२०७६ मंसिर ४ गते

शिक्षकको हाजिरी मेयरले हेर्ने

लमजुङ  । बेंसीसहर नगरपालिकाभित्रका विद्यालयमा कार्यरत शिक्षकले हाजिर गरे/नगरेको अब नगरपालिका प्रमुख (मेयर) ले हेर्ने भएका छन् । यसका लागि शिक्षकको हाजिरी हेर्न मिल्नेगरी १४ माध्यमिक र २ आधारभूत विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ ।

नयाँ शैक्षिक सत्रको सुरुवातसँगै जडान गरिएका मेसिनमा दर्ता भएका शिक्षकका हाजिरी रेकर्ड हरेक महिना नगरप्रमुखले हेर्ने भएका हुन् । नगरप्रमुख गुमानसिंह अर्यालले हाजिरी मेसिनमा दर्ता भएको शिक्षकको हाजिरीलाई हरेक स्कुलले पेनड्राइभमा ल्याएर नगरप्रमुखलाई बुझाउनुपर्नेछ । ‘स्कुलमा राखिएका डिजिटल हाजिरी मेसिनमा रेकर्ड भएका शिक्षकका हाजिरी अब म आफैं हेर्छु । यसका लागि पेनड्राइभ दिन्छु,’ उनले भने, ‘अब कुन शिक्षकलाई तल–माथि गर्ने, तल–माथि हुने, हाजिर गरेर अन्तै जाने, भोलि हाजिर गर्न आउने छुट छैन ।’ हाजिरी मेसिनमा हाजिर नदेखिएको र बिदा पनि नबसेको अवस्थामा ती शिक्षकलाई स्पष्टीकरण सोधिने र दोषी देखिए कारबाहीका लागि सम्बन्धित निकायलाई जानकारी गराइने उनले बताए ।

नयाँ शैक्षिक सत्रसँगै शिक्षकले विद्युतीय हाजिरी गर्न थालेका छन् । एक महिनासम्म ‘ट्रायल’ का लागि डिजिटल मेसिन र कागजी हाजिरी दुवै सञ्चालन गरिने भएको छ । ‘शैक्षिक गुणस्तर सुधार्न शिक्षक लाग्नैपर्छ । किनकि यसैका लागि शिक्षकलाई सरकारले खटाएको छ,’ उनले भने, ‘जुन कामका लागि जिम्मा लिएर काममा खटिएका हौं, त्यही काम कुनै पनि हालतमा गर्नुपर्छ ।’ उनले स्कुलमा छडके अनुगमनसमेत गर्दै आएको बताए । ‘स्कुलमा जाँदा विद्यार्थी बाटोमा खेल्ने, शिक्षक कक्षाकोठामा नबस्ने, बिना स्वीकृति बिदा बसिदिने भेटेका छौं । यस्तै अवस्था दोहोरिरहे कारबाही हुन्छ,’ उनले भने, ‘यस्तो अवस्था आउन नदिन विद्युतीय मेसिन जडान गरेका छौं ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले शिक्षकलाई अनुशासन, गतिशील तथा जिम्मेवार बनाउन डिजिटल हाजिरीको आवश्यकता रहेको बताए । ‘विगतको तुलानामा शैक्षिक गुणस्तर खस्कँदै गएको छ ।

विद्यार्थीले सामुदायिक विद्यालय छाड्ने क्रम रोकिएको छैन । शिक्षक जिम्मेवार भए, राम्रोसँग पढाइदिएको भए स्कुल कुनै पनि विद्यार्थीले छाडदैनन्,’ उनले भने । उनले डिजिटल प्रविधि अहिलेको समयमा निकै आवश्यक भएको र सबण्ैलाई जिम्मेवारी बोध गराउन नगरपालिकामा पनि डिजिटल हाजिरी मेसिन जडान गरिसकेको बताए । आफ्नो कामप्रति कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन नगरपालिकाले विद्युतीय हाजिरी मेसिन जडान गरेको बताएको छ । ‘हामी नगरपालिकालाई प्रविधिमैत्री बनाउने अभियानमा लागेका छौं,’ नगरपालिकाकाकी उपप्रमुख लक्ष्मीदेवी अधिकारीले भनिन्, ‘हरेक कार्यालयलाई प्रविधि र सूचनामैत्री बनाउँदै लाने तयारीमा छौं । नगरपालिकाको ८० र स्कुलको २० प्रतिशत लगानीमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाईंले बताए ।


बेंसीसहर नगरपालिका २ भकुण्डेस्थित बालकल्याण माविका प्रधानाध्यापक तीर्थराज नेउपानेले वर्तमान डिजिटल प्रविधिसँगै चल्न सकेमा यसले सबै कामलाई छिटोछरितो बनाउने बताए । ‘डिजिटल प्रविधिले सबैलाई जिम्मेवार बनाउनेछ,’ उनले भने । विद्यालयमा जडान गरिएको डिजिटल हाजिरी मेसिन मंगलबारबाट सञ्चालनमा आएको छ । डिजिटल हाजिरी मेसिन उपलब्ध गराउनुका साथै प्राविधिक सहयोग गरेको केडी इन्टरप्राइजेजका प्रबन्ध निर्देशक कृष्ण लामिछानेले स्कुल, सरकारी कार्यालय तथा संस्थानमा डिजिटल हाजिरी मेसिनको माग बढेको बताए ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: