२०७६ कार्त्तिक २७ गते

त्रिविका १५ क्याम्पस सुविलाई

अन्तैबाट

काठमाडौँ  । सुदूरपश्चिम विश्वविद्यालय (सुवि) ले प्रदेश ७ का १५ क्याम्पसलाई आफ्नो आंगिक क्याम्पस घोषणा गरेको छ । घोषणासँगै विश्वविद्यालयले त्यहाँ कार्यरत शिक्षक र कर्मचारीलाई समायोजन गरेको छ । यसअघि ती क्याम्पस त्रिभुवन विश्वविद्यालयअन्तर्गत थिए ।

सुविअन्तर्गत समायोजन गरिएका क्याम्पसमा कैलालीको टीकापुर बहुमुखी क्याम्पस र दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, दार्चुला क्याम्पस, बैतडीको पाटन बहुमुखी, जगन्नाथ बहुमुखी र मेलौली बहुमुखी क्याम्पस छन् ।

त्यसैगरी डडेलधुराको त्रिवेणी बहुमुखी, डोटीको सीताराम बहुमुखी र घण्टेश्वर सेती महाकाली क्याम्पस, अछामको जनता बहुमुखी, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी, बाजुराको बडिमालिका क्याम्पस र बाजुरा बहुमुखी क्याम्पस छन् । टीकापुर बहुमुखी क्याम्पस त्रिविको सबभन्दा ठूलो आंगिक क्याम्पस थियो ।

सुविले ती क्याम्पसको सम्पूर्ण स्वामित्व ग्रहण गर्दै सबै क्याम्पसमा प्रमुखको नियुक्तिपत्र प्रदान गरेको छ । विश्वविद्यालयले सोमबार काठमाडौंमा प्रतिनिधिलाई निमन्त्रणा गरी क्याम्पस प्रमुखको नियुक्तिपत्र प्रदान गरेको हो । त्यसका साथै ती क्याम्पसमा कार्यरत २ सय १६ शिक्षक र कर्मचारीको समायोजन भएको पत्रसमेत दिएको छ । कार्यरत जनशक्ति स्थायी, अस्थायी र करार सेवामा छन् । विश्वविद्यालयकी उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टले उक्त पत्र प्रदान गरेका हुन् ।

‘हामीले आजदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई बृहत् दोस्रो ठूला विश्वविद्यालय बनाउन सफल भएका छौं,’ उपकुलपति श्रेष्ठले भनिन्, ‘पाँच वर्षका दौरान विभिन्न कानुनी समस्या, व्यावहारिक अडचनलाई झेलेर यहाँसम्म आइपुगेका छौं । अब शैक्षिक गुणस्तर कायम गर्ने जिम्मेवारी तपाईंहरूमा आएको छ ।’ विश्वविद्यालयको मुख्य कार्यालय कञ्चनपुरको महेन्द्रनगरमा छ । तर विभिन्न पक्षले तालाबन्दी गरेका कारण त्यहाँ कार्यक्रम गरी क्याम्पस घोषणा गर्न सम्भव नभएर राजधानीमै गर्नुपरेको उनले जनाइन् ।

रजिस्ट्रार द्विजराज भट्टले सुविअन्तर्गत अहिलेसम्म ४ हजार मात्र विद्यार्थी रहेको र आंगिक क्याम्पस विस्तारसँगै १० हजार विद्यार्थी संख्या थपिएको बताए । ‘त्रिविका आंगिक क्याम्पसलाई सुविको आंगिक क्याम्पस बनाउन सक्नु हाम्रो सफलता हो,’ ७ नम्बर प्रदेशको एक मात्र विश्वविद्यालयलाई गुणस्तरीय तुल्याउने जिम्मेवारी पाएको उल्लेख गर्दै भट्टले भने, ‘अब यहाँ तत्कालै कृषि डिन कार्यालयको विस्तार हुनेछ । सबै क्याम्पसले नयाँ कार्यक्रम प्रतिपादन गरी आकर्षण दिलाउने पक्षमा सोच्नुस् । तलब, भत्ता सरकारले बेहोर्छ ।’ सुदूरपश्चिम विश्वविद्यालयमा अबदेखि वार्षिक २१ करोड रुपैयाँ कर्मचारीमा खर्च हुनेछ ।

कान्तिपुर दैनिकमा खबर छ ।

Comments: