२०७६ कार्त्तिक ३ गते

प्रदेश ५ को बजेटमा शिक्षा: अल्पसंख्यक समुदायका छात्रालाई कक्षा ११ र १२ पढ्न मासिक १ हजार

रोशन क्षेत्री गाउँले/काठमाडौं


काठमाडौं । प्रदेश ५ सरकारले सार्वजनिक गरेको बजेटमा नमूना इसिडि, न्यूनतम शैक्षिक गुणस्तर मापदण्डको तयारी, स्याहार केन्द्रको स्थापना र मुस्लिम तथा अल्पसंख्यक समुदायका छात्रालाई अ.न.मी. तथा अ.हे.व. अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नेलगायतका कार्यक्रम समेटेको छ ।


आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभा वैठकमा ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट प्रस्तुत गर्दै शैक्षिक विकास तथा प्राविधिक शिक्षाको बिकास गर्ने कार्यक्रमअन्तर्गत बालविकासको मापदण्ड, नमूना बालविकास केन्द्र स्थापना, मातृभाषामा पाठ्यक्रम निर्माण र प्रयोग, पुस्तकालय सहयोग, शिक्षण सामग्री विकास र उत्कृष्ट शिक्षक तथा शैक्षिक संस्थालाई प्रोत्साहन समेतका लागि वजेट बिनियोजन गरेका हुन् ।

 

 

प्रदेश ५ को शिक्षावजेटको पूर्णपाठ

 

शिक्षा विकास एवम् अवसरको प्रत्याभूति
१. प्रदेशमा सम्भाव्य सबै विषयमा उच्च शिक्षा एवम् प्राविधिक शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने नीति लिइएको छ । उच्च शिक्षालाई अनुसन्धानमा आधारित गुणस्तरीय र जीवन उपयोगी बनाउन उच्च शिक्षा विकास कार्यक्रमअन्तर्गत प्रदेश विश्वविद्यालय स्थापनाका लागि बजेटको व्यवस्था गरेको छ । प्रदेशका सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तर सुदृढीकरणमा विशेष जोड दिएको छु । सामुदायिक क्याम्पसमा कानून, विज्ञान, व्यवस्थापन र प्राविधिक विषय उच्च तहको पढाइ सञ्चालनका लागि प्रोत्साहन गरिनेछ । उच्च शिक्षातर्फ कूल रु.२३ करोड वजेट विनियोजन गरेको छु ।


२. शैक्षिक विकास तथा प्राविधिक शिक्षाको बिकास गर्ने कार्यक्रमअन्तर्गत बालविकासको मापदण्ड, नमूना बालविकास केन्द्र स्थापना, मातृभाषामा पाठ्यक्रम निर्माण र प्रयोग, पुस्तकालय सहयोग, शिक्षण सामग्री विकास र उत्कृष्ट शिक्षक तथा शैक्षिक संस्थालाई प्रोत्साहन समेतका लागि वजेट बिनियोजन गरेको छ । प्राविधिक तथा बहुप्राविधिक शिक्षालयहरुलाई सहयोग गर्न रु. ५ करोड रकम छुट्याएको छु । कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गरेका विद्यालयलाई गुणस्तर सुदृढीकरणका लागि रु २ करोड ४० लाख व्यवस्था गरेको छु ।


३. सामुदायिक विद्यालयमा अध्ययनरत मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्रालाई कक्षा ११ र १२ मा अध्ययनका लागि मासिक रु. १ हजारका दरले छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाएको छ । यसका लागि रु ४ करोड विनियोजन गरेको छु । यसका अतिरिक्त मुस्लिम तथा अल्पसंख्यक समुदायका छात्रालाई अ.न.मी. तथा अ.हे.व. अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ ।


४. प्रदेशमा न्यूनतम शैक्षिक गुणस्तर मापदण्ड तयार गरी लागू गरिनेछ । प्रत्येक स्थानीय तहमा कम्तीमा १ नमूना विद्यालय निर्माण गरी आवश्यक भौतिक पूर्वाधार, शैक्षिक सामग्री, तालिम र जनशक्ति व्यवस्थापन समेतका लागि स्थानीय तहसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको छु ।


५. आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रको विकास कार्यक्रमको लागि रु. ५७ करोड विनियोजन गरेको छु ।


६. महिलाहरुको अवस्था अध्ययन, नेतृत्व विकास तालिम, सीप विकास तालिम, उत्कृष्ट महिला सहकारी संस्थालाई पुरस्कार, प्रदेशस्तरका एकल महिला सञ्जालसँग अन्तरक्रिया, लैङ्गिक हिंसा र मानव वेचविखन विरुद्धको सचेतना कार्यक्रम समेतका लागि रु. ४ करोड ८६ लाख विनियोजन गरिएको छ । महिला विरुद्ध हुने सवै किसिमका हिंसा, दुव्र्यवहार, भेदभाव र शोषणको अन्त्य गरी घरेलु हिंसामुक्त प्रदेश निर्माणमा जोड दिइएको छ । यसका लागि १२ वटै जिल्लामा घरेलु हिंसा प्रभावितलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रकम व्यवस्था गरेको छु ।


७. प्रदेशमा कार्यरत महिला कर्मचारीका शिशुको लागि शिशु स्याहार केन्द्रको स्थापना, बालसंरक्षण गृहको व्यवस्थापन, बालश्रम र बाल विवाह विरुद्धको सचेतना, बाल अधिकारको संरक्षण, बाल हेल्प लाइन स्थापना समेतका कार्यक्रमका लागि वजेट बिनियोजन गरेको छु ।


८. अपाङ्गता भएका व्यक्तिलाई सीप विकास तालिम, अपाङ्गता अधिकारसम्बन्धी अभिमुखीकरण, महिला, वालवालिका, जेष्ठ नागरिक, यौनिक अल्पसंख्यक, जातीय छुवाछुत विरुद्धको सचेतना अभियान, साइवर अपराधसम्बन्धी सचेतना समेतका कार्यक्रमका लागि रु. २ करोड विनियोजन गरेको छु । अपाङ्गता भएका व्यक्तिहरुवाट उत्पादित सामग्री विक्री केन्द्र स्थापना र सञ्चालनका लागि समेत रकम बिनियोजन गरेको छ ।

Comments: