२०७६ मंसिर ६ गते

भदौ १४ र १५ गते उपत्यकाका विद्यालय बन्द गर्न सरकारको निर्देशन

ईपाटी संवाददाता


काठमाडौं ।  अस्थायी शिक्षकहरुको विद्यालय बन्द फिर्ता लिएको भोलिपल्ट सरकार आफैले दुइदिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मंगलवार र बुधवार घोषित बन्द अस्थायी शिक्षकहरुले फिर्ता लिएका छन् । तर, सरकार आफैले आगामी  बिहीबार र शुक्रबार उपत्यकाका शिक्षण संस्था बन्द गर्ने भएको हो ।


विमस्टेकको चौथो शिखर सम्मेलन सुरक्षाको कारण देखाउँदै शिक्षा मन्त्रालयले आफैले भदौ १४ र १५ गते शिक्षण संस्था बन्द गर्न निर्देशन दिएको हो ।  


शिक्षा मन्त्रालयको निर्देशनसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका सबै स्थानीय तहलाई विद्यालय बन्द गर्न परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्र पछि गृह मन्त्रालयबाट प्राप्त पत्रका आधारमा उक्त परिपत्र गरिएको संघीय मन्त्रालयले जनाएको छ  ।


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको परिपत्रमा भनिएको छ– ’सम्मेलनमा सहभागी हुन आउने विदेशी अतिथि तथा प्रतिनिधिहरुको आवगमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्धेश्यले भदौ १४ र १५ गते २ दिन काठमाडौं उपतयकाका विद्यालयहरुलाई स्थानीय तहमार्फत बिदा गर्न  र शिक्षण संस्थाका सवारी साधन समेत नचलाउने व्यवस्था गर्न शिक्षामन्त्रालयबाट मन्त्रीस्तरीय निर्णयभइ आएकाले सो अनुसार गर्न गराउन आदेशानुसार अनुरोध छ।’


यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बखतपनि सरकारले विद्यालय बन्द गरेको थियो ।

 

Comments: