२०७६ कार्त्तिक ६ गते

३ कक्षा, ३ शिक्षक, ३ विद्यार्थी !

रामेछाप । मन्थली नगरपालिका–६ को नबुघाटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा कक्षा, शिक्षक र विद्यार्थी संख्या बराबर छ । ३ कक्षासम्म अध्ययन हुने यो विद्यालयमा शिक्षक र विद्यार्थी पनि ३–३ जना नै छन् ।

‘पढाउँदा बडो रमाइलो हुन्छ, हामी शिक्षक र विद्यार्थी बराबरी छौं,’ प्रधानाध्यापक सुन्दर बस्नेतले भने, ‘कक्षाकोठामा पस्दा एक शिक्षक र एकै विद्यार्थी हुन्छन् । कहिलेकाहीँ सबैलाई एकै ठाउँमा राखेर पढाउँछौं ।’


नगरपालिकाभित्रकै उक्त विद्यालयमा भवन र फर्निचर भने अभाव छैन । पर्याप्त कक्षाकोठा र फर्निचर हुँदा पनि विद्यार्थी भर्नादर बर्सेनि खस्कँदै गएको छ । विद्यार्थी संख्या धेरै भएका बेला ३४/३५ जना पुगेको तथ्यांक छ । यसरी विद्यार्थी संख्या घटेको भने पहिलो पटक हो ।

यो वर्ष विद्यार्थी भर्ना भएनन् । ३ वर्ष पनि नटेकेकी गाउँकै बालिका युनिका माझीलाई ल्याएर शिक्षकहरूले भर्ना गरिदिए । उनी १ कक्षामा पढछिन् । संघर्ष माझी कक्षा २ का एक्ला विद्यार्थी हुन् । नबुघाटमा माझी समुदायको बसोबास छ । यहाँ २८ घरपरिवार माझी बस्दै आएका छन् ।

सुनकोसी किनारको यो गाउँसम्म पुग्न राम्रो बाटो छैन । नबुघाट र सिन्धुली जोड्ने गरी २ वर्षअघि झोलुंगे पुल बन्यो । पुल बनेपछि विद्यार्थी संख्या घटेको हो । शिक्षिका सुधा माझीले भनिन्, ‘पोहोर ७ जना थिए, अहिले घटेर ३ जना भए, आउने साल त एक जना पनि भर्ना हुने अवस्था छैन । विद्यालय जाने उमेरका गाउँमा बच्चा नै छैनन् ।’

विद्यार्थी संख्या घटेपछि व्यवस्थापन समिति बैठकले केही आकर्षक निर्णय गरेको थियो । प्रधानाध्यापक बस्नेतका अनुसार पोसाक दिनेदेखि अंग्रेजी माध्यमबाट पढाउने निर्णय गरियो । विद्यार्थी बढेनन् । स्थानीय अभिभावक गाउँमा रहेको विद्यालयमा बालबालिका भर्ना गर्नेभन्दा पनि सिन्धुलीको खुर्कोटतिर पठाउन थाले । त्यहाँ अंग्रेजी माध्यममा पढाइ भइरहेको छ । नबुघाटबाट आधा घण्टा टाढाको खुर्कोटमा निजी विद्यालय छन् ।

पञ्चकन्या आधारभूत विद्यालयमा गर्मी मौसममा बिहान पढाइ हुन्छ । बुधबार बिहान भने धेरैबेर विद्यालय खुलेन । विद्यार्थी आएनन् ।

कक्षा २ मा पढ्ने संघर्ष माझी मात्र पुगेका थिए । शिक्षकलाई अल्छी लाग्यो । ‘जाऊ भाइ घर’ भनेर शिक्षक–शिक्षिका हिँडे । शिक्षिका सुधाले भनिन्, ‘एक जना विद्यार्थी आयो, हामी ३ जना छौं, के बस्नु भनेर बेलैमा हिँडिदियौँ, विद्यार्थी तीनै जना आएको दिन हामी बिहान ६ देखि साढे ९ बजेसम्म पढाउँछौं ।’ विद्यार्थी नभएरै होला, भवनका ढोका छैनन् । शौचालय भताभुंग छ । आँगनमा झारपात पलाएको छ । ‘भूत बंगला’ जस्तो लाग्ने विद्यालयमा एउटा सानो साइनबोर्ड छ । शिक्षकको कोठामा भने प्राय: ताला लाग्छ । खुला कोठामा केही जोर डेक्स–बेन्च छन् । शिक्षक जुन कोठामा मन लाग्यो त्यही विद्यार्थी राखेर पढाउँछन् ।

स्थानीय कुमार माझी नबुघाटमा विद्यालय स्थापनाका लागि धेरै प्रयत्न गरे पनि बालबालिकालाई टाई भिर्ने र अभिभावकलाई बोर्डिङमा पढाउने रहरले संकट आएको बताउँछन् ।

कान्तिपुरमा खबर छ ।

Comments: