२०७६ कार्त्तिक २७ गते

गाउँभरका विद्यालय अंग्रेजी माध्यममा

मोरङ  । कटहरी गाउँपालिकास्थित सामुदायिक विद्यालय यस शैक्षिक सत्रबाट अंग्रेजी माध्यममा सञ्चालन हुन थालेका छन् । गाउँपालिका अध्यक्ष रामुकामर कामतले जनता माध्यमिक विद्यालय थलहामा ‘हामी सबैको इच्छा, अनिवार्य नि:शुल्क आधारभूत शिक्षा’ नारासाथ विद्यार्थी भर्ना अभियान सुरु गर्दै गाउँका सबै विद्यालय अंग्रेजी माध्यममा सञ्चालन हुने बताए ।

अध्यक्ष कामतले गाउँपालिकास्थित १६ आधारभूत र ३ वटा माध्यमिक विद्यालयमा यस शैक्षिक सत्रबाट बाल कक्षा र १ कक्षा अंग्रेजी माध्यममा सञ्चालन गर्ने बताए । ‘अभिभावकमा बढदै गएको अंग्रेजीप्रतिको मोहको फाइदा उठाउँदै शिक्षा क्षेत्रमा देखिएको अपराध नियन्त्रणका लागि अंग्रेजी माध्यममा सामुदायिक विद्यालय सञ्चालन थालेका हौं,’ उनले भने, ‘अंग्रेजी माध्यममा कक्षा सञ्चालनका लागि गाउँसभाले ५० लाख बजेट विनियोजन गरेको र उक्त बजेटमध्ये २० लाख रकम १९ वटै विद्यालयको बैंक खातामा पठाइसकिएको छ ।’

अंग्रेजी माध्यममा अध्ययनका लागि बाल कक्षा र १ कक्षामा भर्ना हुने विद्यार्थीलाई विद्यालय पोसाक, टाई, बेल्ट, जुत्ता, मोजा, ब्याग, अंग्रेजी माध्यमका पाठ्यपुस्तक, कापी, पेन्सिल प्रदान गर्ने गाउँपालिकाले व्यवस्था गरेको छ । विद्यालयलाई खेलकुद सामग्री, बालमैत्री कक्षा व्यवस्थापन सामग्रीका लागि बजेट उपलब्ध गराएको छ । कामतले पहिलो चरणमा गाउँपालिकाभरिका ९ सय विद्यार्थीलाई अंग्रेजी माध्यममा विद्यालय भर्ना गराउने लक्ष्य भएको बताए ।

विद्यालय भर्ना भएका विद्यार्थीहरूको पोसाकका लागि १६ लाख, पाठ्यपुस्तकका लागि २ लाख र अभिभावक भेलाका लागि १ लाख ९० हजार बजेट बाँडफाँट गरी १९ वटै विद्यालयको बैंक खातामा पठाइसकिएको बताए । गाउँपालिकाका शिक्षा समन्वय अधिकृत टंक न्यौपानेले अंग्रेजी माध्यममा कक्षा सञ्चालनका लागि १९ वटै विद्यालयका २/२ जना शिक्षकका लागि तालिम सञ्चालन गरिने बताए । ‘अभिभावक, शिक्षक, प्रधानाध्यापकहरूसँग व्यापक छलफल गरेर सम्पूर्ण तयारीका साथ गाउँपालिकाले अंग्रेजी माध्यममा कक्षा सञ्चालन सुरु गरेको हो,’ उनले भने, ‘गाउँपालिकाले प्रत्येक विद्यालयमा नियमित अनुगमनको व्यवस्था गरेको र १९ वटै विद्यालयबीचमा गुणस्तरीय शिक्षा प्रदान गर्नेमा प्रतिस्पर्धा गराएर उच्च गुणस्तरको शैक्षिक उत्पादनको लक्ष्य लिएको छ ।’

उनले विद्यालयहरूमा भौतिक संरचना, बालमैत्री शैक्षिक वातावरण निर्माण, फर्निचर, जनशक्ति गाउँपालिका व्यवस्थापन गर्न तयार रहेको सुनाए । विद्यालयहरूमा शिक्षक दरबन्दी अभाव रहेकाले प्रदेश र केन्द्रबाट शिक्षक दरबन्दी माग गर्ने र तत्कालको आवश्यकता पूर्तिका लागि करारमा शिक्षक भर्ना गरेर अंग्रेजी माध्यमको शिक्षालाई प्रभावकारी बनाउने योजना बनाएको उनको भनाइ छ । गाउँपालिकाले जनता माध्यमिक विद्यालय थलहा, कटहरी ७ मा बुधबार ३० जना विद्यार्थीलाई विद्यालय भर्ना गराएको छ । विद्यालय भर्ना अभियानको सामाजिक मामिलामन्त्री जीवन घिमिरेले दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर उद्घाटन गरे । मन्त्री घिमिरेले गाउँपालिकाको शिक्षा नीतिको प्रशंसा गर्दै यसलाई प्रदेशभरि विस्तार गर्न ऐन, कानुनको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । ‘विद्यालय भर्ना अभियानलाई प्रभावकारी बनाउँदै २ वर्षभित्र यस प्रदेशलाई साक्षर प्रदेश बनाउँछौं ।’ उनले भने, ‘प्रदेशलाई साक्षर बनाउने अभियानमा प्रदेशवासी सबैको सहयोग आवश्यक छ ।’

अध्यक्ष कामतले स्थानीय जेनिसा माझी र शुभम भगतलाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरे ।

उक्त विद्यालयले यस वर्ष ८० जना विद्यार्थी भर्ना लिने लक्ष्य लिएको प्रधानाध्यापक रामनारायण विश्वासले बताए । ‘विद्यालयमा हाल ९ सय ४१ विद्यार्थी अध्ययनरत छन्,’ उनले भने, ‘विद्यार्थी अनुपातमा शिक्षक अभाव, विद्यालयको पर्खाल, विज्ञान प्रयोगशाला नभएकाले गाउँपालिकाले व्यवस्थापनको आश्वासन दिएको छ ।’

गाउँमै अंग्रेजी माध्यममा कक्षा सञ्चालन हुने भएपछि अभिभावकले निजी विद्यालयबाट आआफ्ना विद्यार्थी ल्याएर उक्त विद्यालयमा भर्ना गराउन थालेका छन् । भर्ना अभियानका क्रममा स्थानीय अनिलकुमार सरदारले आफ्ना छोरा अनिस र रूपनारायणलाई नयाँबजारस्थित नमुना इङलिस बोर्डिङ स्कुलबाट निकालेर उक्त विद्यालयमा भर्ना गराएको बताए । उनले अनिसलाई बालकक्षामा र रूपनारायणलाई १ कक्षामा भर्ना गराएको सुनाए । निजीमा दुवै छोराको पढाइमा वार्षिक ४० हजार खर्च भइरहेको उनले सुनाए ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: