२०७६ असोज २ गते

सामुदायिक विद्यालयमा आकर्षण: केहीमा लक्ष्यभन्दा बढी

परासी । पश्चिम नवलपरासीका अधिकांश सामुदायिक विद्यालयमा भर्नाका लागि शिक्षक, अभिभावक घरदैलोमा छन् । जेठ १४ सम्म सरकारले अभियान चलाएर पहुँचभन्दा बाहिरका बालबालिकालाई विद्यालय ल्याउनेछ । सुनवलस्थित देवकोटा माविमा अभियानअगावै लक्ष्यभन्दा बढी भर्ना हुन आएपछि अन्यत्र पठाउनुपर्ने बाध्यता छ ।

 अंग्रेजी माध्यमबाट पढाइ हुने विद्यालयको शैक्षिक गुणस्तर निजीको भन्दा अब्बल भएकाले आकर्षण बढेको हो । टाई, बेल्ट, जुत्तामा सजिएर सन्तान पढ्न जाँदा अभिभावक खुसी छन् ।

केही वर्षअघिसम्म हिचकिचाउने अभिभावक अहिले धमाधम निजीबाट छोराछोरी निकालेर सामुदायिकमा भर्ना गरिरहेका छन् । विद्यालयमा स्वास्थ्यकर्मी छन् । खेलकुद, व्यायामदेखि अतिरिक्त क्रियाकलाप नियमित हुन्छन् । यस वर्ष बालदेखि कक्षा १० सम्म १ हजार १० नयाँ विद्यार्थी भर्ना गर्ने लक्ष्य थियो । समयअघि नै कोटा पूरा भएपछि भर्ना रोक्नुपर्ने अवस्था आयो । कक्षा ९ मा एक सय थप छन् । तीनमा अधिकांश निजी छाडेर आएका हुन् ।

उक्त विद्यालयका प्रअ बाबुराम पाण्डेका अनुसार शैक्षिक गुणस्तर राम्रो भएको, सवारी व्यवस्था र सस्तोमा निजीसरह अंग्रेजी माध्यमबाट पढाइ हुने भएपछि आकर्षण बढेको हो । ‘गुणस्तर हुँदैन भन्ने भ्रम चिरेका छौं,’ उनले भने, ‘भौतिक संरचनाले धान्न नसक्ने गरेर विद्यार्थी ओइरिएपछि भर्ना रोक्नुपर्‍यो ।’ कक्षा ११ र १२ मा विज्ञान, प्राविधिक, कानुनलगायत ५ संकायमा पढाइ हुने भएकाले सीमावर्ती महेशपुरबाट १९ किलोमिटर टाढाको बाटो तय गरेर विद्यार्थी आउने गरेका छन् । विद्यालयले यस वर्ष ‘रिजल्ट बुलन्द वर्ष’ नारा तय गरको छ । संख्याभन्दा गुणस्तर वृद्धिका लागि व्यवस्थापन समिति, स्थानीय तह, अभिभावक र विद्यार्थी मिलेर कार्ययोजना तयार गरेका छन् ।

यो मात्र होइन, यहाँका जनसेवा, रमुवापुर, बर्दघाटको दिव्यज्योति, दाउन्नेदेवी, महात्मा पूर्णभद्र, त्रिभुवन मावि बेलाटारीलगायतमा निजी विद्यालय छाडेर आउनेको लहर छ । यी विद्यालयले ‘सेक्सन’ छुट्याएर कक्षा सञ्चालन गरिरहेका छन् ।

अंग्रेजी कक्षा सञ्चालन गरेकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) सामुदायिकबाटै जिल्ला उत्कृष्ट हुने गरेका छन् । यिनमा कक्षा १ देखि नै नेपाली र अंग्रेजी दुवैबाट पढाइ हुन्छ । पछिल्ला ३/४ वर्षदेखि यस क्षेत्रका सामुदायिक विद्यालयले स्थितिमा सुधार ल्याएपछि निजीलाई विद्यार्थी पलायन रोक्न हम्मे–हम्मे परेको हो ।

सुनवलका दीपक खनालका अनुसार अभिभावकले छोराछोरीको शैक्षिक गुणस्तरका लागि सम्झौता गर्न सक्दैनन् । पहिले सामुदायिकको अवस्था नाजुक भएकाले चर्को मूल्य तिरेर निजीमा भर्ना गर्ने गरिन्थ्यो । अहिले गुणस्तर अब्बल, प्रविधिको प्रयोग र नयाँ पुस्ताका शिक्षक प्रवेशले धमाधम सामुदायिकमा भर्ना बढेको खनालले बताए । ‘हामीलाई गुणस्तर चाहिएको हो,’ उनले भने, ‘निजीमा एक महिनामा लाग्ने शुल्कले सामुदायिकमा वर्षभरि पढ्छन् ।’ पूर्वी र पश्चिम नवलपरासीमा अहिले १ सय ७८ विद्यालयमा अंग्रेजी कक्षा सञ्चालनमा छन् । यी विद्यालयले अंग्रेजी कक्षा सञ्चालन गरेको देखेर छिमेकी जिल्ला पाल्पा, रूपन्देही, कपिलवस्तु र तनहुँका विद्यालयले समेत अंग्रेजी माध्यममा पढाइ थालेका छन् ।’

जिल्लामा करिब ५ सय सामुदायिक विद्यालय छन् । पर्याप्त पाठ्यपुस्तक, भौतिक संरचना र शिक्षक दरबन्दी अभावले अंग्रेजी पढाउन सकेका छैनन् । शिक्षा समन्वय इकाइका सूचना अधिकारी तोयानाथ लम्सालका अनुसार जिल्लाका कतिपय सामुदायिक विद्यालय मुलुककै नमुना छन् । शिक्षा कार्यालय, अभिभावक, शिक्षक र विद्यार्थीको संयुक्त प्रयासले शैक्षिक गुणस्तरमा कायापलट भएको उनले बताए ।

कान्तिपुरमा खबर छ ।

Comments: