• कक्षा १२ को एसएलसी परीक्षाको तयारी पुरा, साढे तीनलाख बढी परीक्षार्थी सहभागी हुँदै
    ()

  •  

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पहिलो पटक हुनलागेको एसएलसी परीक्षाको तयारी पुरा भएको जनाएको छ । बोर्डका अनुसार, परीक्षा विहान ७ बजे देखि सञ्चालन हुने साथै, वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने  छ ।


    शिक्षा ऐनको आठौं संशोधनले विद्यालय तहको संरचना परिवर्तन पश्चात कक्षा १२ मा हुनलागेको एसएलसी परीक्षामा देशभरबाट ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ । जसमा १ लाख ७६ हजार ६ सय १२ छात्र र १ लाख ७६ हजार ४ सय छात्रा रहेका छन् ।


    परीक्षामा सामुदायिक विद्यालयबाट २ हजार ७ सय ४९, संस्थागतबाट ७ सय ४८, क्याम्पसबाट १ सय २३ र प्लस टूबाट १ सय ५५ विद्यालयका परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।


    यस अघि कक्षा १० मा हुँदै आएको माध्यामिक शिक्षाको अन्तिम परीक्षा ’एसएलसी’ ऐन संशोधन भएसँगै यो बर्ष देखि कक्षा १२ मा हुन थालेको हो ।परीक्षाका लागि ९ सय ९० परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षामा परिक्षार्थीले कूल ९८ वटा फरक–फरक विषयको परीक्षा दिने बोर्डले जनाएको छ ।


    परीक्षामा ९ सय ९० केन्द्राध्यक्ष, १ हजार ६ सय ३९ सहायक केन्द्राध्यक्ष, १७ हजार ६ सय ५० निरीक्षक, १ हजार ५ सय ७१ परीक्षा केन्द्रमा खटिने कर्मचारी, २ हजार १ सय ७० कार्यालय सहयोगी, ११ हजार ८ सय ८० सुरक्षाकर्मी सहित ३५ हजार ७ सय जनशक्ति परिचालन हुने बोर्डले जनाएको छ ।


    परीक्षामा सबैभन्दा बढी विद्यार्थी काठमाडौ र सबैभन्दा कम मनाङ जिल्लाबाट सहभागी हुनेछन् । बोर्डका अनुसार काठमाडौबाट ५६ हजार ५ सय ७४ र मनाङबाट १ सय ३ जनाले परीक्षामा सहभागीता जनाउनेछन् ।


    शिक्षा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परीक्षाको सबै तयारी पुरा भएको बोर्डका अध्यक्ष समेत रहेका शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले बताए ।


    श्रेष्ठले परीक्षाको अवधिभर कुनै पनि किसिमका बन्द हड्ताल, नगरी भयरहित वातावरणमा परीक्षा सञ्चालन गर्न दिन सबै राजनीतिक दल तथा तीनका भात्रृ संगठनलाई आग्रह समेत गरे । 

    बोर्डका सदस्य सचिव डा. डिल्ली रिमालले देशभरी परीक्षणको ब्यवस्था गर्ने भएकोले परीक्षा भएको ९० दिन भित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए । परीक्षामा मोवाईल फोन निषेध गरिएको छ । सूचना आदान प्रदान गर्न परीक्षा कन्ट्रोल रुमको ब्यवस्था गरिएको, कम श्रवणशक्ति भएका, दृष्टिविहिन वा सुस्त मनस्थिती वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीहरुका लागि परीक्षाको विशेष ब्यवस्था गरिएको रिमालले बताए ।


    परीक्षामा अमर्यादित काम गरेको पाईएका ६ महिना कैद र एक लाख सम्म जरीवाना गरिने बोर्डले जनाएको छ ।