२०७६ असोज २ गते

सरकारी विद्यालयमा ड्रपआउट धेरै

हेटौंडा  । सरकारी विद्यालयमा शैक्षिकसत्रको बीचमै पढाइ छाड्ने विद्यार्थीको संख्या अत्यधिक रहने गरेको छ । विभिन्न घरायसी समस्याको बहानामा विद्यार्थीहरूले बीचमै पढाइ छाड्ने गरेका छन् । हेटौंडा नगरक्षेत्रका विद्यालयमा समेत विद्यार्थी बालबिवाह गरेर पढाइ छाड्ने गरेका छन् ।

 हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा यस वर्ष कक्षा ९ मा भर्ना भएकामध्ये ४५ विद्यार्थी परीक्षामा सहभागी भएनन् । केहीले बसाइँसराइका कारण विद्यालय छाडेका छन् भने केही एउटै कक्षाबाट प्रेमविवाह गरेर विद्यालय छाडेको विद्यालयका सहायक प्रध्यानाध्यापक सागरप्रसाद खतिवडाले बताए ।

कक्षा ९ मा २ सय ५ विद्यार्थी भर्ना भएकोमा १ सय ६० मात्र परीक्षामा सहभागी भएका थिए । ‘एउटै कक्षाबाट त्यति धेरै विद्यार्थीले एकैपटक छाड्नु सोचनीय विषय हो,’ उनले भने । विद्यालयमा भर्ना भएका विद्यार्थीहरूले बिनाजानकारी कक्षा छाडेका छन् । सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने अधिकांश विद्यार्थी न्यून आर्थिक अवस्थाका हुने भएकाले पनि समस्या भएको छ । अभिभावकलाई पनि पढाउनुपर्छ भन्ने ज्ञान नभएकाले बिचमै पढाइ छाड्ने गरेको शिक्षकहरूको जिकिर छ ।

गत शैक्षिकसत्रमा सिद्धार्थ माविमा प्रारम्भिक बालविकास कक्षा (ईसीईडी) देखि १० कक्षासम्म ८४ जनाले बीचमा नै पढाइ छाडेका थिए । यस्तै, खुलातर्फ १ सय ८ विद्यार्थी भर्ना भएकोमा ८६ जनाले मात्र परीक्षा दिएका थिए । कक्षा ८ मा भर्ना भएका १ सय २० विद्यार्थीमध्ये १ सय १३ मात्र परीक्षामा सहभागी भए । उक्त विद्यालयमा २ कक्षासम्मका बालबालिकाका निम्ति दिवा खाजाको समेत व्यवस्था भएकाले साना कक्षाका विद्यार्थी भने नियमित विद्यालय आउने गरेको सहायक प्रधानाध्यापक खतिवडाले बताए । यो शैक्षिक सत्रदेखि ३ कक्षासम्म दिवा खाजाको व्यवस्था गरेको छ ।

हेटौंडा–५, पिप्लेस्थित बालज्योति माविमा प्रारम्भिक बालविकास कक्षादेखि १० सम्म ५ सय २४ विद्यार्थी भर्ना भएका थिए । जसमध्ये ४ सय २२ मात्र वार्षिक परीक्षामा सहभागी भए । हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा भर्ना भएका ३ सय ४३ मध्ये २ सय ६३ ले मात्रै वार्षिक परीक्षा दिएका थिए । भर्ना भएर वार्षिक परीक्षामा सहभागी हुने समयसम्ममा श्रमिक माविका ८० विद्यार्थीले पढाइ छाडे । कक्षा ६ र ७ मा १/१ जना र कक्षा ९ र १० मा ४/४ विद्यार्थीले विवाह गरेर विद्यालय छाडे । मकवानपुरमा एक कक्षामा १ सय विद्यार्थी भर्ना भएको अवस्थामा एसईई परीक्षामा मुस्किलले २८ विद्यार्थी मात्र सहभागी हुने गरेको शिक्षा कार्यालय मकवानपुरका सहायक शिक्षा अधिकारी शम्भुप्रसाद पौडेलले वताए ।

शिक्षा कार्यालयको तथ्यांकअनुसार जिल्लामा ७२ प्रतिशत ड्रपआउट रहेको छ । नगर क्षेत्रका सरकारी विद्यालयमा ड्रपआउटको प्रतिशत अलि कम छ । ‘गरिबी, अशिक्षा, खाद्य असुरक्षा, विद्यालय टाढा र बालमैत्री पढाइको अभावले गर्दा विद्यालय छाड्ने विद्यार्थीको संख्या अर्थात् ड्रपआउट बढी हुने गरेको हो,’ हेटौंडा ६ स्थित वंशगोपाल माविका प्रधानाध्यापक रमेश लामिछानेले भने, ‘ड्रपआउट न्यूनीकरण गर्न सबै पक्षको संयुक्त प्रयास जरुरी छ ।’ मकवानपुरको दुर्गम राक्सिराङ र कैलाश गाउँपालिकाको सरकारी विद्यालयको ड्रपआउट दर कहालीलाग्दो छ । एक कक्षामा सय जना विद्यार्थी भर्ना भए भने मुस्किलले १२ जनाले मात्र एसईई परीक्षा दिने गर्छन् । राक्सिराङस्थित काँकडाको सिलिङे माविका प्रअ तारानाथ दुवाडीका अनुसार यो क्षेत्रका विद्यालयमा ड्रपआउटको दर धेरै छ । यस क्षेत्रका बासिन्दा गरिबी, अशिक्षा, खाद्य असुरक्षालगायत भारले पुस्तौंदेखि थिचिएका छन् ।

कान्तिपुरमा खबर छ ।

Comments: