२०७६ कार्त्तिक २९ गते

राज्यको लगानीअनुसार छैन विद्यार्थीको सिकाइ

प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ औसतभन्दा कमजोर
तीनवटा प्रदेशका विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर देखिएको छ । राज्यको लगानीअनुसार उपलब्धि नभएको शिक्षा मन्त्रालयकै ठहर छ । मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)ले गरेको अध्ययनअनुसार प्रदेश १, २ र ६ का विद्यार्थीको सिकाइ उपलब्धि औसतभन्दा कमजोर रहेको पाइएको हो ।

 इआरओले सन् २०१७ मा कक्षा ८ को नेपाली, गणित र विज्ञान विषयमा विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा)को प्रतिवेदनले सिकाइको अवस्था कमजोर रहेको प्रस्ट पारेको छ । सबै विषयको राष्ट्रिय औसत ५०० अंक निर्धारण गरी भएको अध्ययनमा नेपाली विषयमा प्रदेश १, २, ६ र ७ कमजोर पाइएका छन् ।

नेपाली विषयमै चार प्रदेश कमजोर
नेपाली विषयमा चारवटा प्रदेशको उपलब्धि औसतभन्दा कमजोर छ । नेपालीमा प्रदेश १ को उपलब्धि ४९२, प्रदेश २ को ४७८, प्रदेश ६ को ४९२ र प्रदेश ७ को औसत उपलब्धि ४९६ छ । प्रदेश ३ को ५१८, प्रदेश ४ को ५११ र प्रदेश ५ को उपलब्धि ५०१ छ ।

गणितमा तीन र विज्ञानमा पाँच प्रदेश कमजोर
गणित विषयमा प्रदेश १, ६ र ७ कमजोर पाइएका छन् । प्रदेश १ ले ४८६, ६ ले ४६७ र प्रदेश ७ ले ४८० अंक प्राप्त गरेका छन् । औसतभन्दा माथि अंक प्राप्त गर्नेमा प्रदेश २, ३, ४ र ५ छन् । विज्ञान विषयमा प्रदेश १, २, ५, ६ र ७ ले औसत अंक पनि प्राप्त गरेका छैनन् । प्रदेश १ ले ४८३, प्रदेश २ ले ४८८, प्रदेश ५ ले ४९८, प्रदेश ६ ले ४८४ र प्रदेश ७ ले ४८८ अंक प्राप्त गरेका छन् । विज्ञानमा प्रदेश ३ र ४ ले मात्र औसतभन्दा बढी अंक प्राप्त गरेका छन् । प्रदेश ३ ले ५२९ र ४ ले ५१८ अंक प्राप्त गरेका छन् ।

४६ हजार दुई सय ६६ मा अध्ययन
इआरओले सातै प्रदेशका ४६ हजार दुई सय ६६ विद्यार्थीमा अध्ययन गरेको थियो । कुल ४८ हजार ११ विद्यार्थी छनोट गरे पनि केही विद्यार्थी अध्ययनका क्रममा घटेका थिए । अध्ययनमा प्रदेश १ बाट ६ हजार सात सय ६३, प्रदेश २ मा पाँच हजार नौ सय ४२, प्रदेश ३ बाट आठ हजार पाँच सय ४८, प्रदेश ४ बाट पाँच हजार चार सय ४९ विद्यार्थी सहभागी थिए । त्यसैगरी, प्रदेश ५ बाट नौ हजार छ सय ३६, प्रदेश ६ बाट चार हजार तीन सय ६ र प्रदेश ७ बाट पाँच हजार ६ सय २२ विद्यार्थी सहभागी थिए ।

थोरै काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो
इआरओको अध्ययनअनुसार कामै नगर्ने र धेरै काम गर्ने विद्यार्थीको तुलनामा केही समय काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो देखिएको छ । एकदेखि दुई घन्टासम्म घरायसी काम गर्ने विद्यार्थीको उपलब्धि राम्रो देखिएको छ । घरमा काम नै नगर्नेले नेपाली विषयमा ४९६, एक घन्टाभन्दा कम काम गर्नेले ५०३, एक घन्टादेखि दुई घन्टा काम गर्नेले ५०७ , दुईदेखि चार घन्टा काम गर्नेले ४९४ र चार घन्टा र चार घन्टाभन्दा बढी काम गर्नेले ४६९ अंक प्राप्त गरेका छन् ।

आमाको शैक्षिक योग्यताबाट सिकाइ प्रभावित
अभिभावकको शैक्षिक योग्यताले बालबालिकाको सिकाइ उपलब्धिमा प्रभाव पारेको पाइएको छ । निरक्षर अभिभावकका छोराछोरीको उपलब्धि औसतभन्दा कम छ । स्नातक तहको योग्यता भएका अभिभावकका छोराछोरीको उपलब्धि सबैभन्दा राम्रो पाइएको छ । त्यसमा पनि आमाको शैक्षिक योग्यताको प्रभाव बढी रहेको पाइएको छ । त्यसैगरी, अभिभावकको पेसाले पनि विद्यार्थीको उपलब्धिलाई प्रभाव पारेको पाइएको छ । शिक्षण, सरकारी जागिर, व्यापार र श्रमिकका छोराछोरीको उपलब्धि औसतभन्दा बढी पाइएको छ ।

लगानीको प्रतिफल आएन : इआरओ प्रमुख पौडेल
सरकारले गरेको लगानीको उपलब्धि कम भएको विश्लेषण गरेको छ । इआरओ प्रमुख लेखनाथ पौडेलले सरकारले गरेको लगानीअनुसार ५ वर्षको अवधिमा शिक्षामा कुनै उपलब्धि नभएको पाइएको बताए । सरकारले गरेको लगानीमा सुधार गर्नुपर्ने पर्याप्त ठाउँ भएकाले सम्बन्धित निकायले पहल गर्नुपर्ने उनको भनाइ छ ।

किन सुधार भएन अध्ययन गर्छौँ : शिक्षासचिव
शिक्षासचिव खगराज बरालले शिक्षामा गरेको लगानीअनुसार सुधार नआएको विषयमा अध्ययन गर्ने बताए । हरेकपटकको अध्ययनमा सुधार नदेखिएकाले खोजीको विषय रहेको उनले बताए । बरालले भने, ‘यो नतिजाले घच्घच्याउनुपर्छ ।’ सामुदायिक विद्यालयको संख्या धेरै भएको र संस्थागत विद्यालयको लगानीको उपलब्धि स्वाभाविक भएको उनको भनाइ छ ।

शिक्षकको नियमितता पाइएन
प्रतिवेदनले शिक्षाको नियमितता नरहेको उल्लेख गरेको छ । अध्ययनका क्रममा ४१.५ प्रतिशत शिक्षकहरू विद्यालयमा ढिला आउने र छिटो जाने गरेको पाइएको छ । झन्डै ५३ प्रतिशत शिक्षक पूर्वसूचनाविना अनुपस्थित हुने गरेका छन् । झन्डै ५८ प्रतिशत शिक्षकले सबै समय कक्षामा बिताउँदैनन् । ८० प्रतिशत शिक्षकले फोहरी शब्द प्रयोग गर्ने र त्यतिकै प्रतिशतले विद्यार्थीलाई भौतिक रूपमा सजाय दिने गरेको पाइएको छ ।

लगानीको प्रतिफल आएन


डा. लेखनाथ पौडेल,
प्रमुख, इआरओ
सरकारले गरेको लगानीअनुसार उपलब्धि कम भएको विश्लेषण गरेको छ । इआरओ प्रमुख लेखनाथ पौडेलले सरकारले गरेको लगानीअनुसार ५ वर्षको अवधिमा शिक्षामा कुनै उपलब्धि नभएको बताए । सरकारले गरेको लगानीमा सुधार गर्नुपर्ने पर्याप्त ठाउँ भएकाले सम्बन्धित निकायले पहल गर्नुपर्ने उनले बताए । बिहीबार सार्वजनिक गरिएको प्रतिवेदनमा वास्तविक अवस्थाको अध्ययन गरी सुझाब दिइएको उनले बताए ।

भनावीश्वर गौतमले नयाँपत्रिकामा खबर लेखेका छन् ।

Comments: