२०७६ भदौ ३० गते

३ सय ९६ शिक्षक अभाव

सल्यान । दरबन्दीअनुसार शिक्षक व्यवस्था नहुँदा यहाँका सामुदायिक विद्यालयमा पठनपाठन समस्या भएको छ । शिक्षा कार्यालयका अनुसार यहाँका सामुदायिक विद्यालयमा ३ सय ९६ शिक्षक अभाव छन् । प्रत्येक वर्ष शिक्षा सेवा आयोगको पदपूर्ति नखुल्दा र खुले पनि दरबन्दी कम हुँदा कमी भएको हो ।


जिल्लाका ४८ माविमा १ सय १३ र ९१ आधारभूत तहमा २ सय ८३ शिक्षक नपुग भएको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले बताए । उनका अनुसार जिल्लाका ४ सय ४५ सामुदायिक विद्यालयमध्ये आधारभूत तहमा १ हजार ४ सय २३ र माविमा १ सय ५३ गरी १ हजार ६ सय २६ शिक्षक कार्यरत छन् । विद्यार्थी संख्याअनुसार ४० विद्यार्थी बराबर एक शिक्षक कम नदेखिए पनि प्राथमिक तहमा ४ सयभन्दा बढी भएको उनले बताए । ‘जिल्लाका ४ सय ४५ विद्यालयमा ६४ हजार विद्यार्थी छन् । शिक्षक अभावले पठनपाठन प्रभावित भएको छ,’ उनले भने, ‘कतिपयले निजी स्रोतबाट भर्ना गरी काम चलाएका छन् ।’


शिक्षक अभावका कारण प्रत्येक वर्ष कोर्स पूरा नहुने समस्या बढदै गएको जिशिअ सुवेदीले बताए । ‘एसईईमा उत्तीर्ण प्रतिशत घटदै जानु यसको उदाहरण हो,’ उनले भने । प्रावि तहमा ३२ हजार ८ सय ३, निमाविमा १९ हजार ४ सय २२, माविमा १० हजार ६ सय ४१ र ११/१२ मा २ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।


दरबन्दी मिलानमा बारम्बार हुने राजनीतिक हस्तक्षेपले पनि समस्या निम्त्याएको उनले जनाए । २० विद्यालय गाभ्नुपर्ने अवस्थामा रहेको बताउँदै ५६ मा दरबन्दीविहीन भएको कार्यालयले जनाएको छ ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: