२०७६ भदौ २ गते

स्कुल, जो एक्लो शिक्षकको भरमा चल्छन्

अन्तैबाट

सिन्धुली । जिल्लाका दुर्गम क्षेत्रका दुईवटा विद्यालय वर्षौंदेखि एक्लो शिक्षकको भरमा सञ्चालन हुँदै आएका छन्। विद्यार्थी संख्या थोरै भएका सुगमका विद्यालयमा शिक्षक सरुवा गरेर ल्याउने गरेपनि विद्यार्थी धेरै भएका दुर्गमका विद्यालयमा भने सरकारले शिक्षक पठाउन सकेको छैन।

जिल्लाको हरिहरपुरगढी गाउँपालिका १ जितपुरडाँडाको जीवनज्योति प्रावि र गोलनजोर गाउँपालिका ४ को प्रावि वितिजोर कुपिण्डे वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन हुँदै आएको पाइएको हो।

जीवनज्योति प्राविमा ९० बढी विद्यार्थी अध्ययनरत छन्। तर, विद्यालयमा शिक्षकको व्यवस्थापन गर्ने निकायले चासो नदिँदा वषौंदेखि एक्लैले पाँचवटा कक्षामा पढाउँदै आएको उक्त विद्यालयका एकमात्र शिक्षक तथा प्रधानअध्यापक गोपालसिंह थिङले जानकारी दिए।

विद्यालयमा अरु शिक्षक नहुँदा एक्लैले पाँच कक्षासम्म पढाउने गरेको उनले जनाए। ‘पाँचवटा कक्षामा एक्लैले पढाउनुपर्दा दिनमा एक घण्टीभन्दा बढी कुनै कक्षामा पढाउन भ्याइँदैन। तत्कालीन जिल्ला शिक्षा कार्यालय र अहिलेको गाउँ शिक्षा समितिले पनि शिक्षक दरबन्दी मिलान गरेर पठाउन नसक्दा यस्तो अवस्था आएको हो,’ उनले भने।

राजनीतिक पहुँचका आधारमा शिक्षक सदरमुकाम केन्द्रित हुँदा कुनै विद्यालयमा विद्यार्थी संख्याभन्दा बढी शिक्षक छन्। तर, जीवनज्योति प्राविमा भने ९० जना विद्यार्थीलाई एक्लो शिक्षकले पढाउनु पर्ने बाध्यता छ।

‘बाल विकास कक्षामा मात्र ९ जना विद्यार्थी छन्। त्यसबाहेक कक्षा १ देखि ५ सम्म ८१ जना विद्यार्थी छन्। ती सबैलाई सबै विषय पढाउन भ्याइँदैन', थिङ भन्छन्, 'किताब पल्टाएर बढ्दै गरमात्र भन्नु परेको छ। एक्लोले कसरी भ्याउनु ?’

विद्यालयमा शिक्षक अभावका बारेमा शिक्षा ईकाईले पटक पटक जानकारी गराउँदा गाउँपालिकालाई भन्न भन्छन्। गाउँपालिकालाई भन्यो भने छिट्टै शिक्षक पठाउँछौं भन्ने जानकारी मात्र पाइन्छ,’ उनले थपे।

हरिहरपुरगढीको जीवनज्योति प्राविमा जस्तै जिल्लाको गोलनजोर गाउँपालिका ४ स्थित प्रावि बितिजोर कुपिण्डेपनि वर्षौंदेखि एक जना राहत शिक्षकको भरमा सञ्चालन भइरहेको छ। उक्त विद्यालय पनि राहत शिक्षक जुनु श्रेष्ठको भरमा मात्र कक्षा पाँचसम्म सञ्चालन हुँदै आएको छ।

उक्त विद्यालयमा बाल विकास सहयोगी कार्यकर्ता तृष्णा कुवँर भए पनि उनले बाल विकास कक्षा बाहेक अन्य कक्षामा पढाउन भ्याउँदिनन्। कुँवर विद्यालयमा दिउँसो १ बजेसम्म मात्र पढाउँछिन्।

अन्य शिक्षक नहुँदा यहाँ पनि तीनवटा सम्मका कक्षा विद्यार्थीलाई एकै कक्षामा राखेर पढाउने गरेको शिक्षिका श्रेष्ठ बताउँछिन्।

‘कक्षा १, २ र ३ का विद्यार्थीलाई एउटा र कक्षा ३ र ५ का विद्यार्थीलाई अर्को कक्षमा राखेर पढाउने गरेका छौं। अन्य शिक्षकहरू छैनन्। शिक्षक नहुँदा गुणस्तरीय शिक्षाको त कुरै छाडौं शैक्षिक शत्रभित्र पाठ्यक्रम सक्न पनि मुस्किल हुने गरेको छ,’ उनले भनिन्।

यी विद्यालयमा शिक्षक बिमारी भए वा कुनै तालिम गोष्ठि परे एक हप्तासम्म विद्यालय बन्द नै हुने गरेका छन्। ‘विद्यालयका प्रअ र शिक्षक एकमात्र हुँदा समस्या भएमा विद्यालय बन्द गर्नुको विकल्प छैन्,’ उनले भनिन्।

आर्थिक रुपमा विपन्न दलित तथा जनजाति समुदायका बालबालिका अध्ययन गर्ने यस्ता विद्यालयमा अभिभावकले आर्थिक जोहो गरेर निजी स्तरमा अन्य शिक्षक राख्न पनि सक्ने अवस्था छैनन्। अन्य विद्यालयसम्म पढ्न जान पनि घण्टौं लाग्छ। बालबालिका अन्य विद्यालयमा हिँडेर पुग्नै सक्दैनन्।

उता हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले भने जीवनज्योति प्राविमा शिक्षक अभाव भएको स्विकार्दै छिट्टै नयाँ विज्ञापन गरेर विद्यालयमा शिक्षक नियुक्त गर्ने बताए।

‘शिक्षकहरूको दरबन्दी मिलान गर्न ढिलाई हुँदा यस्तो समस्या आएको हो। हामी छिट्टै दरबन्दी मिलान र नपुग शिक्षकलाई नयाँ भर्ना गरेर काममा खटाउछौँ,’ उनले भने।

राजन गाउँलेले अन्नपूर्णपोष्टमा खबर लेखेका छन् ।

Comments: