२०७६ असोज २ गते

शिक्षक नियुक्ति, बढुवा र पदस्थापन शिक्षा इकाइबाटै हुने

 

काठमाडौं । शिक्षक नियुक्ति, बढुवा र पदस्थापनासम्बन्धी काम शिक्षा विकास तथा समन्वय इकाइबाटै हुने भएको छ । शिक्षा मन्त्रालयले यि काम गर्ने जिम्मेवारी परिवर्तित जिल्ला शिक्षा कार्यालय अर्थात इकाइलाई दिने निर्णय गरेको हो ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही बैशाख ११ गतेको मन्त्रीस्तरीय निर्णय भन्दै बुधवार एक पत्र लेखी इकाइमा रुपान्तरण भएका पूर्व जिल्ला शिक्षा कार्यालयहरुलाई २१ वटा कामको जिम्मेवारी तोकेको हो । त्यस्तै, बैठकले १३ बुंदे नवगठित इकाइको काम, कर्तव्य र अधिकार पनि सुनिश्चित गरेको छ ।


स्थानीय सरकार सञ्चालन ऐन अनुसार २३ वटा काम स्थानीय तहमा गइसकेको अवस्थामा सो बाहेकका २१ वटा काम गर्न मन्त्रालयले इकाइहरुलाई निर्देशन दिएको हो ।


यसअघि शिक्षक नियुक्ति र बढुवाको काम कसले गर्ने अन्योल थियो । केही स्थानीय तहहरुले शिक्षक नियुक्ति र सरुवाको काम गर्न थालेको भन्दै महासंघले विरोध जनाएको थियो ।


शिक्षामन्त्रालयको पछिल्लो निर्णयबाट अब शिक्षक नियुक्ति, बढुवा र पदस्थापनको काम अब शिक्षा इकाइबाटै हुने भएको छ । मन्त्रालयले शिक्षक सेवा आयोगवाट तोकिएबमोजिमका निर्देशित वा प्रत्यायोजित कार्यहरु गर्न इकाइलाई निर्देशन दिएको हो । 

शिक्षक सरुवाको काम भने  दरबन्दी यकिन गरेपछि मात्रै गर्ने शिक्षा मन्त्रीको  निर्देशन पछि  हाललाई स्थगित नै रहेको छ । 


शिक्षा मन्त्रालयले तोकेको शिक्षा इकाइहरुको कार्यविवरण यस्तो छ


१. शिक्षासम्बन्धी संघीय कानून, नीति निर्देशन, कार्यक्रमको प्रवाहीकरण र कार्यन्वयनको अनुगमन तथा सोको प्रतिवेदन तयार गर्ने ।


२. विद्यालय क्षेत्र विकास योजनाको कार्यक्रमको जिल्लास्तरमा कार्यन्वयन गर्ने, यसको कार्यन्वयको जिल्लास्तरीय प्रगति प्रतिवेदन तयार पार्ने र दिगो विकासका लागि शिक्षासँग सम्बन्धित विषयमा पद्धतिगत सूचक (System level Indicators) का आधारमा केन्द्रलाई प्रतिवेदन दिने ।


३. प्रचलित कानून, निर्धारित मापदण्ड, मानक, कार्य निर्दे्शिका, शिक्षामा समता सूचक (EquityIndex), योजनाका उद्देश्य एवम् सूचकका आधारमा जिल्ला भित्रका विद्यालयहरुको समग्र शैक्षिक पद्धति, भौतिक साधनको पर्याप्तता, मानवीय स्रोतको व्यवस्थापन, संस्थागत क्षमता तथाकार्यप्रगतिहरुको लेखाजोखा गरी स्थानीय तह, प्रदेश र संघलाई पृष्ठपोषण दिने ।


४. राष्ट्रिय पाठ्यक्रम प्रारुप र पाठ्यपुस्तकको प्रवोधिकरण, कार्यन्वयनको अनुगमन र रिपोर्टिङगर्ने ।


५. स्थानीय पाठ्यक्रम निर्माण, कक्षा कोठामा गरिने शिक्षकहरुको कार्यमूलक अनुसन्धान, मातृभाषामा शिक्षा, विशेष प्रकृतिका विद्यालयहरुको सञ्चालन, द्वैभाषिक शिक्षा, बहुकक्षा, बहुवर्ग शिक्षण जस्ता विषयमा प्रबोधिकरण र मागको आधारमा सहजिकरण गर्ने ।


६. कक्षा १० र १२ को परीक्षाको रजिष्ट्रेशन, परीक्षा आवेदन फारम संकलन, परीक्षा व्यवस्थापन र उत्तरपुस्तिका परिक्षण व्यवस्थापनसम्बन्धी कार्य गर्ने गराउने ।


७ विद्यालयस्तरीय शैक्षिक तथ्याङ्कको जिल्लागत संकलन विश्लेषण र रिपोर्टीङसम्बन्धी कार्य गर्ने गराउने ।


८. विगतका जिल्ला शिक्षक छनौट समितिका निर्णहरु, जिल्ला शिक्षा समितिको बैठक पुस्तिकाहरु,कक्षा ८ र कक्षा १० तथा एसएलसीका मार्क लेजर र अभिलेखहरु सुरक्षित राख्ने र प्रमाणित गरि प्रतिलिपि दिने ।


९. स्थानीय तहले गर्ने कामहरुसँग सम्वन्धित जस्तै शिक्षकको व्यक्तिगत विवरण, विद्यालय अनुमतिसम्बन्धी, विद्यालय निर्माणसम्बन्धी अभिलेखहरु सम्वन्धित स्थानीय तहलाई हस्तान्तरण गरी सो को अभिलेख राख्ने ।


१०. स्थानीय सरकारले तयार पार्ने गाँउ शिक्षा योजना र नगर शिक्षा योजनामा मागको आधारमा प्राविधिक सहजीकरण गर्ने । यस्ता योजनाहरुको नमूना छनौट गरी प्राविधिक लेखाजोखा गर्ने र सोको प्रतिवेदन प्रदेश र केन्द्रस्तरमा पठाउने ।


११. जिल्ला भित्रका समसामयिक शैक्षिक मुद्दाहरुको पहिचान गरी सोको सम्वोधन तथा शैक्षिक सुधारका लागि सम्वन्धित निकायमा प्रस्तुत गर्ने ।


१२. विद्यालयहरुको विद्यालय सुधार योजना निर्माणका लागि विद्यालयको माग र आवश्यकताका आधारमा विशेषज्ञहरुको रोष्टर तयार गरी प्राविधिक सहयोग गर्ने ।

१३. विद्यालयहरुको सामाजिक परिक्षणका लागि विद्यालयको माग र आवश्यकताका आधारमा ८ विश्लेषज्ञहरुको रोष्टर तयार गरी प्राविधिक सहयोग गर्ने ।


१४. नमूना विद्यालयहरुको विकास तथा विद्यालयमा नमूना शिक्षण गर्ने प्रयोजनका लागि र जिल्लाभरमा न तथा प्रवि वार, काठमाडौं, एकै प्रकारको न्यूनतम शैक्षिकस्तर तथा गुणस्तर कायम राख्नका लागि विभिन्न स्थानीय सरकारहरुवीच नियमित सम्पर्क, सरसल्लाह र आवश्यक समन्वय तथा अन्तरक्रिया गर्ने ।


१५. जिल्लामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने कार्य अनुसन्धान र अन्य प्रवर्द्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमका काममा समन्वय गर्ने ।


१६. जिल्ला भित्रका विद्यालय, प्राविधिक शिक्षालय र शिशुविकास केन्द्रसम्बन्धी अभिलेख तयार पारी प्रदेश र संघमा पठाउने ।


१७. शिक्षाको गुणस्तर अभिवृद्धिका लागि समय समयमा स्रोत व्यक्ति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षको बैठक तथा अन्तरक्रियात्मक गोष्ठी संचालन गर्ने ।


१८. स्थानीय सरकारवाट माग भै आएवमोजिम समय समयमा विद्यालयहरुमा भै रहेको पठन पाठनको निरीक्षण गर्ने ।


१९. शिक्षक नियुक्ति, बढुवा र पदस्थापनासम्बन्धी शिक्षक सेवा आयोगवाट तोकिएबमोजिमका निर्दे्शित वा प्रत्यायोजित कार्यहरु गर्ने ।


२०. राष्ट्रिय परीक्षा बोर्डवाट तोकिए बमोजिमका निर्देशित वा प्रत्यायोजित कार्यहरु गर्ने गराउने ।


२१. संघ र प्रदेश सरकारले तोकेका अन्य कार्यहरु गर्ने ।

नवगठित इकाइको काम, कर्तव्य र अधिकार


१. शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृत कार्यविवरण अनुसारका कामहरु सम्पादन गर्ने,


२. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ उपदफा (२) को ज बमोजिम स्थानीय तहको काम कर्तव्य र अधिकारभित्र पर्ने उल्लेखित शिक्षासम्बन्धी कामहरु बाहेकका कानून बमोजिम साविकमा जिल्ला शिक्षा कार्यालय तथा जिल्ला शिक्षा अधिकारीबाट सम्पादन हुँदै आएका कामहरु सम्पादन गर्ने ।


३. नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।२७ को निर्णयानुसार नवगठित इकाइले स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (२) (ज) मा उल्लेख भएको स्थानीय तहले गर्ने काम बाहेकका साविक जिल्ला शिक्षा कार्यालयहरुले गरि आएका र नेपाल सरकारबाट स्वीकृत ‘इकाइ’ को कार्यविवरण बमोजिमका कार्यहरु गर्नका लागि आवश्यक पर्ने चल अचल सम्पत्ति बाहेकको बाँकी सम्पत्ति स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०४ बमोजिम सम्पत्ति, दायित्व तथा बजेटको हस्तान्तरण गर्नुपर्ने विषयमा कानूनबमोजिम गठित जिल्ला समितिसँग समन्वय गरी इकाइको लागि आवश्यक चल अचल स्रोत साधनको व्यवस्था मिलाउने ।


४. आर्थिक वर्ष २०७४।०७५ को स्वीकृत कार्यक्रम र बजेट अनुसारका सम्पादन भईसकेका कार्यहरुको अभिलेख र सम्पादन हुन बाँकी रहेका बजेट तथा कार्यक्रम इकाइमा स्थानान्तरण गर्ने ।


५. रा.प.द्वितीय श्रेणीको अधिकृत इकाइ प्रमुख हुने जिल्लाका साविक जिल्ला शिक्षा कार्यालयमा कार्यरत कर्मचारीहरु अर्को व्यवस्था नभएसम्म इकाइमा नै बसी कामकाज गर्ने र तलव भत्ता सोही इकाइबाटै खर्च लेख्ने ।


६. रा. प. तृ. श्रेणीको अधिकृत इकाइ प्रमुख हुने जिल्लामा साविकदेखि कार्यरत जि.शि.अ.हरुले केन्द्रबाट तोकिएको इकाइ प्रमुखलाई विस्तृत विवरण सहितको दायित्व र अभिलेखको बरबुझारथ गरिसकेपछि मात्र जि.शि.अ. र उप जि.श.अ.हरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जानको लागि मन्त्रालयलाई जानकारी गराई रमाना लिने र अन्य बाँकी सबै कर्मचारीहरु इकाइमा नै बसी कामकाज गर्ने र तलब भत्ता सोही इकाइबाट खर्च लेख्ने ।
७. साविक जिल्ला शिक्षा कार्यालयमा पद रही हाल विभिन्न निकायमा काजमा खटिएका कर्मचारीहरुको तलब भत्ता पूर्ववत जिल्लाका नवगठित इकाइबाटै भुक्तानी गर्ने ।


८. अस्थायी दरबन्दी तथा करार सेवामा काम गरिरहेका कर्मचारीको हकमा ०७५ आषाढ मसान्तसम्मको दरवन्दी स्वीकृत भई तलबभत्ता समेत विनियोजन भईसकेको हुनाले सम्वन्धित इकाइबाट सम्पादन हुने काम र आवश्यकताको आधारमा बढीमा २०७५ साल आषाढ मसान्तसम्म कामकाजमा लगाउने र तलब भत्ता सम्वन्धित इकाईबाट भुक्तानी गर्ने ।


९. साविक जिल्ला शिक्षा कार्यालयको सम्पत्ति, दायित्व, कागजात, शिक्षक, विद्यार्थी, विद्यालयहरुसंग सम्बन्धित सम्पूर्ण विषयको विस्तृत विवरण उल्लेखित भएको एक अद्यावधिक लगत बनाई इकाइ प्रमुखले शिक्षा विभाग र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा १५ (पन्ध्र) दिनभित्र अनिवार्य रुपमा पेश गर्ने ।


१०. यस मन्त्रालयबाट सम्पादन गर्नुपर्ने जिम्मेवारीभित्र परेका शैक्षिक कार्यहरु सम्पादन गर्नका लागि साविक जिल्ला शिक्षा कार्यालयको सट्टा शिक्षा विकास तथा समन्वय इकाइ गठन भएको हो । यस इकाइका लागि स्वीकृत दरबन्दी पनि शिक्षा प्रशासन कै हुन र यिनको सेवा सञ्चालन पनि यसै मन्त्रालयबाटै हुने व्यवस्था बमोजिम शिक्षा विकास तथा समन्वय इकाइको उत्तरदायित्व यस मन्त्रालयप्रति रहिरहने छ । कार्य सम्पादनको प्रतिवेदन (Reporting) पूर्ववतः यस मन्त्रालय वा अन्तरगर्तका केन्द्रीय निकायमा गर्ने र आवश्यकता बमोजिम प्रदेशको सामाजिक विकास मन्त्रालय र प्र.जि.अ. समक्ष गर्ने ।


११. जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थापित भएको यस इकाइका इकाइ प्रमुखले स्वीकृत बजेट तथा कार्यक्रमको अधीनमा रही प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष नियन्त्रण, निर्देशन र समन्वयमा आफ्नो जिम्मेवारी सम्पादन गर्ने । इकाइ प्रमुखले जिल्ला बाहिर जाँदा प्रमुख जिल्ला अधिकारीबाट काज वा विदा स्वीकृत गराउनु पर्नेछ ।


१२. नवगठित शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको पदनाम जिल्लागत स्वीकृत संगठन संरचनामा उल्लेख भएबमोजिम ‘उप–सचिव’ र ‘शाखा–अधिकृत’ लेख्ने ।


१३. यस मन्त्रालयबाट गरिने परिपत्र, आदेश तथा सूचनाहरु दु्रत सम्प्रेषणको प्रयोजनार्थ मन्त्रालयको website र E-mail मार्फत पठाइने हुँदा नियमित रुपमा website र E-mail को चेकजाँच गरी पत्र तथा सूचना प्राप्त गरी सो बमोजिम तोकिएको समयभित्र कार्यसम्पादन गर्नु गराउनु हुनेछ ।

Comments: