२०७६ माघ १५ गते

शिक्षकको नियुक्ति पत्र छ, विद्यालय छैन

काठमाडौं । धादिङकी सुनीता अधिकारी शिक्षा कार्यालय मोरङ धाएको तीन महिना भयो । सुरुमा उनी दुई साता विराटनगरै बसिन् । त्यसपछि घरबाट आउने–जाने गरिरहिन् । अहिले बिरामी भएर राजधानीमा उपचार गराइरहेकी छन् ।

चितवनका रामचन्द्र पोखरेल पनि विराटनगर धाएको धायै छन् । उनीहरुजस्ता शिक्षा आयोगबाट माध्यमिक विद्यालय स्तरको शिक्षक परीक्षा उत्तीर्ण गरेका अरु १४ जना यसैगरी धाइरहेका छन् । तर शिक्षा कार्यालयले ‘पोस्टिङ’ नगरिदिएकाले उनीहरुको बिचल्ली भएको हो । तीन महिनादेखि शिक्षाका अधिकारीले ‘अब एक दुई दिनमै विद्यालय पठाइदिने’ भन्दै कार्यालयमै हाजिर गराइरहेको छ ।

सुनीता र पोखरेलले विज्ञान विषयमा माध्यमिक तह शिक्षकको परीक्षा पास गरेका हुन् । गणित विषयमा आयोगबाट परीक्षा उतीर्ण गरेका सिरहाका सुनीलकुमार पासवान पनि धाउँदा धाउँदा दिक्क भएर अचेल घरैमा बसिरहेको बताउँछन् । ‘आउँदा जाँदा खर्चै मात्र भयो,’ उनले भने, ‘परीक्षा पास गरेर नियुक्तिको चिठी पाइसकेपछि पनि काममा नलगाएर के गर्न खोजिएको हो बुझ्न सकिएन ।’

यो समस्या मोरङका लागि तोकिएका शिक्षकको मात्र हो । गत वर्षको असारमा शिक्षा आयोगबाट पूर्वाञ्चलका लागि ८० जनाभन्दा बढीले परीक्षा पास गरेका थिए । गणित, नेपाली, विज्ञान, सामाजिकलगायत विषयमा शिक्षक परीक्षा उत्तीर्ण गरेका ६७ जनाभन्दा बढीले झापा, धनकुटा, सुनसरीलगायत पूर्वका अरु जिल्लामा रहेका विद्यालयमा काम गरिरहेका छन् ।


उनीहरुसँगै फागुन १८ गते पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयबाट नियुक्ति पत्र पाएका १६ जनाले भने अझै शिक्षा कार्यालयमा हाजिर गरेर दिन बिताउनुपरेको छ । पढाउन नपाएकाले आफूहरुले तलब पाउने कि नपाउने भन्नेसमेत अन्योल भएको उनीहरुको भनाइ छ ।

झापाको धुलाबारीबाट दैनिकजसो धाइरहेकी अर्पणा प्रसाइँ यिनै १६ मध्येकी एक हुन् । नेपाल विषयमा शिक्षक परीक्षा पास गरेकी उनले पनि पढाउन पाएकी छैनन् । ‘शिक्षा कार्यालयमा विभिन्न विद्यालयबाट विषय शिक्षक खोज्दै प्रधानाध्यापक र व्यवस्थापन समितिका मान्छेहरु आइरहेका छन्,’ उनले भनिन्, ‘तर नियुक्तिपत्र पाइसकेका हामी कामबिहीन भएर बस्नुपरेको छ ।’

चितवनबाट धाइरहेका पोखरेल लामो दूरीबाट जाउजाउ गरिरहन समस्या भएको बताउँछन् । शिक्षा कार्यालयले विद्यालयमा पठाउने मिति पर्खेर बसेका उनी यता आउँदा होटलमा बसेर दिनहुँजसो शिक्षा कार्यालयमा हाजिर गर्थे । ‘होटलमा बसेर साध्य भएन,’ उनले भने, ‘अचेल घरैबाट कहिलेकाहिँ आउनेजाने गरिरहेको छु ।’

मोरङका लागि तोकिएका तर विद्यालय नखटाइएका शिक्षकहरु गणितका ५, विज्ञानका ५, अंग्रेजीका ३, नेपालीका दुई र सामाजिक विषयका एकजना छन् । विभिन्न विद्यालयमा यी विषयका शिक्षक अभाव भए पनि शिक्षाले पठाउन आलटाल गरेको भन्दै उनीहरु रुष्ट बनेका छन् । पटकपटक विभिन्न निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको उनीहरुको भनाइ छ ।

शिक्षा अधिकारी देवेन्द्रराज खनालले कतिपय विद्यालयमा विषयबस्तु नमिलेर समस्या भएको बताए । शिक्षा समितिको बैठकले समस्या सुल्झाएर सबै शिक्षकलाई विद्यालय पठाउने तयारी भइरहेको उनले बताए । शिक्षक अभाव भएका कतिपय विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधि विषय शिक्षक माग्दै आएको स्वीकार्दै उनले माग भएको ठाउँमा पठाइने उनले जनाए ।कान्तिपुर दैनिकमा खबर छ ।

Comments: