२०७६ असोज ३ गते

परीक्षा बोर्डले बैठक खर्चका नाममा ४० लाख बाँड्यो


काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले गएको वर्ष बैठकको लागि बैठक खर्च भनेर मात्रै ४० लाखभन्दा बढी रकम खर्च गरेको पाइएको छ ।

आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ४५ मा अधिकार प्राप्त अधिकारीले सरकारी रकम खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई समेत ध्यान दिनुपर्ने उल्लेख भएपनि बोर्डले गएको वर्ष ४६३ बैठकका लागि बैठक भत्तावापत् ४० लाख ११ हजार खर्च गरेकोे पाइएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको पचपन्नौं वार्षिक प्रतिवेदन २०७४ ले सो कुरा औंल्याएको हो ।

एकै प्रकृतिको विषयवस्तुलाई समेत पटक–पटक बैठक राखी खर्च गरेको पाइएको हो । बोर्डले नियमित तथा आंशिक परीक्षाको उत्तरपुस्तिका परीक्षण गरेवापत् परीक्षकलाई प्रतिउत्तरपुस्तिका १०० पूर्णाङ्कसम्म ३० र ७५ भन्दा कम पूर्णाङ्कमा २२ रुपियाँ दिने गरेकोमा कक्षा ११ र १२ को मौका परीक्षाको लागि भने विधि नबनाई दोब्बर पारिश्रमिक दिँदै आएको पाइएको हो ।

गत वर्ष ९६ हजार ४९२ उत्तरपुस्तिका परीक्षण र संपरीक्षणका लागि दोब्बर पारिश्रमिकवापत् २८ लाख ५१ हजार खर्च गरेको पाइएको छ ।

Comments: