२०७६ कार्त्तिक २९ गते

सामुदायिक विद्यालयको ध्यान प्राविधिक विषयतिर

सुनसरी । विभिन्न सामुदयिक विद्यालय र बोर्डिङ स्कुलबाट कक्षा आठ पास गरेर आएका मध्ये धरानका प्रसिद्धिका अधिकारी, रितेस बन्जारा, निश्चल काफ्लेलगायत २५ जनाको इन्जिनियर बन्ने बाटो खुलेको छ ।

धरानको सामुदयिक विद्यालय शिक्षा निकेतन उमाविले संचालन गरेको सिभिल इन्जिनियरिङ प्राविधिक शिक्षाको कक्षा नौ मा भर्ना हुनका लािग बुधबार दिएको प्रवेशिका परीक्षा उत्तिर्ण भएपछि उनीहरूको इन्जिनियर बन्ने बाटो खुलेको हो । कम खर्चमा कक्षा नौ देखि अंग्रेजी माध्यमबाट प्राविधिक शिक्षा कक्षा १० (एसइइ) पास गरेमा सव ओभरसियर र कक्षा १२ सम्ममा सिभिल इन्जिनियरिङ विषयमा पास भएपछि सव इन्जिनियर हुनेछन् । सोही कारण विद्यार्थीहरू यतातिर आकर्षित भएका हुन् ।

पछिल्लो समय साधारण विषय पढेर भन्दा बेलैमा प्राविधिक विषय पढेर प्राप्त ज्ञान र दक्षताको आधारमा स्वरोजगार बन्ने र आर्थिक उपार्जन गर्न सकिने भएकाले यस्ता विषय राखिएको शिक्षा निकेतनका प्रधानध्यापक उमेश गुरागाईले बताए ।

उनले भने, ‘सामान्यतया एसइइ पास गरेर इन्जिनियरिङ अध्ययन गर्नकालागि त्रिविविको आंगिक कलेजमा कम्तिमा पाच सात लाख खर्च हुन्छ । निजि कलेजमामा यसको तेव्वर खर्च हुन्छ । तर कक्षा नौ देखि कक्षा १२ सम्ममा प्राविधिक विषय अन्तर्गत सिभिल इन्जिनियरिङ अध्ययन गरेर सव इन्जिनियर हुनकालागि खासै खर्च हुदैन ।’

उनका अनुसार निकेतन स्कुलबाट पहिलो व्याच सव इन्जिनियर भएर २५ जना निस्केका छन् । उनीहरू मध्ये अधिकांस कतै त कतै आर्थिक उपार्जनको काममा व्यस्त भएका छन् । कतिपयले वि इ (इन्जिनियरिङमा स्नातक) अध्ययनको तयारीमा जुटेका छन् ।

 

इन्जिनियरिङको प्राक्टिकल अध्ययन गर्दै शिक्षा निकेतनका विद्यार्थीहरू ।तस्बिर : प्रदीप

सरकारले ०७० सालदेखि सामुदायिक विद्यालयलाई लक्षित गरेर जीवनोपयोगी व्याबहारिक प्राविधिक शिक्षा लागु गरेपछि किशोर किशोरी उमेरका विद्यार्थीहरू प्राविधिक शिक्षा तर्फ आकर्षित हुन थालेका हुन् । सिभिल इन्जिनियर विषय कक्षा नौमा अध्ययन गर्नकालागि प्रवेशिका परीक्षा दिन ५४ जना विद्यार्थीहरू अभिभावकसहित आएका थिए । झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम लगायतबाट आएका उनीहरू मध्ये ४८ जनाको कोटामा २५ जनामात्र प्रवेशिका परीक्षामा उत्तिर्ण भएका थिए ।

शिक्षा मन्त्रालयले कक्षा नौ देखि प्लस टु सम्मको चार बर्षे कोर्षमा प्राविधिक तर्फ पाच विषय समावेश गरेको छ । ती मध्ये बाली विज्ञान, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रिक्स इन्जिनियरिङ रहेका छन् । कतिपय अभिभावकले आफ्ना नानीहरूलाई कक्षा आठसम्म बोर्डिङमा पढाएर प्राविधिक शिक्षाकालागि सामुदायिक विद्यालयमा भर्ना गरिदिने गरेका छन् ।

मुलुकका विभिन्न जिल्लामा हालसम्म २ सय ८३ विद्यालयमा प्राविधिक शिक्षा पठन पाठन हुदै आएको छ । ती विद्यालयलाई सरकारले सीमित रुपमा प्राविधि विषको शिक्षक पठाउने गरेको छ । विद्यलायका प्राविधिक विषयका इन्चार्ज बासु ढकालले भने, ‘पछिल्लो समयमा विद्यार्थीमा प्राविधिक विषय प्रति आकर्षण बढो छ । तर विद्यालयलाई समस्या र चुनौती पनि उतिकै छ । सरकारले पठाएका प्राविधिक शिक्षक एक बर्षे करारमा आउछन् । स्थायी दरबन्दी हुदैन । अर्को राम्रो तलव आउने कुनै कम्पनी भेटेमा ‘जम्प’ गरेर जान्छन् । यता विद्यालयलाई समस्या थपिन्छ ।’

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष रमेश राईले शिक्षा निकेतनलाई प्रदेश १ कै नमूना प्राविधिक विद्यालयको रुपमा स्थापित गने योजना बनाएको बताए । उनले भने, ‘प्राविधिक शिक्षामा विद्यार्थीको भविष्य उज्वल बनाउनकालागि अनुदानमा आउने शिक्षकलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले स्थायी दरबन्दीमा रुपान्तरित गर्नु जरुरी छ ।’ उनले ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्राक्टिकल अध्ययन अध्यापन हुने र फिल्ड अध्ययन बढी हुने भएकाले सरकारले दिएको श्रोत साधन र अनुदान अपर्याप्त भएको बताए । सरकारले सामुदायिक विद्यालयमा कुनै शुल्क लिन नपाउने निति बनाएको अवस्थामा प्राविधिक शिक्षामा हुने विद्यालयको लगानीले नपुगेको पनि बताए ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: