२०७६ असोज २ गते

१. नेपालमा जनवादी शिक्षा सम्भव छ ? यस्तो छ उत्तर कोरियाको शिक्षा प्रणाली

 

 

 

 

 

 

 

 

यादव आचार्य


दोस्रो विश्वयुद्धसँगै कोरिया दुईभागमा बाँडियो । कोरियाको उत्तरपट्टिक भाग सोभियत सङ्घका सैनिकको कब्जामा आयो । दक्षिणपट्टिको भाग अमेरिकी सैनिकको कब्जामा गयो । सन् १९४५ मा यी दुई भाग दुई वटा देशको रूपम जन्मिए । सन् १९४८ मा किम इल सुङले नेतृत्व गरेको कोरियन वर्कस पार्ट (KWP) बलियो बन्यो । सोभियत सङ्घको पूर्ण सहयोगमा सुङले जनवाद गणतन्त्र कोरिया घोषणा गरे । कम्युनिस्ट पार्टीको सत्ता आयो । समाजवाद स्थापना भयो । समाजवादी अर्थतन्त्र लागु भयो । उद्योग धन्दाको विकास जोड दिइयो । सामूहिक कृषि प्रणाली अपनाइयो । माक्र्सवादी–लेनिनवाद राजनीतिक विचारलाई मुख्य आदर्श बनाइयो । जुच्छे (Chuch's) विचारलाई आत्मसात गरियो । Chuch's को अर्थ सदैव कोरियन चिज वा अवस्थालाई प्राथमिकता दिने हुन्छ । यिनै विचारहरूले उत्तर कोरियाको राजनीति, अर्थतन्त्र, राष्ट्रिय सुरक्षा, शिक्षा र विदेश नीति आदिलाई निर्देशित गर्यो ।


उत्तर कोरियाको जन्मसँगै सोभियत ढाँचाको शिक्षा लागु गरियो । शिक्षामा पनि माक्र्सवाद–लेनिनवाद र जुच्छे विचारधारा हावी भयो । त्यहाँ राज्य र पार्टीले शिक्षाको सम्पूर्ण जिम्मा लियो । निजीकरणको गन्ध समेत आउन दिइएन ।


शिक्षाको नीति, पाठ्यक्रम, विधि, संरचना आदि तयार गर्ने, मान्यता दिने र कार्यान्वयन गर्ने काम कम्युनिस्ट पार्टीले गर्यो । सुङ (१९७५ इ.सं.) भन्छन् राजनीतिक र विचारधारात्मक शिक्षा नै समाजवादी शिक्षाको एउटा महत्त्वपूर्ण कसी हो । उनको विचारमा उपयुक्त राजनीतिक र वचारधारात्मक शिक्षाको माध्यमबाट विद्यार्थीहरूलाई क्रान्तिकारी बनाउन सकिन्छ। क्रान्तिकारी र वैज्ञानिक विश्वदृष्टिकोणबाट ओतप्रोत गराउन सकिन्छ । कम्युनिस्ट गुण र चरित्रको विकास गराउन सकिन्छ । यिनै विचारहरूका आधारमा उत्तर कोरियाको शिक्षा प्रणाली सञ्चालित छ।


उत्तर कोरियामा १५ वर्ष सम्मको शिक्षा निःशुल्क, अनिवार्य र सर्वव्यापी बनाइएको छ । यो उमेरसम्मकालाई किताब, पोशाक र अन्य आवश्यक सामग्री समेत निःशुल्क उपलब्ध गराइन्छ । विद्यालय शिक्षालाई प्राथमिक र माध्यमिक गरी दुई भागमा बाँडिएको छ । २ वर्षे किन्डरगार्डन, ४ वर्षे प्राथमिक विद्यालय (पिपल्स स्कुल) र ६ वर्षे मिडिल स्कुल (माध्यमिक विद्यालय)को व्यवस्था गरिएको छ। यसका साथै अन्धा, बहिरा, शारीरिक र मानसिक रूपमा फरक क्षमता भएका र अनाथहरूका लागि विशेष विद्यालयको व्यवस्था छ ।

उनीहरूलाई आवासीय सुविधा पनि छ। यहाँको विद्यालय तहमा राजनीतिक उन्मुख विषयहरू पढाइन्छ । महान् किम इल सुङ ,कम्युनिस्ट चरित्र, कम्युनिस्ट पार्टीका नीति तथा कार्यक्रमहरू आदि आदर्शहरू पढाइन्छ।


११ वर्षे अनिवार्य विद्यालयीय शिक्षा पुरा गरेकाहरू उच्च शिक्षा र विशिष्टीकृत शिक्षामा भर्ना हुन पाउँछन् । महाविद्यालय र विश्वविद्यालयहरू औपचारिक उच्च शिक्षा प्रदान गर्ने संस्थाहरू हुन् । यिनीहरूले सामान्य र प्राविधिक शिक्षा प्रदान गर्दछन् । यसका साथै केही अनौपचारिक उच्च शैक्षिक संस्थाहरू पनि अस्तित्त्वमा छन् । यिनीहरूले काम गर्दै पढ्दै गर्नेहरूलाई अध्ययनको सुविधा दिन्छन् । यस्ता अनौपचारिक उच्च शैक्षिक संस्थाहरुमाFactory Colleges, Farm Colleges, Fishermen's College,Correspondence Colleges हरू पर्दछन् ।


यिनीहरूले आ–आफ्ना कामदार हरूलाई शिक्षा प्रदान गर्दछन् । उत्तर कोरियाको महाविद्यालयमा भर्ना हुनकालागि निर्धारित अनिवार्य शैक्षिक सेवा गरेको हुनुपर्दछ । साथै कामको अनुभव भएको सिफारिस पत्र समेत अनिवार्य गरिएको छ ।


यहाँको शिक्षा प्रणालीमा बहुप्राविधिक शिक्षाका सिद्धान्तहरू प्रयोग गरिएको छ। शिक्षा र उत्पादनमुखी कामलाई सँगै लगिएको छ । विद्यार्थीहरूलाई श्रम गर्न अनिवार्य गरिएको छ। त्यहाँ श्रमको सम्मान गर्न सिकाइन्छ।


सुङले सामाजिक शिक्षामा पनि जोड दिएका छन् । सोही आधारमा उत्तरकोरियामा विभिन्न अतिरिक्त क्रियाकलापहरू, सांस्कृतिक अध्ययन, सामूहिक कार्यको संस्कृति आदिलाई औपचारिक शिक्षामा समावेश गरिएको छ । यसका साथै पारिवारिक जीवन, मानवीय सम्बन्ध, सह–सम्बन्ध र समुदाय व्यवहार आदि पनि सिकाइन्छ । यहाँ एउटा महत्त्वपूर्ण व्यवस्था के छ भने त्यहाँ सयौंको सङ्ख्यामा बाल उद्यानहरू स्थापित गरिएका छन् । ती उद्यानहरूमा सयौंको संख्यामै विभिन्न व्यवसायसँग सम्बन्धित क्रियाकलापहरू हुन्छन् । बाल बच्चाहरू पालैपालो आफ्नो रुची अनुसार ती क्रियाकलाप गर्छन । सामग्री चलाउँछन् । जस्तै कपडा काट्ने, बुन्ने, फोटो खिच्ने, खेती गर्ने, गाडी चलाउने आदी । यी सबै क्रियाकलापको रेकर्ड गरिन्छ। बच्चाले जुन क्रियाकलापमा बढी रुची देखाउँछन् सोही अनुसारको व्यवसाय रोज्न पाउँछन् । यसले आफ्नो अन्तर्निहित क्षमता र रुची पत्ता लगाउन सहयोग गर्छ । यही आधारमा उसलाई माथिल्लो शिक्षा प्रदान गरिन्छ।


यहाँ साक्षरता शिक्षालाई पार्टी र राज्यको दायित्व मानिएको छ । औपचारिक र अनौपचारिक दुबै रूपमा प्रौढ शिक्षा सञ्चालन गरिन्छ । व्यवहारिक रूपमा सबै नागरिक कुनै न कुनै तरिकाले शैक्षिक गतिविधिमा समावेश हुन्छन् । साना अध्ययन समूहहरू निर्माण गरिएका छन् । प्रौढहरू समूहमा पढ्दछन् । अनुभव साट्छन् । एक आपसबाट सिक्छन् । त्यहाँ पार्टीका कार्यकर्ता साक्षरता अभियानमा परिचालित भए। उनीहरू गाउँमा गए । निरक्षरलाई साक्षर बनाए । सरकारले कामदारहरूको लागि काम गर्ने ठाउँमै दिनको २ घण्टा पढ्ने समय छुट्याई दिएको छ। शिक्षक र अन्य बिद्वान्हरूले त्यहाँ कक्षा लिन्छन् । अध्ययन अध्यापनमा सेल्फ डिस्कभरी मेथडको प्रयोग, छलफल, प्रयोगशाला कार्य, यूरिस्टिक विधि आदि बढी प्रचलनमा ल्याईएको देखिन्छ ।

 

-हामीले 'के नेपालमा जनवादी शिक्षा सम्भव छ ?' भन्ने नयाँ स्तम्भ शुरु गरेका छौं । यसमा हामी शुरुमा लेखकको अनुमति लिएर 'जनवादी शिक्षा' नामक पुस्तकका अंशहरु प्रकाशित गर्दै जानेछौं । आशा छ पाठकहरुलाई यसले नयाँ खुराक प्रदान गर्ने छ । नीति निर्माण तहमा समेत यसले सहयोग गर्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ ।

-सम्पादक

 

Comments: