२०७६ असोज २ गते

त्रिविका आंशिक प्राध्यापकद्वारा कक्षा बहिष्कार

काठमाडौँ  । दैनिक ज्यालादारीमा अध्यापन गराइराखेका प्राध्यापकले करार नियुक्ति माग गर्दै कक्षा बहिष्कार गरेपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा सातादेखि पठनपाठन प्रभावित भएको छ ।

आंशिक प्राध्यापक संघले सरकार र विश्वविद्यालयसँग भएको पूर्वसहमतिअनुसार दैनिक ज्यालादारीमा पढाइरहेका प्राध्यापकलाई मासिक ज्यालादारीमा नियुक्त गर्नुपर्ने माग गरेको छ ।

‘दैनिक ज्यालामा पढाइरहेका छौं, मासिक ज्याला चाहियो भनेर कक्षा बहिष्कार गरेका हौं,’ संघका अध्यक्ष महेशकुमार गजुरेलले भने । करिब १५ सय प्राध्यापकले कक्षा बहिष्कार गर्दा पढाइ प्रभावित भएको विद्यार्थीले गुनासो गरेका छन् ।

वैशाख १६ देखि पढाउन छाडेको गजुरेलले जानकारी दिए । उनले भने, ‘सरकार र विश्वविद्यालयले पटक–पटक करार नियुक्ति गर्ने भनेर प्रतिबद्धता जनाए पनि त्यसअनुसार काम नभएकाले पढाउन छाडेका हौं ।’

समान कामको समान ज्याला दिनुपर्ने उनको माग छ । ‘समान कामको समान ज्याला हुनुपर्छ, पूर्णकालीन प्राध्यापकसरह पढाउँदा पनि हामी प्रतिकक्षा ३ सय ६ रुपैयाँमा चित्त बुझाउन बाध्य छौं,’ उनले भने । विश्वविद्यालयमा दैनिक ज्यालादारी, मासिक करार र स्थायी गरी तीन प्रकारका प्राध्यापक छन् ।

संघले विज्ञप्ति प्रकाशित गरी १ हजार ४ सय २० आंशिक प्राध्यापकको दरबन्दी स्वीकृत गरी करार नियुक्ति गर्ने अघिल्लो मन्त्रिपरिषदको निर्णय विश्वविद्यालयले कार्यान्वयन नगरेका कारण अनिश्चितकालीन कक्षा बहिष्कार घोषणा गरिएको जनाएको छ ।

कान्तिपुरमा खबर छ ।

Comments: