२०७६ असोज २ गते

निजी विद्यालयमा बढेको शुल्क फिर्ता गर्ने सहमति


काठमाडौं । निजी विद्यालयहरुले मनोमानी ढंगमा बढाएका शुल्क फिर्ता गर्ने सहमति जुटेको छ । आन्दोलनरत विद्यार्थी र सरकार बीच ५ बुंदे सहमति भएको हो ।


शनिवार शिक्षा विभागमा भएको शिक्षामन्त्री, निजी विद्यालय सञ्चालक, विद्यार्थी संगठन, स्थानीय तहका जनप्रतिनिधि, अभिभावक र शिक्षा सचिव सहितको वार्तामा निजी विद्यालयहरुले बढाएको शुल्क फिर्ता गर्ने सहमति भएको हो । बढेको शुल्क फिर्ता गर्न भन्दै लामो समय देखि विद्यार्थी संगठनहरु चरणवद्ध आन्दोलनमा थिए । उनीहरुले यसैको विरोध स्वरुप वुधबार देशभरका प्याब्सन र एन प्याब्सनका कार्यालयहरुमा र बिहीवार शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको कार्यकक्षामा तालावन्दी गरेका थिए । त्यस्तै शुक्रवार निजी विद्यालयको शुल्क नियन्त्रण गर्ने अधिकार पाएर पनि निदाएको भन्दै निन्द्राबाट ब्युझ्याउन स्थानीय तहका प्रमुखका कार्यकक्षमा सिटी जुलुस सहित प्रदर्शन गरेका थिए ।


शनिवार यसै विषयमा छलफल गर्न भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, शिक्षा सचिव, उपत्यकाका महानगर/नगरपालिकाका प्रमुखहरु, विद्यार्थी संगठनका पदाधिकारीहरु, प्याव्सन, एनप्याव्सनका अध्यक्ष, अभिभावकका संगठनका अध्यक्षहरु, शिक्षा मन्त्रालय र अन्तर्गतका पदाधिकारी सहित वार्ता भएको थियो ।


संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ लाई कार्यान्वयन गर्दै गैर कानुनी रुपमा बढाईएको शुल्क फिर्ता र समायोजन गर्ने, दश प्रतिशत छात्रवृती पारदर्शी गरी सूचना पाटीमा टाँस्ने सहमति भएको हो ।


यसैगरी, निर्देशिका पालना गराउन अनुगमन समिति वनाई स्थानीय तहवाट अनुगमन गर्न मन्त्रालयले सहजिकरण गर्ने र विद्यालय हाताभित्र झोला ड्रेस पाठ्यपुस्तक विक्रिवितरण तत्काल रोक्ने सहमति भएको छ । यस्तै, विद्यार्थी संगठनहरुको संघर्षको सम्पुर्ण कार्यक्रम शनिवारदेखि फिर्ता गर्ने समेत सहमति भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।


वार्तामा शिक्षामन्त्री गिरीराजमणी पोखरेल, शिक्षा सचिव खगराज बराल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, अखिल(क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियु कावा अध्यक्ष महेश वर्तौला, नेविसंघ अध्यक्ष नैनसिंह महर, अखिल(छैठौं)का अध्यक्ष विमल पोखरेल, प्याब्सनका अध्यक्ष विजय सम्वाहाम्फे, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा, राष्ट्रिय अभिभावकसंघका अध्यक्ष धर्मदत्त देवकोटा लगायतको सहभागिता रहेको थियो ।

 

 

Comments: