिसन पनि शून्यमै झर्नेछ,’ एक पुस्तक व्यवसायीले भने, ‘मूल्य बढेकाले त्यसो गर्नुपरेको हो। ’ तर, विषय शिक्षकलाई कमिसन दिएर प्रभावित पार्ने क्रम भने कायमै छ।  व्यवसायीले चैत १० गतेभित्रै आगामी वर्ष लागू हुने पुस्तक र प्रशासकको विवरण दिन निजी विद्यालयलाई आग्रह गरेका छन्।

लक्ष्मण पोखरेलले अन्नपुर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: